रुसले युक्रेनमा सैन्य आक्रमण गरेसँगै नेपाली समस्यामा, उद्धारका लागि नेपाल सरकारसँग आग्रह
![](https://www.khojpatrika.com/wp-content/uploads/2022/02/ukrein_._nOlvHPKhl7.jpg)
काठमाडौं । रुसले युक्रेनमा आक्रमण गरेपछि त्यहाँ रहेका नेपाली जीवन मरणको अवस्थामा छन् । कति बेला आफ्नै टाउकोमाथि बम खस्ने हो कि भन्ने त्रासले सुत्न समेत सकेका छैनन् । त्यहाँको हवाई क्षेत्र अल्पकालीन रुपमा बन्द गरिएपछि उनीहरुले युक्रेन समेत छाड्न पाएका छैनन् । युक्रेन छाड्न चाहेपनि सडक मार्गमा ठूलो जाम छ । पेट्रोल पम्पमा घण्टौँ लाइन बस्नु पर्ने बाध्यता छ । यही कारण उनीहरुले युक्रेन छाड्न समेत सकेका छैनन् । जीवन मरणको दोसाँधका बीच आफू बसेको स्थानमै बस्न बाध्य छन् । आँट गर्नेहरु ठुला शहरबाट गाउँतिर जाँदै छन् ।
हरेक घण्टामा स्थिति झनै तनावग्रस्त बन्दै गएको उनीहरु बताउँछन् । युद्धग्रस्त क्षेत्रमा बस्नु परेकाले कति बेला के हुने हो भन्ने चिन्ताले उनीहरुलाई सताएको छ । टेलिफोन तथा अन्य माध्यमबाछ एक अर्कासँग सम्पर्क तथा खानपिनको जोहो गर्न कठिन अवस्था सिर्जना हुँदै गएको छ । जीवन मरण कै प्रश्न उठेपछि उनीहरु तत्काल नेपाल फर्कने उपायको खोजीमा छन् । तर, नेपाल सरकारले उनीहरुको उद्दारको सट्टा सुरक्षित स्थान बस्न आग्रह गरेर पन्छिने प्रयास गरेको छ । खर्किभ, किभसहितका विमानस्थल बन्द भइसकेकाले उनीहरु अहिले पनि नेपाल सरकारले उद्धार गर्ने आशामा छन् ।
यता जर्मनीमा रहेको नेपाली दूतावासले युक्रेन र रुसबीच विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राखेर संयमता अपनाएर आफू बसेको घरभित्रै सुरक्षित बस्न आग्रह गरेको छ । ती क्षेत्रबाट तत्काल उद्धार गर्नसक्ने अवस्था नदेखिएपछि नेपाल सरकारले यस्तो आग्रह गर्नु परेको हो । राष्ट्रिय समन्वयन परिषद युक्रेनका अध्यक्ष हरि मल्लले युक्रेनको अवस्था निकै तनावपूर्ण बन्दै गएकोले सबैलाई सुरक्षित रहन आग्रह गर्दै आएको जानकारी दिएका छन् ।
युक्रेनभरी झण्डै दुई सय नेपाली रहेको आधिकारिक विवरण छ । तीमध्ये ७ जना पूर्वी युक्रेनमा छन् । अहिलेसम्म १ सय ५० नेपाली सम्पर्कमा आएका छन् । रुसले युक्रेनमाथि गरेको आक्रमणमा हालसम्म १ सय ३७ जना सर्वसाधारण तथा सैनिक जवानको मृत्यु भइसकेको छ । आक्रमणको निशानामा युक्रेनको राजधानी किभ समेत परेकाले राजधानी छोड्न चाहनेको संख्या पछिल्लो समय निकै बढेको छ । आक्रमण शुरु भएकै दिन बिहिबार १ लाखभन्दा बढी नागरिकले राजधानी किभ छोडेको संयुक्त राष्ट्र संघले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विदेश, समाचार
ट्याग : #रुसले युक्रेन
तपाईको कमेन्ट लेख्नुहोस्