जनता समाजबादी पार्टीमा निष्कासनको होडबाजी

काठमाडौं । जनता समाजवादी पार्टी जसपा विभाजनको संघारमा पुगेको छ । मंगलबार एकै दिन उपेन्द्र बाबुराम र महन्थ राजेन्द्र पक्षले एकअर्कालाई कारबाही गरेर पार्टीबाटै निष्कासन गरेपछि जसपा फुट्को संघारमा पुगेको हो । अध्यक्ष उपेन्द्र यादवले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीको साधारण समेत सदस्यबाट हटाएको भन्दै त्यससम्बन्धी जानकारी निर्वाचन आयोगलाई गराउनुभएको थियो ।
अध्यक्ष यादवले आज निर्वाचन आयोग गएर पत्र दर्ता गराउनुभएको हो । जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक पार्टीका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा जेठ १७ गते सम्पन्न भएको र सो बैठकले पार्टी अनुशासन सम्बन्धी कारवाही बारे निर्णय गरेको नेता प्रमोद साहले जानकारी दिए । पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा रहेका ठाकुर, महतो, शुक्ल र कर्णले पार्टी विधान, नीति र निर्णयहरूको विपरित कार्य गरिरहेको सन्दर्भमा जेठ ९ गते बसेको बैठकले स्पष्टीकरण सोधेको र त्यसको जवाफ नदिएकाले राजनीतिक दल सम्बन्धी ऐन २०७३, पार्टीको अन्तरिम विधान २०७७ अनुसार पार्टीको सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको आयोगलाई जानकारी गराइएको पत्रमा उल्लेख छ ।
पार्टी दर्ताको किताबबाट उनीहरुको नाम हटाउन पनि आयोगलाई आग्रह गरिएको छ । उपेन्द्र बाबुराम पक्षले उक्त कदम चालेलगत्तै महन्थ राजेन्द्र पक्षले पनि कारबाही गरेको छ । अध्यक्ष महन्थ ठाकुरपक्षको बैठकले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । अध्यक्ष यादवलाई मात्रै पार्टीबाट निष्काशन गरिएको र त्यसको जानकारी निर्वाचन आयोगलाई समेत दिइएको छ । यसरी दुवै पक्षले एकअर्कालाई कारबाही गरेपछि अब जसपा औपचारिक विभाजन हुन मात्रै बाँकी रहेको देखिन्छ ।
२०७७ साल वैशाख १० गते राति राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टीबीच एकीकरण गर्ने सहमति भएको थियो । नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राखिएको थियो । पार्टीको झन्डा समाजवादीको र चुनाव चिन्ह राजपाको राख्ने पनि सहमति भएको थियो । त्यसबेला प्रधानमन्त्री केपी ओलीले दल विभाजन खुकुलो हुनेगरीे अध्यादेशको ल्याएपछि दुई दलबीच रातारात एकता भएको थियो । तर अहिले सरकारमा सहभागि हुने विषयमा विवाद हुँदा एकले अर्कालाई कारबाही गरेका हुन् । महन्थ राजेन्द्र पक्ष ओली सरकारमा सहभागि हुँदैछ भने संसद विघटनपछि ओलीविरुद्ध लागेको उपेन्द्र बाबुराम पक्ष ओली सरकार हटाउनुपर्ने मान्यतामा रहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #जनता समाजवादी पार्टी
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्