Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

काठमाडौैं उपत्यकामा संक्रमितको संख्या २ लाख नाघ्यो, देशभर थप ९ हजार २ सय ४७ जनामा संक्रमण


काठमाडौं । उपत्यकाका तीनवटा जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै उपत्यकामा संक्रमितको संख्या २ लाख नाघेको हो। काठमाडौँमा २ हजार ३ सय ४६ जना, भक्तपुरमा २ सय ९८ जना र ललितपुरमा ४ सय ५४ जना कोरोना संक्रमित थपिएका छन्।

अहिलेसम्म उपत्यकामा १ लाख ६७ हजार ९ सय ५ जना संक्रमणमुक्त भएका छन्। काठमाडौंमा १ लाख ६५ हजार ३ सय ६४ जना संक्रमित भएका छन्। जसमध्ये १ लाख ३५ हजार ६ सय ४८ जना संक्रमणमुक्त भएका छन्। १ हजार १ सय ८९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ।

त्यस्तै भक्तपुरमा १६ हजार ४ सय ८० संक्रमितमध्ये ११ हजार ५ सय २९ जना संक्रमित संक्रमणमुक्त भएका छन्। भक्तपुरमा २ सय ३५ संक्रमितको मृत्यु भएको छ। ललितपुरमा पनि २८ हजार २ सय १७ संक्रमितमध्ये २० हजार ७ सय २८ जना संक्रमणमुक्त भएका छन् भने ३ सय १८ संक्रमितको मृत्यु भएको छ।

हाल काठमाडौंमा २८ हजार ५ सय २७ जना सक्रिय संक्रमित छन् भने भक्तपुरमा ५ हजार ७६ र ललितपुरमा ७ हजार १७१ सक्रिय संक्रमित छन्। उपत्यकामा कुल १ हजार ७ सय ४२ संक्रमितको मृत्यु भएको छ। हाल यहाँ जम्मा ४० हजार ७ सय ७७ जना सक्रिय संक्रमित छन्।

देशभर पछिल्लो २४ घण्टामा ९ हजार २ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालाबाट २१ हजार ६५३ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार १९८ जनामा र ४३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० पुगेको छ। कुल संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ।

पछिल्लो २४ घण्टामा २१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार २१५ पुगेको मन्त्रालयले जनाएको छ। सोही अवधिमा ५ हजार ७ सय ६७ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्। योसँगै हालसम्म कोरोनामुक्त हुनेहरुको संख्या ३ लाख ४५ हजार ५ सय २३ पुगेको छ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, शिक्षा स्वास्थ्य, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्