Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

एकैदिन ढले दुई प्रदेश सरकार, प्रदेश १ मा भीम आचार्य र कर्णालीमा महेन्द्र शाहीले दिए राजीनामा


काठमाडौं । पछिल्लो समय बदलिदो राजनैतिक घटनाक्रमबाट सिर्जित राजनितिक माहोलका कारण प्रदेश सरकारहरु अस्थिर राजनीतिको केन्द्र बनेका छन । एकपछि अर्को सरकार गुमाउदै नेकपा एमाले अव संघ देखि प्रदेशसम्म पुर्ण प्रतिपक्ष वन्न पुगेको छ । ४ दलिय सत्ता गठबन्धन भित्र भने सत्ता संघर्ष चुलिदो छ । तत्कालीन वाम गठबन्धनमा चारवटा प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाएको एमालेले तत्कालीन नेकपा विघटन र पछिल्लो समय एमालेमै विभाजन आएपछि नेकपा एमाले अव सातवटै प्रदेशमा प्रतिपक्ष बन्न पुगेको छ ।

तत्कालिन प्रधानमन्त्री शर्मा ओलीले गत ५ पुसमा पहिलोपटक प्रतिनिधिसभा विघटन गरेपिछि राजनितिले नया रुप लिएको थियो । संघीय सरकारको समेत नेतृत्व गरेको एमाले अध्यक्ष केपी शर्मा ओलीले गत २८ असारमा सर्वोच्चको परमादेशका कारण सरकारबाट बाहिरिनु परेको थियो । संघ र प्रदेशका सबै सरकार गुमाउदै एमाले पूर्ण प्रतिपक्ष बनेको छ । एमालेले लुम्बिनी, गण्डकी,प्रदेश एक बागमती प्रदेश पार्टी फुटपछि गुमाएको छ । प्रदेशमा राजनीतिक दलहरुबीच भएको सहमति कार्यान्वयनमा केन्द्रीय गठबन्धनले प्रभाव पारेको छ । देशका सात प्रदेशमध्ये दुई प्रदेशका मुख्यमन्त्रीले सोमबार एकै दिन राजीनामा दिएका छन् ।

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र कर्णालीका मुख्यमन्त्री महेन्द्र शाहीको पनि राजीनामा आएको हो । कर्णालीले सत्तारुढ माओवादी र कांग्रेसबीच सात्ता साझेदारीको सहमति भएको थियो । उक्त सहमति बमोजिम ६ महिनामा माओवादीले कांग्रेसलाई मुख्यमन्त्री पद हस्तान्तरण गर्नुपर्ने भनिएको छ । मुख्यमन्त्री शाहीले राजीनामा नदिने अडान लिए पनि कांग्रेसको निरन्तर दवावपछि उनी वाध्य भएका छन् । प्रदेश १ मा भीम आचार्यले राजीनामा दिएका थिए । त्यहाँ नेकपा एसको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको छ । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले ५० सांसदको समर्थनसहित प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका छन् ।

यसअघि पार्टीभित्रको विवादकै कारण सबभन्दा पहिला एमालेले गण्डकी प्रदेश सरकारको नेतृत्व एमालेले गुमाएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार ७८ जेठ २७ मा ढलेको थियो । त्यसपछि यो प्रदेशमा काँग्रेस नेतृत्वमा ५ दलीय गठबन्धनको सरकार बनेको छ । एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार ढलेको ठीक दुई महिनापछि अर्थात् ०७८ साउन २८ मा एमाले नेतृत्वमै रहेको लुम्बिनी प्रदेश सरकार ढल्यो । शंकर पोखरेलले सरकारको नेतृत्व गरेका थिए । पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढलेपछि यो प्रदेशमा पनि ५ दलीय गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता कुलबहादुर केसी बनेका मुख्य मन्त्री बने ।

गण्डकी र लुम्बिनीपछि एमाले नेतृत्वको बागमती प्रदेश सरकार ढल्न पुगेको थियो । यो प्रदेशमा एमालेले डोरमणि पौडेलको राजीनामा गराएर एमाले उपाध्यक्ष समेत रहेकी अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाए पनि शाक्य नेतृत्वको सरकार समेत धेरै टिक्न सकेन । पौडेलको राजीनामा पछि २०७८ भदौ २ गते मुख्यमन्त्री बनेकी शाक्य ७१ दिनमा कात्तिक १० गते राजीनामा दिएर बाहिरिन पुगेकी थिइन् । शाक्यको राजीनामा पछि यो प्रदेशमा ५ दलीय गठबन्धनका तर्फबाट एमालेबाटै अलग भएर बनेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका छन् । शाक्य नेतृत्वको सरकार ढलेको ५ दिनमा प्रदेश एकमा शेरधन राईलाई राजीनामा गर्न लगाएर मुख्यमन्त्री बनेका भीम आचार्यको सरकार पनि सरकारबाट बहिर्गमन भएको हो ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रतिनिधिसभा विघटन, #प्रदेश सरकार, #महेन्द्र शाही

तपाईको कमेन्ट लेख्नुहोस्