Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

प्रधानन्यायाधीश राणाबारे चुपचाप प्रधानमन्त्री देउवा,प्रश्न नै नसोध्न पत्रकारलाई आग्रह


काठमाडौं । धेरैले अपेक्षा गरेका थिए प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्याण्डबाट फर्किदा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा सञ्चारकर्मीहरुसँग न्यायालयमा देखिएको भाँडभैलोबारे कुनै न कुनै प्रतिक्रिया दिनेछन् । र दलहरुको न्यायालयप्रतिको मौनता तोडिनेछ । तर, प्रधानमन्त्री देउवाले दुई साता लामो रस्साकस्सीमा चलिरहेको र जनताको न्याय पाउने अधिकार नै ठप्प पारिएको न्यायापालिकाबारे एक शब्द समेत बोलेनन् । बरु प्रधानमन्त्री देउवालाई प्रश्न राख्न सञ्चारकर्मीलाई आग्रह गर्दै गर्दा उनले सुरुमै भने भ्रमण बाहेक अन्य प्रश्न नसोध्नु ।

सञ्चारकर्मी पनि के कम प्रधानमन्त्री देउवाको पन्छिने जुक्तीमाथि प्रश्न सोधिहाले । न्यायापालिका ठप्प हुँदा तपाईको धारणा के हो ? यो प्रश्नको जवाफ नै नदिई देउवाले गठबन्धन लामो समय टिक्ने जिकिर गर्दै जवाफ यत्ति भएको सुनाए । प्रधानमन्त्री देउवाको मौनता र उनी निकट नेताहरुको समेत न्यायापालिकाप्रति बोल्नै नचाहनाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बल पुगेको छ ।

कांग्रेसभित्र बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने बताइरहदा देउवा पक्ष भने चुपचाप छ । सत्तागठबन्धनभित्र न्यायालयभित्रको विवादबारे कुनै छलफल नभएको सहयात्री दलहरुले समेत बताइरहेका छन् । सत्ता साझेदारी दल नेकपा एकिकृत समाजवादी दलका अध्यक्ष माधव कुमार नेपाल समेत न्यायापालिकामा देखिएको समस्याबारे गठबन्धनकै साझा धारणा बनाउनुपर्ने बताइरहेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि न्यायापालिकाबारे खुलेरै अभिब्यक्ती दिएका छैनन् । सत्ता गठबन्धनका दलहरुले नै प्रधानन्यायाधीमाथि उठेका प्रश्नहरुको टालटुले जवाफ दिनु र देउवा पनि बिषयमा प्रबेश नै गर्न नचाहनुले राणालाई राहात मिलेको देखिन्छ । झण्डै एकसाता विदेशमा रहेका प्रधानमन्त्री देउवा स्वदेश फर्किदा तिहार सुरु भइसकेको छ । गठबन्धनको बैठक बसेर ठोस धारणा बनाई सत्तापक्षीय दलहरुको मौनता तोडिन भने अझै केही समय लाग्ने देखिन्छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #न्यायालय, #प्रधानमन्त्री शेरबहादुर देउवा

तपाईको कमेन्ट लेख्नुहोस्