मठमन्दिर, गुम्बा र चर्च बनाउन १६ करोड ७२ लाख बजेट

काठमाडौं । गाउँ घरमै सरकार बनेपछि जनताले विकासको अनूभूति पाउने गरी काम हुने अपेक्षा गरेका नागरिकले यो झण्डै ४ बर्षमा केही फरकपन पाएनन् । बरु केन्द्र जस्तै सत्ताका लागि लुछाचुडी, मन्त्री फेरबदल र दलहरुको विवादले जनतालाई निरास नै बनायो । प्रदेश सरकारले जनताको जीवनस्तर उकास्ने गरी प्रतिफल दिने काम गर्नुपर्ने हो । तर, मुख्यमन्त्री, मन्त्रीका सिमित स्वार्थ पूरा गर्न सरकार लाग्ने गरेका उदाहरण थुप्रै छन् । आज हामी सदुरपश्चिम सरकारले ल्याएको बजेटको कार्यक्रमको चर्चा गदैछौं । गत बर्ष सुदूरपश्चिम प्रदेश सरकारले बजेट तथा कार्यक्रममा दुई सय ७० मन्दिरका योजना अघि सारेको थियो । ती योजनाहरुमा २४ करोड २२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । त्यसको बिरोध हुँदा हुँदै यसबर्ष पनि मन्दिरलगायतका धार्मिक स्थलका नाममा करोडौं रकम खर्च गर्ने गरी सुदूरपश्चिम प्रदेशले ठूलो रकम बिनियोजन गरेको छ ।
कोरोना कहरमा परेका जनताको आयस्रोत नै ठप्प छ । साँझ र बिहानको छाक टार्न मुस्किल परिरहेका जनतालाई राहात भन्दा पनि प्रदेश सरकारले बजेट दुरुपयोग हुने गरी मठ, मन्दिर तथा चर्चका लागि बजेट बिनियोजन गरेको छ । यसको सुदुरपश्चिममा चौतर्फी बिरोध भइरहेको छ । विगतमा जस्तै प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७८÷७९ का लागि एक सय ७२ वटा मन्दिर, चर्च र गुम्बा निर्माण गर्न १६ करोड ७२ लाख बजेट छुट्याइएको छ । जसमा एउटा चर्च, तीनवटा गुम्बा र बाँकी सबै मन्दिर रहेका छन् । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले पर्यटन क्षेत्रमा विनियोजन गरेको बजेटको झण्डै एक तिहाइ बजेट मन्दिर लगायतका धार्मिक संस्थाकै नाममा दिइएको छ । आगामी आर्थिक वर्षका लागि दुई अर्ब ११ करोड बजेट पाएको मन्त्रालयले पर्यटन क्षेत्रमा झण्डै २५ प्रतिशत ५२ करोड बजेट छुट्याएकोमा मन्दिर, चर्च र गुम्बा तथा विभिन्न संरचना निर्माण शीर्षकमा मात्रै झण्डै १७ करोड रुपैयाँ छुट्याइएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहको कुलदेवताको मन्दिरका लागि एक करोड बजेट छुट्याइएको छ । शाहकै निर्वाचन क्षेत्रमा पर्ने बाजुराको खप्तड छेडेदेह गाउँपालिका–४ मा रहेको ज्यूलेख मन्दिर निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको हो । मन्त्री शाह मात्र नभएर प्रदेशका ९ वटै जिल्लामा यसरी नै समुदाय विशेषका मन्दिरमा करोडौं बजेट विनियोजन गरिएको छ । सरकारको वार्षिक कार्यक्रम पुस्तिकामा सबैभन्दा धेरै १० लाख रुपैयाँ दरका ६० योजना छन् । यसरी सरकारले ६० योजनामा मात्र ६ करोड बजेट छुट्याएको छ । पाँच लाख दरका ४७ योजनामा दुई करोड ३५ लाख, आठ लाख दरका २४ योजनामा एक करोड ९२ लाख, १५ लाख दरका १० योजनामा एक करोड ५० लाख, सात लाख दरका १९ योजनामा एक करोड ३३ लाख, ६ लाख दरका पाँच वटा योजनामा ३० लाख रुपैयाँ बजेट छुट्याएको छ ।
मन्दिर निर्माणकै एउटा योजनामा एक करोड, ५० लाख दरको दुई वटा योजनामा एक करोड, २५ लाख दरका दुई वटा योजनामा ५० लाख, ३० लाखको एउटा योजना, २० लाखका दुई योजनामा ४० लाख र एउटा योजनामा १२ लाख रुपैयाँ छुट्याइएको छ । प्रदेश सरकारले दुईदेखि तीन लाख रुपैयाँ लागतका दर्जनौं योजना पनि बजेटमा समावेश गरेको छ । तीन वटा गुम्बा निर्माणका लागि ४० लाख र एउटा चर्चका लागि ५ लाख रुपैयाँ बजेट पनि छुट्याइएको छ । जसमा गुम्बामा २५ लाख, ८ लाख र ७ लाखका योजना छन् । सरकारले विगतका वर्षमा जस्तै केहीबाहेक अधिकांश कुलदेवता, समुदाय र जात विशेषका मन्दिरमा करोडौं बजेट खन्याएपछि दुरुपयोग हुने आशंका गरिएको छ । हुनत् यो गत वर्षको तुलनामा मन्दिरको लगानी लगभग १० प्रतिशत बजेट कम हो । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ मा मन्दिर निर्माणमा ३० करोड, आर्थिक वर्ष २०७६/७७ मा १६ करोड र चालु आर्थिक वर्षमा करिब २४ करोड बजेट विनियोजन गरेको थियो । जसमा ठूलो बजेट दुरुपयोग हुँदै आएको स्वयम् सांसदहरु नै बताइरहेका छन् ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कोरोना कहर, #प्रदेश सरकार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्