Techie IT
  • ५ वैशाख २०८२, शुक्रबार
KhojPatrika

स्थानीय तहको निर्वाचन जेठ ४ गते एकै चरणमा गराउन प्रधानमन्त्री र निर्वाचन आयोगबीच सहमति

दलहरुको स्वागत, चुनाव सम्पन्न गर्न आयोगले माग्यो १२ अर्व


काठमाडौं । विभिन्न अडकलको अन्त्य गर्दै सरकार र निर्वाचन आयोग आगामी जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने अनौपचारिक सहमतिमा पुगेका छन् । अब निर्वाचन आयोगले गृह मन्त्रालयमार्फत निर्वाचनको मिति प्रस्ताव गरेर पठाएपछि मन्त्री परिषद्ले त्यसलाई अनुमोदन गर्नेछ । आज बिहान आफ्नै दल नेपाली कांग्रेसका नेताहरुसँगको छलफलमा समेत प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ ४ गते निर्वाचन हुने जानकारी गराएका थिए ।

पाँच दलीय सत्तागठबन्धन बीच आगामी जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने सहमति बनेपछि निर्वाचन आयोगले समेत मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष त्यही मितिमा निर्वाचन गर्ने प्रस्ताव गरेको छ । जसमा प्रधानमन्त्री र आयोगका पदाधिकारीहरुले सहमति जनाएका छन् । ठूलै चलखेल नभए अब आगामी जेठ ४ गते एकै चरणमा स्थानिय निकायको निर्वाचन हुने पक्का पक्की समेत भएको छ ।

मंगलबार दिउँसो निर्वाचन आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री देउवासँग भेट्नु अगावै अनौपचारिक रुपमा निर्वाचनको मिति भने बाहिरि सकेको थियो । बिहान नेपाली कांग्रेसको बागमती प्रदेशका सभापति इन्द्र बानियाँ लगायतका नेताहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले जेठ ४ गते निर्वाचन हुने बताइ सकेका थिए । यसअघि नै पाँच दलीय सत्तारुढ गठबन्धन बीच २०७४ सालमा निर्वाचित भएका स्थानिय निकायका जनप्रतिनिधिको कार्यकाल समाप्त हुनु अगावै निर्वाचन गर्ने सहमति बनेको थियो ।

स्थानीय तह निर्वाचन ऐन २०७३ मा स्थानीय तहको निर्वाचन एक वा त्योभन्दा बढी चरणमा सम्पन्न भएपनि पहिलो चरणको निर्वाचनलाई आधार मानेर जनप्रतिनिधिको कार्यकाल गणना हुने उल्लेख छ । त्यही अनुसार २०७४ साल बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनको पहिलो चरणमा विजयी जनप्रतिनिधिले कार्याभार ग्रहण गरेको पाँच वर्ष आगामी जेठ ५ गते पुरा हुँदैछ । त्यसैले कानूनी झमेलाबाट टाढा रहन सरकार र निर्वाचन आयोग जेठ ४ गते स्थानीय निकायको निर्वाचन गर्ने अनौपचारिक सहमतिमा पुगेका हुन् ।

उता स्थानीय निकायको निर्वाचन अगावै केही ऐन कानून संशोधन र निर्माण गर्नु पर्ने बाध्यता छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद अवरुद्ध गर्दै आएको कारण स्थानिय निकायको निर्वाचन गर्न आवश्यक ऐन कानून निर्माणमा केही समस्या भने देखिन सक्छ । तर, एमाले जिम्मेवार प्रतिपक्षको भूमिकामा आएको खण्डमा भने सहजै आवश्यक ऐन कानून बन्न स्कनेछ । सरकारलाई स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न दबाब दिँदै आएको प्रमुख प्रतिपक्षी एमालेले समेत सरकारको निर्णयलाई अस्वीकार गरेर अगाडि बढ्ने सम्भावना देखिँदैन ।

मंगलबारको छलफलमा आयोगले प्रस्ताव गरेको मितिमा प्रधानमन्त्रीले सहमति जनाएपछि आगामी दुई दिनभित्र निर्वाचन आयोगले गृह मन्त्रालयमा चुनावको मितिसम्बन्धी प्रस्ताव पेस गर्नेछ । आयोगको प्रस्तावलाई गृह मन्त्रालयले मन्त्रीपरिषद्को बैठकमा पेस गरेपछि औपचारिकरुपमा चुनावको घोषणा हुनेछ । यसअघि निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल जेठ ५ गतेसम्म मात्र कायम रहने तथा त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आइरहेको थियो । त्यस्तै, निर्वाचन आयोगले आगामी जेठ ४ गते प्रस्ताव गरेको स्थानीय तहको निर्वाचनमा १२ अर्ब रुपैयाँ खर्च माग गरेको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #एकै चरणमा स्थानिय निकाय, #पाँच दलीय सत्तागठबन्धन, #स्थानीय तह

तपाईको कमेन्ट लेख्नुहोस्