Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

प्रधानमन्त्री देउवाको चतुर्याई, ओलीसँगको पटक–पटकको संवादले प्रचण्ड माधवको युटर्न


काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी आफ्नो अडानबाट युटर्न भएसँगै सत्तारुढ गठबन्धन फुटबाट जोगिएको मात्रै छैन, एमसीसी सम्झौता संसदबाट पारित समेत हुने भएको छ । संशोधन बीना कुुनै पनि हालतमा एमसीसीलाई संसदबाट पारित नगराउने अडानमा रहेका ती दुई दल आफ्नो राजनीतिक भविष्य कै खातिर व्याख्यात्मक घोषणासहित एमसीसीको पक्षमा उभिने निर्णयमा पुगे । अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीसँग नेपालले गरेको सम्झौताले पछिल्लो समय देशको राजनीतिलाई निकै अस्थिर बनाएको छ ।

एमसीसीलाई अमेरिकाको हिन्द प्रशान्त सैन्य रणनीतिको अंग मान्ने राजनीतिक दल तथा विज्ञहरुका कारण यो सम्झौता निकै गिजोलिँदै गयो । कुनै बेला सरकारमा रहेर यो सम्झौता अघि बढाउन सहमति जनाएका नेकपा माओवादी केन्द्रसँगै नेकपा एमालेसँग विभाजित भएर बनेको एकीकृत समाजवादीले संशोधन बीना कुनै पनि हालतमा एमसीसीलाई संसदबाट पारित नगर्ने अडान राख्दै आएका थिए । यही सम्झौताका कारण पाँच दलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा अनौपचारिक रुपमा गठबन्धनबाट बाहिरिसकेको छ ।

सरकारमा समेत रहेका माओवादी केन्द्र र एकीकृत समाजवादी समेत एमसीसीको विरोध गर्दै सत्ताबाट बाहिरिने अनुमान गरिएकै बेला ती दुई पार्टी आफ्नो निर्णयबाट यु टर्न भएका छन् । एमसीसीलाई व्याख्यात्मक टिप्पणी सहित पारित गर्न ती दल सहमत भएका छन् । प्रतिनिधि सभामा मतदानको प्रक्रियामा जाँदा एमसीसीविरुद्ध मत हाल्ने बताएर प्रधानमन्त्री शेरबहादुर देउवालाई केही समयका लागि एमसीसी पारित गर्ने विषयबाट टाढा राख्न सकिने माओवादी केन्द्र र एकीकृत समाजवादीको योजना नै उनीहरुलाई भारी बन्दै गयो । ती दलको चेतावनीसँगै प्रधानमन्त्री देउवाले एमसीसीका विषयमा कुनै पनि औपचारिक धारणा नबनाएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्यका लागि हात बढाएका थिए ।

यही कारण बितेको एक सातामा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पाँच पटक भेटघाट गरे । यो अवधिमा गठबन्धनबाट बाहिरिएको खण्डमा प्रधानमन्त्री देउवालाई साथ दिन सकिने धारणा एमालेले बनाएको थियो । माओवादी केन्द्र र एकीकृत समाजवादीको अडान कायम रहेको खण्डमा एमालेसँग सहकार्य गर्न देउवा समेत तयार बनिसकेका थिए । तर, वर्तमान सत्ता गठबन्धन कायम रहनु पर्ने धारणा राख्ने कांग्रेसका केही नेताको सक्रियताका कारण ती दल अहिले व्याख्यात्मक टिप्पणीका साथ एमसीसी सम्झौता पारित गराउन राजि भएका छन् ।

कांग्रेस महामन्त्री गगन थापाले राखेको व्याख्यात्मक टिप्पणीको प्रस्तावलाई एक साता अघि अस्वीकार गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अहिले त्यही प्रस्तावलाई स्वीकारेर राजनीतिक भविष्य सुरक्षित बनाउने बाटोमा हिँडेका छन् । हुनत संगठनात्मक रुपमा कमजोर रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीलाई नेपाली राजनीतिमा खुट्टा जमाइराख्ने हो भने तत्काल ठूलो दलको साथ अपरिहार्य छ । यो कुरा प्रचण्ड र माधव नेपालले समेत राम्रोसँग बुझेका छन् । कांग्रेस एमालेको सहकार्य भएको खण्डमा आफ्नो पार्टी कै अस्तित्व संकटमा पर्ने भयका कारण उनीहरुले एमसीसीका विषयमा सकारात्मक बनेर दुई कदम पछाडि हट्ने निर्णय गरेका हुन् ।

अस्तित्व रक्षा कै लागि कुनै पनि हातमा कांग्रेस र एमालेको सहकार्य रोक्नु पर्ने बाध्यतामा रहेका प्रचण्ड र नेपालले सुरुमा अस्वीकार गरेको व्याख्यात्मक टिप्पणीलाई फेस सेभिङको राम्रो उपाय मान्दै गठबन्धन जोगाउन सफल भएका छन् । साथै आगामी तीनै तहको निर्वाचनसम्म सहकार्य गर्न कांग्रेसलाई मनाउन समेत सफल भएको समेत बताइएको छ भने एमसीसी सम्झौता संसदबाट पारित गराउने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको राजनीतिक चतुरताले फेरि एक पटक काम गरेको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #एमसीसी, #राजनीतिक भविष्य, #सत्तारुढ गठबन्धन

तपाईको कमेन्ट लेख्नुहोस्