Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

सन् २०४५ भित्र कार्बन उत्सर्जन शून्यमा पुर्याउने नेपालको लक्ष्यः प्रधानमन्त्री देउवा


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च हिमाली क्षेत्रको विशिष्ट जलवायु सङ्कटलाई पहिचान गर्न र जलवायुसँग सम्बन्धित हरेक छलफलमा हिमालय एजेण्डालाई उच्च प्राथमिकतामा राख्न विश्वका नेताहरुसँग आग्रह गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी २६ औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा सहभागी विश्व नेताहरुको शिखर बैठकमा प्रधानमन्त्री देउवाले हिमाली क्षेत्रमा तीव्र गतिमा उष्णता बढेर समग्र दक्षिण एसियामै खाद्य, जल, ऊर्जा र मानवीय सुरक्षामा गम्भीर चुनौती खडा गरेको र हिमतालहरु पग्लेर समुद्री सतह बढ्न जाँदा तटीय र टापू राष्ट्रहरुको अस्तित्व सङ्कटमा पर्न थालेको सन्दर्भ अघि सार्दै यस्तो आग्रह गरेका हुन् ।

हिमाली भेगका बासिन्दाहरुका लागि विश्वव्यापी तापमान १ दशमलव ५ डिग्री सेल्सियसभन्दा मुनि रहन जरुरी रहेको देउवाको भनाई छ । हिमालयमा देखापरेका जलवायुजन्य सङ्कटहरुबारे सचेतना जगाउन नेपाल सरकारले ‘सगरमाथा संवाद’को आयोजना गर्नेछ, जुन संवादको नामकरण माउण्ट एभरेस्टबाट गरिएको प्रधानमन्त्री देउवाले बताए ।

वैश्विक औसतभन्दा तापमान उच्च हुँदा हिमाली क्षेत्रमा हिमतालहरु सुकेर जान थालेको, हिमपात घट्दै गएको र हिमभूमि पग्लिँदै गइरहेको र त्यसले अथाह आर्थिक, पर्यावरणीय र मानवीय क्षति पारिरहेको चित्र प्रस्तुत गर्दै प्रधानमन्त्री देउवाले नेपालको कुल जनसङ्ख्याको ८० प्रतिशत प्राकृतिक र जलवायुजन्य प्रकोपहरुको जोखिममा गरेको बताए । उनले गएको ४० वर्षको समयावधिमा प्राकृतिक विपद्हरुबाट नेपालमा मात्रै ६ अर्ब अमेरिकी डलर हाराहारीमा भौतिक र आर्थिक क्षति भएको जानकारी दिए ।

नेपाली अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउने महत्वाकाङ्क्षी योजनासहितको राष्ट्रिय जलवायु योजना (एनडिसी) नेपालले पेस गरेको जानकारी दिँदै देउवाले सन् २०४५ भित्र विशुद्ध शून्य उत्सर्जनमा पुग्ने लक्ष्य नेपालले राखेको छ । सन् २०३० भित्र हाम्रा कूल ऊर्जा मागको १५ प्रतिशत स्वच्छ ऊर्जा स्रोतबाट परिपूर्तिको सुनिश्चितता गर्ने भन्दै देउवाले देशको ४५ प्रतिशत भूखण्ड वन क्षेत्रले ढाक्ने बनाउने दाबी गरे ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री शेरबहादुर देउवा

तपाईको कमेन्ट लेख्नुहोस्