Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

किन हुँदैछ अक्सिजन अभाव,कहाँ कहाँ भेटिए लुकाएका सिलिण्डर


काठमाडौं । नेपालको पछिल्लो एक महिनाको कोरोना संक्रमणको अवस्थालाई विश्लेषण गरेर विश्व रेडक्रस लगायतका विभिन्न स्वास्थ्य क्षेत्रमा काम गर्ने संघ संस्था र स्वास्थ्य विज्ञहरुले थप भयाबह अवस्थाको चेतावनी दिइरहेका छन् । अर्कोतर्फ सक्रमित भएकाहरुमध्ये अधिकांश होम आइसोलेसनमा छन । ४, ५ हजार संक्रमित अस्पताल भर्ना हुँदा नै देशभरका अधिकांश कोभिड अस्पतालको उपचार सेवा प्रभावित भएको छ अर्थात, थपिएका संक्रमित वा अक्सिजनको कमी देखिएर अस्पताल जानुपर्ने संक्रमितहरुले बेडा नपाउने अवस्था देशभर बढ्न थालेको छ ।

कतिपय अस्पतालमा त प्यासेज र परिसरमै अक्सिजन सिलिण्डरको सपोर्टमा अक्सिजन दिएर राखिएका बिरामीहरुका कारुणिक दृश्यहरु सार्वजनिक भैरहेका छन् । प्रभावित हुँदै गरेको उपचार सेवा र कोभिड अस्पतालमा देखिने बिरामीको चाप बढ्दो छ । कोरोनाको दोस्रो लहर तीव्र बनेसँगै अक्सिजन सपोर्ट चाहिने बिरामीहरुको संख्या दिनहुँ बढीरहेको छ । कतिपय अस्पतालका चिकित्सक तथा व्यवस्थापकहरु नै बिरामीका लागि अक्सिजनको जोहो गर्न भौतारिदैछन भने कतिपय अस्पतालले अक्सिजन अभाव भएको भन्दै सिलिण्डर उपलब्ध गराइदिन सरकारसँग हारगुहार गरिरहेका छन् । माग बढेसँगै अहिले अक्सिजन उद्योग चौबीसै घण्टा चल्न थालेका छन् ।

सातायता अक्सिजनको माग थोग्नै नसक्ने गरी बढेकाले सबैजसो प्लान्ट चौबीसै घण्टा चलाउनुपरेको नेपाल अक्सिजन ग्यास उत्पादक संघले जानकारी दिएको छ । संक्रमण दर बढिरहँदा सरकारले तत्काल १०/२० हजार सिलिन्डर मौज्दात गर्नुपर्नेमा महामारीलाई हल्का रूपमा लिँदा उद्योगहरूलाई सिमित सिलिण्डर भरेर माग धान्न भ्याइनभ्याइ भएको छ । कतिपय होम आइसोलेसनमा बसेका संक्रमितका आफन्तहरु नै अक्सिजनको जोहो गर्न उद्योगसम्मै धाइरहेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार प्लान्टका ८० प्रतिशतसम्म सिलिन्डर अस्पतालमै रहने भएकाले खाली सिलिन्डर पुनः भरेर पठाउन चुनौती देखिएको छ ।

अक्सिजन प्लान्टहरूसँग करिब ६० हजार सिलिन्डर रहेको तथ्यांक छ । हुनत, उत्पादकहरूले कोरोना संक्रमण बढिरहेकाले अक्सिजन अभाव हुन सक्ने आकलन गरेर तीन साताअघि नै भारतबाहेकका मुलुकबाट एयर लिफ्ट गरेर तुरुन्त २० हजार अक्सिजन सिलिन्डर ल्याउन सरकारलाई सुझाब दिएका थिए । तर त्यो सुझाबलाई सरकारले अत्यावश्यक आवश्यकताका रुपमा ग्रहण गर्न सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आत्तिहाल्नुपर्ने अवस्था नरहेको दाबी गर्दै अक्सिजन सहज उपलब्ध हुने व्यवस्था गर्न ‘युद्धस्तरमा’ काम भइरहेको जानकारी दिएपनि देशभरका विभिन्न कोभिड अस्पतालमा देखिएको अभावले हरेक नागरिकलाई त्रसिद बनाएको छ । अक्सिजनको माग बढेपछि चीन सरकारले २० हजार थान अक्सिजन सिलिन्डर सहयोग स्वरुप दिने घोषणा गरेपनि कहिले नेपाल आइपुग्ने अनिश्चित छ ।

चीनबाट ३ हजार ५ सय सिलिन्डर सात दिनभित्र आउने दाबी भने सरकारी अधिकारिहरुले गरिरहेका छन् । अर्कोतर्फ सरकारले अक्सिजनजन्य सामग्रीको आयातमा पूर्णरूपमा कर छुट नहो भने निजी क्षेत्रले आयात गर्न नसक्ने अवस्था देखिदैछ । चीनमा एउटै सिलिन्डरको लागत २०÷२५ प्रतिशत बढ्दा २० हजारदेखि २२ हजार रुपैयाँसम्ममा आउँने अक्सिजनको ठूलो सिलिन्डर नै ४० हजारसम्म पर्न थालेको छ । देशका कोभिड अस्पतालमा बढ्दै गरेको अक्सिजनको माग त उच्च छदैछ, कोरोना संक्रमित यही दरमा बढेमा काठमाडौं उपत्यकामै केही दिनभित्रै १२ हजारदेखि १५ हजार सिलिन्डर अक्सिजन चाहिन सक्ने आँकलन चिकित्सकहरुले गर्न थालेका छन् ।

काठमाडौंका सबै ८ वटा अक्सिजन प्लान्ट बुधबारदेखि शतप्रतिशत क्षमतामा चलाइरहेको छ । उपत्यकामा दिनमा ४७ लिटर क्षमताका ठूला आठ हजार सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिन्छ । उपत्यकाबाहिर रहेका १६ वटा अक्सिजन प्लान्टले दिनमा ९ हजार सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने अवस्था छ । मुलुकका सबै प्लान्टलाई अधिकतम क्षमतामा चलाउँदा दिनमा १७ हजार ठूला सिलिन्डर अक्सिजन उत्पादन हुने देखिन्छ । ४७ लिटर सिलिन्डरको अक्सिजनको मूल्य करिब ४ सय रुपैयाँ पर्छ ।मुलुकमा तरल अक्सिजन उत्पादन नहुने भएकाले पनि सिलिन्डरको अभाव देखिएको हो । मुलुकमै तरल अक्सिजन उत्पादन हुने हो भने ठूलो ट्यांकरमा स्टोर गर्न सकिनेछ ।

भारतको भर पर्नुपर्ने अवस्थाको अन्त्य तथा अभाव टार्न तरल अक्सिजन उत्पादनमा समेत राज्यले अक्सिजन उत्पादकलाई प्ररित गर्नुपर्ने पाठ अहिलेको महामारिले सिकाएको छ । हुन त, अहिले पनि सरकारले औद्योगिक क्षेत्र तथा अन्य स्थानमा भण्डारण गरिएका अक्सिजन सिलिण्डर अस्पताल वा उद्योगमा उपलब्ध गराउन आह्वान गर्दै आएको छ । ६७८४ थान सिलिन्डर त काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रशासन र सुरक्षा निकाय सम्मिलित टोलीले नियन्त्रणमा लिएको छ । यसरी जफत गरिएका सिलिण्डर टिचिङ अस्पताललाई ५ सय थान, नेपाल मेडिकल कलेज जोरपाटीलाई १ सय ५०, वीर अस्पताललाई १ सय, महेन्द्रनारायण निधि अस्पताललाई ६० र शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र टेकुलाई १ सय ३० थान सिलिन्डर हस्तान्तरण गरिएको छ ।

यस्तै, भक्तपुर अस्पताललाई १००, सिभिल अस्पताललाई २ सय ५०, ललितपुरस्थित समित अस्पताललाई ४८, काठमाडौं मेडिकल कलेजलाई ४ सय, पाटन अस्पताललाई २ सय, सशस्त्र प्रहरी अस्पताललाई ३ सय, प्रहरी अस्पताललाई २ सय र पिपुल्स डेन्टल कलेजलाई १ सय थान, लुम्बिनी प्रदेशअन्तर्गतका अस्पताललाई दिने गरी लुम्बिनी सरकारलाई १ हजार र सुदूरपश्चिम सरकारलाई ३ सय थान सिलिन्डर उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ । ललितपुरबाट जफत गरिएका १ सय ५ थान सिलिन्डरमध्ये पाटन अस्पताल, किस्ट मेडिकल कलेज, बज्रबाराही अस्पताल र अल्का अस्पताललाई क्रमशः ५०, ३०, १० र १५ थान वितरण गरिएको जानकारी दिइएको छ । यसरी बरामद गरिएका अक्सिजन सिलिण्डर भनसुन र पँहुचका आधारमा होइन आवश्यकताका आधारणमा बितरण हुनुपर्छ ।

गत वर्ष कोरोना महामारीका बेला प्लान्टको क्षमताको २० प्रतिशत उत्पादनले अक्सिजनको माग धानेकोमा अहिले माग नै अत्यधिक हुँदा उद्योग पुर्ण रुपमा चलाउनुपर्ने अवस्था आएको छ । अक्सिजन अभावले जिवन जोगाउन सकिन संक्रमितले ज्यान गुमाउनुपर्ने अवस्था नआओस । सिलिण्डर जोहो गरेर हुन्छ वा आवश्यकता अनुसार भएको सिलिण्डरलाई व्यवस्थापन गरेर हुन्छ, अक्सिजन अभावले छट्पटाउदैगरेका बिरामीको कहाँनी देख्न र लेख्न नपरोस् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्