नेपाललाई लिएर चीन र अमेरिकाबीच टकराव, अमेरिकामाथि प्रतिरोध गर्ने चीनको चेतावनी
एमसीसीमा हिंसा स्वीकार्य छैन : अमेरिकी राजदूत

काठमाडौं । एमसीसीको विषयमा नेपालका कम्युनिस्ट घटकहरुले सडक आन्दोलन तताउन थालेसँगै चीन अघोषित रुपमा त्यसको समर्थनमा उत्रिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ् अन पिङले शुक्रबार एमसीसी सम्झौताको विषयमा अमेरिकाले नेपालमाथि ‘दादागिरि गरेको आरोप लगाएका छन् । योसँगै एमसीसी सम्झौताको विषयमा दुई महाशक्ति राष्ट्र भिडन्तमा उत्रिने स्पष्ट संकेत देखिएको छ ।
शुक्रबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ् अन पिङले एमसीसी सम्झौतालाई लिएर अमेरिकाले नेपालमाथि ‘दादागिरि गरेको आरोप लगाएका छन् । झन्डै ६० अर्बको एमसीसी परियोजनालाई फेब्रुअरी २८ भित्र संसदीय अनुमोदन गराउन अमेरिकाले ‘दबाबपूर्ण कूटनीति’ दिइरहेको आरोप समेत चीनले लगाएको छ । सम्झौतालाई लिएर अमेरिकाले नेपालमा ‘जबर्जस्ती गरे त्यसको चीनले प्रतिरोध गर्ने प्रवक्ता पिङले बताएका छन् । योसँगै नेपालमा एमसीसी कार्यान्वयनको विषय विश्वका दुई महाशक्ति राष्ट्रबीच प्रतिष्ठाको लडाइँ बन्न पुगेको छ ।
नेपालको आन्तरिक विषयलाई लिएर अमेरिका र चीनको प्रतिष्ठाको विषय बनाउँदा त्यसले फाइदा नगर्ने जानकारहरु बताउँछन् । शुक्रबारको नियमित पत्रकार सम्मेलनमा पिङले ‘नेपालको आर्थिक विकास र जीवनस्तर सुधारमा हुने अन्तर्राष्ट्रिय सहकार्यलाई चीनले सधै स्वागत गर्ने बताएका छन् । उनले यस्ता परियोजनाको कदम राजनीतिक उद्देश्यले प्रेरित नभएर नेपाली नागरिकको आकांक्षामा आधारित हुनुपर्ने बताए । नियमित पत्रकार सम्मेलनमा पिङले नेपालको मित्रवत छिमेकी र विकास साझेदारको नाताले चीनले नेपाललाई उपलब्ध गराउँदै आएको सहायतालाई निरन्तरता दिने बताए ।
प्रवक्ता पिनले आफ्नो देशको हित र जनताको चाहनालाई देखाउने निर्णय गरे नेपाललाई साथ दिने समेत बताए । चीनले सी जिङपिङ राष्ट्रपति बनेपछि ल्याइएको महत्वाकांक्षी परियोजना बिआरआइलाई एमसीसीले टक्कर दिँदै आएको मान्यता राख्दै आएको छ । साथै चीन आफूले प्रभुत्व जमाउन सक्ने मुलुकहरुमा अमेरिकी सहयोगलाई निस्तेज समेत बनाउन चाहन्छ । जसले गर्दा अमेरिकी आर्थिक अनुदान परियोजनाको विकल्पमा बिआरआइमार्फत यस्ता मुलुकहरुमा ऋण प्रभाव समेत गर्न चाहन्छ । जसले गर्दा अहिले नेपाल अमेरिका र चीनको प्रत्यक्ष चासोको विषय बनेको छ ।
यस्तै, नेपालका लागि अमेरिकी राजदूत र्याडी बेरीले एमसीसीको विषयलाई लिएर खुला बहसको समर्थक रहे पनि अमेरिकाले हिंसा वा हिंसा भड्काउने किसिमका विचार नस्वीकार्ने बताए । शुक्रबार दूतावासको आधिकारिक अकाउन्टबाट एक ट्वीट गर्दै राजदूत बेरीले भनेका छन्, ‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं, एमसीसीको बिषयमा पनि हाम्रो धारणा त्यही हो।’ उनले एमसीसीबारे हिंसा भड्काउने विचारहरू स्वीकार्न नसकिने बताएका छन् । ‘आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ,’ ट्वीट सन्देशमा उनले भनेका छन्, ‘तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, विदेश, समाचार
ट्याग : #अमेरिकी राजदूत र्याडी बेरी, #एमसीसी, #चिनियाँ विदेश मन्त्रालय, #वाङ् अन पिङ
तपाईको कमेन्ट लेख्नुहोस्