उठ्यो एमालेमा ब्यक्तीको प्रचार–प्रसारको कुरा-व्यक्तिलाई नभई पार्टीलाई स्थापित गरौं

काठमाडौं । नेकपा एमालेको पहिलो बिधान महाधिबेशनमा अध्यक्ष केपी शर्मा ओलीको प्रचार–प्रसारलाई लिएर ब्यापक बिरोध भएको छ । पार्टी अध्यक्ष ओलीलाई देवत्वकरण गर्न खोजिएको भन्दै नेताहरुले आक्रोश ब्यक्त गरेका हुन् । नेतृत्वले विधान महाधिवेशनलाई केपी शर्मा ओलीमय बनाउने प्रयास गरिरहेका बेला प्रतिनिधिहरुले भने व्यक्ति नभई पार्टी र पार्टीको नीतिलाई स्थापित गर्नुपर्नेमा जोड दिए । ललितपुरको गोदाबरीमा जारी विधान महाधिवेशनमा भएको समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा टोली नेताहरुले पार्टी सञ्चालन प्रक्रियामा असन्तुष्टि पोखेका हुन् ।
केन्द्रीय निकाय तथा विभागहरुका तर्फबाट टोली नेता भानुभक्त ढकालले पार्टी एकतामा विलम्ब भएको र कामरडेली भावनाबाट च्यूत हुँदै गएको प्रतिक्रिया दिए । बाग्मती प्रदेशका टोली नेता आनन्द पोखरेलले पनि व्यक्तिलाई ब्राण्डिङ गर्ने कि नगर्ने भन्नेमा मत बाझिएको बताए । सरकार र पार्टीको सम्बन्ध प्रष्ट पार्नुपर्ने भन्दै उनले नजिक हुनेहरुले मात्र अवसर पाएकाले विधि बनाउनुपर्नेमा जोड दिएका थिए । समूहगत छलफलमा नेताहरुले उपाध्यक्षको संख्या अझ बढाउनुपर्ने, उपहासचिव पद कायमै राख्नुपर्ने मत राखेका छन् ।
हाल विधान संशोधन प्रस्तावमा पाँच उपाध्यक्ष प्रस्ताव गरिएको छ भने उपमहासचिव पद खारेज गर्ने प्रस्ताव छ । लुम्बिनी प्रदेशका टोली नेता लीला गिरीले वरिष्ठसहित ७ उपाध्यक्ष बनाउनुपर्ने बताए । केन्द्रीय निकाय तथा विभागहरुका टोली नेता ढकालले पनि वरिष्ठसहित ६ उपाध्यक्ष हुनुपर्ने र एक उपमहासचिव राख्नुपर्ने समूहको निष्कर्ष प्रस्तुत गरेका छन् । विधान महाधिवेशनका प्रतिनिधिहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीको धारणा प्रष्ट पार्न माग गरे ।
छलफलमा नेताहरुले एमसीसीबारे धारणा माग गरेका थिए । केन्द्रीय निकाय तथा विभागहरुको टोली नेता भानुभक्त ढकाल, बागमतीका आनन्द पोखरेल लगायतले एमसीसीबारे पार्टीको धारणा मागेका हुन् । अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा एमसीसी पास गर्न जोड दिएका थिए । सरकारमा हुँदा पार्टीभित्र चर्को विवादका बीच उनले एमसीसी पास गर्न दबाव दिएका थिए । तर, प्रतिपक्षमा पुगेपछि एमसीसी के गर्ने हो भनेर सरकारलाई प्रश्न मात्र गर्दै आएका छन् । सरकार र सत्तारुढ दलले पार्टीको धारणा सार्वजनिक गरेपछि आवश्यक समयमा मात्र एमालेको धारणा सार्वजनिक गर्ने एमाले नेताहरुले बताउने गरेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अध्यक्ष केपी शर्मा ओली
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्