Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

माओवादी केन्द्रको महाधिबेशनबाट फैलियो कोरोना, प्रचण्डदेखि नारायणकाजीसम्म संक्रमित

दर्जनबढी नेतालाई कोरोना संक्रमण


काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिबेशनबाट कोरोना संक्रमण फैलिएको भेटिएको छ । यतिबेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि अन्य नेताहरुलाई कोरोना संक्रमण पुष्टि भइरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

केही दिनदेखि असहजता भएपछि शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । कोरोना संक्रमण भए पनि उनको अवस्था सामान्य रहेको छ । प्रचण्डले निजी निवासमै आराम गरिरहेका छन् । डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको छ । यो बीचमा सम्पर्कमा आएका व्यक्तिहरूलाई सतर्कता अपनाउन समेत अनुरोध सचिवालयले गरेको छ ।

त्यस्तै, माओवादीका नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । आफूलाई कोरोना संक्रमण भएकोले आइसोलेसनमा बसेको नेता श्रेष्ठले बताएका छन् । उनले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना संक्रमण भएको बताएका छन् । त्यस्तै, प्रचण्डका स्वकीय सचिव रमेश मल्ललाई पनि कोरोना संक्रमण पुष्टी भएको छ। शुक्रबार बेलुका एन्टिजेन र पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना पुष्टि भएको मल्लले फेसबुक पोस्टमार्फत जानकारी दिए ।

हिजो बेलुकी एन्टिजेन र पीसीआर विधिबाट परिक्षण गर्दा मेरो पनि कोरोना रिपोर्ट पोजिटिभ देखिएको छु उनले लेखेका छन्, यो बीचमा सम्पर्कमा रहेका सबैले स्वास्थ्य सतर्कता अपनाइदिनु हुनेछ। यस अगाडि पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पौष २५ गते बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित भएको थियो । माओवादी केन्द्रका अन्य नेताहरु पनि आफूहरु आइसुलेसनमा बसेको बताएका छन् ।

प्रचण्डलाई बधाई दिन गएका वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा, वाइसिएल अध्यक्ष सुमन देवकोटा, वाइसिएल नेता तथा हाल केन्द्रीय सदस्य सुवोध शेर्पाली, वागमती प्रदेश अध्यक्ष तथा प्रचण्डका पूर्व अंगरक्षक प्रकाश पाण्डेलगायत अधिकांश संक्रमित भएका छन् । त्यस्तै अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंहमा पनि संक्रमण देखिएको छ ।

नेताहरु हरिबोल गजुरेल, मात्रिका यादव, डोरप्रसाद उपाध्यायमा पनि संक्रमण पुष्टि भइसकेको छ । यो संख्या अझ बढिरहेको छ । महाधिवेशनबाटै संक्रमण फैलिएको आशंका गरिएको माओवादीका एक नेताले बताएका छन् । सबै नेताहरुमा एकै खालको लक्षण देखिएको छ । माओवादीले आन्तरिक रुपमा सबैलाई परीक्षण गर्न सुझाएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, शिक्षा स्वास्थ्य, समाचार, सामाजिक सञ्जाल
ट्याग : #प्रचण्डदेखि नारायणकाजीसम्म संक्रमित

तपाईको कमेन्ट लेख्नुहोस्