Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

गठबन्धनमा गलफत्ती : प्रधानमन्त्री देउवा पछि हटे, बिहिबार निर्णायक बार्ता, प्रचण्ड माधव एक ठाउँमा


काठमाडौं । बुधबारको संसद बैठकमा जसरी भए पनि एमसीसी टेबल गरिछाड्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी थियो । तर अन्तिम समयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धोका दिएपछि बुधबारका लागि संसदमा एमसीसी टेबल गर्ने कामबाट प्रधानमन्त्री शेरबहादुर देउवा एक कदम पछाडि हटेका छन् । संसद भवन नयाँ बानेश्वरमा संसद बैठक सुरु हुनुभन्दा केही समयअघि सिंहदरवारमा नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक टुंगियो । उक्त बैठकले बरु सरकार छाड्ने तर यथास्थितिमा एमसीसी पारित नगर्ने निर्णय गर्यो । पार्टीको सोही निर्णय सुनाउन प्रचण्ड सिंहदरवारबाट सिधै बालुवाटार गए ।

गत शनिबार मात्रै एमसीसीको विरोध नगर्ने बरु एमसीसी पारित हुने दिन माओवादी संसदमा अनुपस्थित रहेर सहयोग पुर्याउने बचन दिएका प्रचण्ड एकाएक आफ्नो प्रतिबद्धताबाट ब्याक भएपछि बुधबारका लागि संसदमा एमसीसी टेबुल गर्ने कामबाट प्रधानमन्त्री शेरबहादुर देउवा पछि हटे । यसबाट प्रष्ट हुन्छ कि देउवालाई एमसीसी पारित गराउन अमेरिकाले जुन तहको दवाव दिएको छ, त्यही तहको दवाव प्रचण्डले एमसीसी पारित हुन नदिन पाइरहेका छन् । नेपाली कांग्रेसले भने अबको दुई दिन एमसीसी पारित गराउन सहमति कायम गरी ६ गतेको संसद बैठकमा पेश गर्ने तयारी गरेको छ ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीचको लामो छलफलपछि बनिसकेको सहमति समेत टुटेको अवस्थामा अबको दुई दिनमै सहमति बन्ने संभावना भने कमजोर छ । तर सत्तारुढ दल नेपाली कांग्रेसले भने अझै आशा मारेको छैन । बडुका अनुसार अबको संसद बैठकमा कांग्रेसले संसदमा एमसीसी टेबुल गराउनेछ । सकेसम्म सहमतिमा र सहमति नबनेको अवस्थामा कांग्रेस एक्लैले सो प्रस्ताव पेश गर्नेछ । तर, सत्ता साझेदार नेकपा माओवादी केन्द्र भने संयुक्त सरकारमा एउटै दलले मात्र निर्णय गरेर नहुने त्यसमा सबैको सहमति हुनुपर्ने अडानमा छ ।

नेकपा एकीकृत समाजवादी पार्टी पनि माओवादीको लयमा लय मिलाई रहेको छ । समाजवादी पार्टी पनि सहमतिबिना एमसीसी संसदमा टेबल गर्नैै नहुने अडानमा छ । सत्ता साझेदार जनता समाजवादी पार्टी भने एमसीसीबारे बुधबारको संसदमा केही निर्णय हुने विश्वासमा थियो । अब एमसीसीको विषय थप जटिल बन्न सक्ने जसपा नेता राजकिशोर यादवको बुझाई छ । सत्तारुढ दलहरुमा एमसीसीलाई लिएर अनौठो अलमल रहेको अवस्थामा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अझै पर्ख र हेरको अवस्थामै छ ।

एमसीसीको विषयमा एमालेले अझै आफ्नो पत्ता खोलिसकेको छैन । सत्ता साझेदार माओवादीले धोका दिएपछि र एकीकृत समाजवादीले पनि पहिले सहमति त्यसपछि मात्रै एमसीसी भनेर माओवादीकै बोली बोलिरहेको अवस्थामा देउवा थप अप्ठ्यारोमा परेका छन् । बिहिबार बस्ने सत्ता गठबन्धनको निर्णायक बैठकबाट सत्ता गठबन्धन र एमसीसीको भविश्य प्रष्ट हुने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #एमसीसी, #सत्ता गठबन्धन

तपाईको कमेन्ट लेख्नुहोस्