Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

यातायातमा जोरविजोर हटेपनि अझै खुलाउन पाइने छैन यी क्षेत्र

उलंघन गरे एक महिनासम्म कैद वा सय जरिवाना


काठमाडौं । कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले शनिबारदेखि लागू हुने गरि नयाँ आदेश जारी गरेका छन्। तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकपछि जारी आदेशमा शुक्रवार राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्म नयाँ आदेश लागु हुने उल्लेख गरिएको छ । निषेध गरिएका केही गतिविधिहरूलाई भने खुकुलो बनाइएको छ ।

उपत्यकामा शुक्रवार रातिदेखि भने बस, माइक्रोबस र टेम्पो जस्ता सार्वजनिक सवारी साधनहरूमा जोर बिजोर प्रणाली हटाउने निर्णय भएको छ भने निजी सवारी र ट्याक्सीहरुमा भने सो व्यवस्था कायमै छ । सार्वजनिक सवारी साधन सञ्चालन गर्दा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने, सबै यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, सवारी साधनभित्र स्यानीटाइजरको व्यवस्था गर्नुपर्ने लगायतका मापदण्ड पालना गर्नुपर्ने उल्लेख छ।

त्यस्तै लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा यात्रुहरूलाई सम्भव भएसम्म एन्टीजेन परीक्षण गर्ने व्यवस्था मिलाइनुपर्ने छ। त्यस्तै, वैदेशिक रोजगारीका लागि सञ्चालन गरिने विदेशी भाषा परीक्षा र चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक परीक्षा सञ्चालन गर्न पाइनेछ । तर, जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गुर्नपर्नेछ ।

त्यस्तै, विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन गर्न पाइने छैन । कोभिड–१९ विरुद्धको खोप लगाउन भने तोकिएको दिन विद्यार्थीहरुले विद्यालयमा गएर लगाउन सक्नेछन् ।

यस्तै आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन जस्ता मानिसहरूको भिड हुने गतिविधि तथा सिनेमाहल, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थक्लब, जीमखाना, रङ्गशाला, सङ्ग्रहालय लगायतका क्षेत्रमा भने प्रतिबन्ध लगाइएको छ।  अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिताको हकमा सीमित दर्शक राखी स्वास्थ्य मापदण्डको पूर्ण पालना गराइ जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा सञ्चालन गर्न सकिने छ ।

कुनै पनि सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड–१९ को लक्षण देखिए अनिवार्य रूपमा पाँच दिन क्वारन्टीनमा बस्न र पाँचदिन पछि पुनः परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा मात्र काममा फर्कन भनिएको छ। यी नियम उलंघन गरे व्यक्ति तथा संस्थालाई सङ्क्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२५ बमोजिम कारबाही गरी एक महिनासम्म कैद वा १०० रुपैयाँ जरिवाना गर्न सक्ने बताइएको छ ।


क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति
ट्याग : #काठमाडौं उपत्यका, #जोर बिजोर प्रणाली

तपाईको कमेन्ट लेख्नुहोस्