फर्किएनन् प्रधानमन्त्री ओली जेठ २ मा, महाधिबेशन आयोजक समितिबाटै स्थायी कमिटिमा नियुक्त
माधव झलनाथ समूहको फेरि आपत्ती

काठमाडौं । बितेको १ वर्षभन्दा लामो समय नेकपाको विवाद अनि सर्वोच्च अदालतको विभिन्न आदेशले देश नै भुमरीमा पर्यो । पछि नेकपा एमाले आन्तरिक किचलोमा फस्यो । त्यही किचलोको परिणाम स्वरुप संविधानका भावनामा पटक पटक चोट पुर्याइयो । तर, आज फेरी अध्यक्ष केपी ओलीले असन्तुष्ट पक्षलाई फकाउने रणनीति स्वरुप केही महत्वपूर्ण निर्णय गराए । अब खनाल नेपाल समुहको माग पूरा भएको हो त ? एमाले विभाजनबाट रोकियो त भन्ने प्रश्नहरु उब्जिएका छन् । भागबण्डाको किचलोबाट सुरु भएको सर्वोच्च अदालतबाट विघटित नेकपाको झगडा कै उपज थियो पहिलो पटक प्रतिनिधि सभाको विघटन । त्यो प्रयास सर्वोच्च कै कारण सफल भएन । केही नेताको पदको अतृप्त चाहना अनि केही नेताको अहम्का कारण दोस्रो पटक विघटनमा परेको प्रतिनिधि सभा पुर्नस्थापनाको पर्खाइमा छ ।
प्रधानमन्त्री केपी शर्मा ओली संविधान पालना गराउने मार्गबाट भड्किएका छन् । मुलुकको राजनीतिलाई सही मार्गमा ल्याउने भन्दै माधव नेपाल, झलनाथ खनाल पक्षधरहरु विपक्षी गठबन्धन तिर लागेका छन् । सर्वोच्चले नेकपा विघटन गर्ने निर्णय गरेसँगै प्रचण्ड आफ्नै पुरानो पार्टी चलाएर बसेका छन् । प्रधानमन्त्री ओलीको बिभाजनमा परेका नेपाल, खनाल पक्षधरहरु कहिले माउ पार्टीले बोलाउला अनि त्यतै जाउँला भनेर बसेका छन् । लाग्छ, अब उनीहरुको माग संविधानलाई सही मार्गमा ल्याउनु पर्छ भन्ने छैन । जसरी भएपनि माउ पार्टीमा फर्कनु पर्छ भन्ने मात्र छ । हिजो आज पनि उनीहरु प्रतिनिधि सभा पुनस्र्थापनाको माग त गर्छन् तर, मधुरो स्वरमा । प्रधानमन्त्रीको राजिनामा त उनीहरुले माग्नै छाडि सके ।
बुधबार महाधिवेसन आयोजक समिति विघटन गरेर एमाले अध्यक्ष समेत रहेका ओलीले एकताको सन्देश दिए जस्तो गरेका छन् । नेपाल र खनालसहितका नेतामाथि गरिएको कारवाहि पनि फुकुवा गरेका छन् । तर,उनले माओवादी छाडेका अरु २३ जना नेता थपेर त्यही महाधिवेसन आयोजक समितिलाई केन्द्रिय कमिटि बनाएका छन् । २०७५ साल जेठ २ अघिको संरचनामा फर्कन तयार रहेको बताएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अन्ततः २०७७ फागुनभन्दा पछाडि फर्कन सकेनन् । महाधिवेशन आयोजक कमिटीको बैठकले एमालेलाई २०७७ फागुन २८ सम्म फर्काएको छ । जबकि, माधव नेपाल पक्षले २०७५ जेठ २ मा फर्कनुपर्ने शर्त राख्दै आएको छ । बालुवाटारमा ओलीको अध्यक्षतामा बसेको एमाले दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले पूर्व माओवादीका २० जनालाई केन्द्रीय कमिटीमा राख्ने निर्णय गरेको छ ।
त्यस्तै बादल लगायतका चार पूर्व माओवादी नेताहरूलाई स्थायी कमिटी सदस्य बनाउने आयोजक समितिले निर्णय गरेको छ । एमालेको यो संरचना ०७७ फागुन २८ मा बसेको ओली समूहको बैठकले बनाएको संरचना हो । नेपाल पक्षले २०७७ फागुन २८ का निर्णयहरू खारेज हुनुपर्ने माग गर्दै आएको छ । महाधिवेशन आयोजक समितिको विघटन गर्दा गर्दै ओलीले माधव नेपालमाथि कटु वचन प्रहार गर्न पनि छाडेनन् । पार्टीभित्रैबाट विरोधीसंगको साठगाँठबाट सरकारलाई बदनाम गर्ने खेल भएको ओलीको आरोप छ । ओलीको अभिव्यक्तिको एउटै अर्थ लाग्छ, एमाले भित्रको हिलो छ्यापाछ्यापको खेल अझै जारी रहने छ । के एमाले अध्यक्ष ओली वास्तव मै एकता चाहन्छन् त ? हिजोका प्रश्न आजपनि यथावत् छ ।
बुधबारको निर्णयले खनाल नेपाल समुहको माग पूरा भएको हो र अब पार्टी एकता हुन्छ त भन्ने महत्वपूर्ण प्रश्न त छदैछ । २ दिन अघि मात्र माधव नेपालको साथ छाडेका वेदुराम भुसालसहित माओवादीमा नफर्किएका ४ जना नेताहरुलाई स्थायी कमिटिमा स्थान दिएर प्रधानमन्त्रीले आफू अहिले पनि नेपाल पक्ष सामु झुकिन हाल्ने सन्देश दिएका छन् । साथै स्थायी कमिटिमा भुसालको आगमनले कतिपय नेता, कार्यकर्ता नेपाललाई छाडेर ओलीको शरणमा फर्कँदै छन् भन्ने पनि बुझ्न सकिन्छ नै । माधव नेपाल र केही नेता माउ पार्टीमा फर्के पनि, नफर्के पनि, संविधानलाई सही मार्गमा ल्याउने उनीहरुको दाबी कमजोर बनेको छ । २–२ पटक प्रतिनिधि सभाको विघटनबाट धुजाधुजा बनेको संविधान, नेपाल पक्षले एमालेमा पुरानै स्थान पाएपछि सही मार्गमा फर्कन्छ त ? माधव नेपाललाई शानसँग एमाले अध्यक्ष ओलीसँगै कुर्सीमा विराजमान गराएको खण्डमा सम्भावित आमनिर्वाचन पनि संविधान सम्मत हुन्छ त ? यो प्रश्नको जवाफ भने अझै प्राप्त हुन सकेको छैन ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेकपा एमाले, #नेकपाको विवाद
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्