Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

देउवा नेतृत्वको सरकारले पूरा गर्यो छ महिना,जनजिविकाभन्दा पनि गठबन्धनको चित्त बुझाउन ध्यान


काठमाडौं । तत्कालिन केपी शर्मा ओलीको सरकारले संविधानलाई ट्रयाक बाहिर लगेको भन्दै सर्वोच्च अदालतको परमादेशबाट बनेको वर्तमान सरकार गठन भएको भोलि ६ महिना पुरा हुँदैछ । तर, यो ६ महिनाको अवधिमा जनताले कतै पनि सुशासनको अनुभूति गर्न पाएका छैनन् । त्यसमाथि राज्यका हरेक अंग अवरुद्ध हुँदा शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकार मुक दर्शक मात्र बनिरहेको छ । सरकार आफ्नो दायित्वबाट च्युत हुँदा राज्य संयन्त्र समेत अस्थिर बनेका छन् ।

सर्वोच्च अदालतको परमादेशबाट असार २९ गते गठन भएको शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय सरकार आम जनताको जनजीवन सहज बनाउन, भ्रष्टाचारको अन्त्य र शुसासन कायम गर्न असफल भएको छ । त्यसमाथि अवरुद्ध संसददेखि न्याय क्षेत्रलाई सुचारु गर्न समेत सरकार असफल बन्दै आउको छ । बिहिबार कार्यकालको ६ महिना पुरा गर्दै गर्दा सरकारसँग जनता समक्ष आफूले गरेका राम्रा कार्यको वर्णन गर्ने कुनै गतिलो आधार छैन । त्यसमाथि देउवा सरकार बने यता संसदले निरन्तर अवरोधको सामना गरिरहनु परेको छ ।

६ महिनामा संसदबाट एउटा विनियोजन विधेयक पारित गराउनेबाहेक यो सरकारले एमसीसी लगायत टेबल भइसकेको अन्य कैयौं विधेयक अगाडि बढाउन सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली यो सरकार पूर्णरुपमा असफल भइसकेको दाबी गर्छन् । सरकारका प्रमुख तीन अंग कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका एवं प्रदेश सरकार नै लथालिङ्ग अवस्थामा पुगेको ज्ञवालीको आरोप छ ।

प्रदेशमा मन्त्रालय फुटाएर जम्बो मन्त्रिमण्डल गठन गर्दै भागबण्डा मिलाउने खेलमा सरकार लागेकोे उनको भनाइ छ । सरकार कै कारण आर्थिक क्षेत्रलाई संकटग्रस्त अवस्थामा पगेको छ । जनादेश नभइ परमादेशबाट बनेको सरकारसँग काम गर्ने नैतिक साहस समेत नभएको दाबी ज्ञवालीको छ । सरकारमा मन्त्रीहरु भने भने आफूहरुले राम्रो काम गरिरहेको दाबी गर्न छाड्दैन । सरकारको बचाउ गर्दै सत्तारुढ नेपाली काँग्रेसका नेता नैनसिंह महरले सरकारले धेरै राम्रा काम गरेको दाबी गरेका छन् ।

संबिधानलाई लिकमा ल्याएको, आधारभुत संबैधानिक संरचनालाई पुनर्जिर्वित गरेको, कोरोनासँग जुध्न खोप अभियानलाई तीब्र बनाएर जनतालाई सुरक्षित बनाएको दाबी महरको छ । भ्रष्टाचार निवारणतर्फ पनि सरकारले काम गरेको दाबी उनको छ । सत्ता र प्रतिपक्षको आ–आफ्नै दाबी रहँदा ६ महिने कार्यकालमा सरकारले जनतालाई राहत महशुस हुने कुनै काम गर्न नसकेको सर्वसाधारणको गुनासो छ । विकास निर्माणका क्षेत्रमा पनि सरकारले काम गर्न सकेको छैन । साँच्चै जनताको पक्षमा काम गर्ने हो भने स्वार्थगत राजनीतिबाट माथि उठेर विकास निर्माणमा तत्काल लाग्नुपर्ने देखिन्छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #शेरबहादुर देउवा

तपाईको कमेन्ट लेख्नुहोस्