Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

बिमानस्थलमा पर्यटनमन्त्री आलेको छड्केः डीजी साप, पीसीआरको लुट तुरुन्त बन्द गर्नुहोस

मन्त्रीको निर्देशनले घट्ने भयो एक हजार शुल्क


काठमाडौं । पर्यटनमन्त्री प्रेमबहादुर आलेले शुक्रबार साँझ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा छड्के गरेका छन् । कार्तिक १ गते पनि बिमानस्थलमा छड्के गरेका मन्त्री आलेले दुई साता पुग्नै लाग्दा फेरि अनुगमन गर्न पुगेका हुन् । दोहा, दुबई, मलेसिया जाने विमान शुक्रबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु कुरेर बसेको थाहा पाएपछि मन्त्री बिमानस्थलमा पुगेका थिए ।

विमानस्थल बाहिर पार्किङमा संचालनमा ल्याइएका निजी ल्याबमा श्रमिकहरु आरटी–पीसीआरको रिपोर्ट कुरिरहेका थिए । नजिकिँदो तिहारको समयमा खादा, माला र रातो बिदाइको टीकाले सजिएका नेपालीहरु हातमा पासपोर्ट र टिकट बोकेर पार्किङ क्षेत्रमा आइएमएस समूहले बनाएको भवनमा रहेका आधा दर्जन ल्याबमा लाइनमा लामै लागेको थियो । निजी सुरक्षागार्ड पीसीआर गर्ने र रिपोर्ट लिने यात्रुको लाइन मिलाइरहेका देखिन्थे । ल्याबका कर्मचारी र्‍यापिड पीसीआर टेस्टका लागि नाम टिप्ने र प्रतिव्यक्ति २ हजार रुपैयाँ संकलन गर्दै स्वाबको स्याम्पल लिइरहेका थिए ।

श्रम गन्तव्यमा जाने नेपाली युवायुवतीलाई बिदाइ गर्न आएका परिवारका सदस्यहरुको अनुहार भने मलिन देखिन्थ्यो । र्‍यापीड पीसीआरका लागि नमुना दिनेहरु र रिपोर्ट लिनेहरुको भद्रगोल भीडमा छिरे पर्यटनमन्त्री प्रेमबहादुर आले पनि । मन्त्री गाडीबाट ओर्लिनेबित्तिकै र्‍यापीड पीसीआर गरिसकेका दुई जना युवाको हातबाट बिल लिएर सोधे कति पैसा दिनुभयो भन्दै । दुई हजार तिर्दा समेत परिक्षणमा कठिनाई भएको यात्रुको गुनासो सुनेपछि मन्त्री आले रुकुमका झुपकुमार मल्लको गुनासो पनि सुने । कसैले यता भन्छ, कसैले उता भन्छ । सर हामीलाई यहाँ लुट्ने काम भइरहेको छ । दुख पाइयो,’ यात्रुहरुका कुरा सुनेपछि आलेले भने, ‘मैले वैदेशिक रोजगारमा जानेहरुबाट धेरै गुनासो सुनेर आएको हुँ । बाहिर १ हजारदेखि १२ सयमा हुने काम यहाँ २ हजारमा हुनु भनेको ठगी हो । म यसलाई समाधान गर्छु ।’

५ दिनअघि मात्रै नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा नियुक्त भएका राजकुमार क्षत्रीलाई पनि साथै लिई पुगेका उनले यात्रुहरुलाई देखाउँदै र उनीहरुकै बीचमा त्यहाँका ल्याबहरुको मूल्य अनुगमन गरी तत्काल ठगी गर्नेलाई कारबाही गर्न निर्देशन दिए । ‘डीजी’साप पीसीआरमा भइरहेको लुट तुरुन्त बन्द गराउनुहोस् । आइतबारबाट १ हजारदेखि १२ सय रुपैयाँ कायम गराउनुहोस् । जुन ल्याबले मान्दैन कारबाही गर्नुहोस् ।’ क्षत्रीले मन्त्रीको निर्देशनअनुसार आइतबारदेखि ल्याबमा भइरहेको जाचको अनुगमन गरी मूल्य घटाउने प्रतिबद्धता जनाएका छन् । उनले विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीलाई आइतबार नयाँ मूल्य लागू गर्न पत्र पठाउने बताए ।

हाल काठमाडौंबाट दुबईका लागि हुने उडानमा नेपाली तथा विदेशी वायुसेवाहरुले उड्नुभन्दा २ देखि ६ घन्टाअघिसम्मको आरटी–पीसीआर जाँच गरेको रिपोर्ट अनिवार्य माग्छन् । त्यस्तै नेपाल वायुसेवा निगमले हङकङको उडानमा ६ घन्टा अगावैको आरटी–पीसीआर नेगेटिभ अनिवार्य गरेको छ ।


क्याटेगोरी : जीवनशैली, पर्यटन, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अन्तराष्ट्रिय विमानस्थल, #पर्यटनमन्त्री प्रेमबहादुर आले

तपाईको कमेन्ट लेख्नुहोस्