Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

एमसीसी पारितपछि बिप्लवको दौडधुप, एमसीसी बिरोधीलाई भेट्न घर–घरमा


काठमाडौं । संसदबाट एमसीसी ब्याख्यात्मक टिप्पणी सहित पारित भएपछि नेकपाका महासचिव नेत्रविक्रम चन्द बिप्लवको सक्रियता बढेको छ । एमसीसीको बिरोधमा सडक आन्दोलन गरिरहेको नेकपाका महासचिव बिप्लव संसदबाट एमसीसी पारित भएपछि सञ्चार माध्यमदेखि नेताहरुको घरदैलोमा पुगिरहेका छन् । बिप्लवले संसदमा एमसीसीको चर्को बिरोध गर्ने नेताहरुको घर–घरमा पुगेर साथ खोजिरहेका छन् । बिप्लव पछिल्लो पटक नेकपा एमालेका नेता भीम रावलसँग भेटवार्ता गरेका छन् । एमाले नेता रावललाई भेट्न चन्द र नेता खड्गबहादुर विश्वकर्मा टोखास्थित रावल निवास पुगेका थिए ।

एमसीसी अनुदान सम्झौता अनुमोदनको विरोधमा रहेका राजनीतिक दलहरूबीच पछिल्लो समय ध्रुवीकरणको प्रयास भएको छ । आइतबार प्रतिनिधिसभाबाट अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन्ससँग एमसीसी अनुदान सम्झौता पारित भएको थियो । त्यसपछि चन्द नेतृत्वको नेकपा, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाललगायतका पार्टीले आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेका थिए । रावलसँगको छलफलमा देशभक्त, राष्ट्रवादी र स्वाधिनताका पक्षधरहरु एकीकृत र ध्रुवीकृत हुने कुरा भएको विश्वकर्माले जानकारी दिए ।

विप्लवले भेटको सुरूवात एमसीसी प्रकरणमा असन्तुष्ट रहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबाट गरेका थिए । पार्टी विभाजनका लागि समेत तयार हुने भनेर माओवादीभित्र छुट्टै छलफल श्रेष्ठले चलाईरहेका बेला विप्लवले उनलाई भेटेर पार्टी एकताको प्रस्ताव राखेको बताइएको छ ।

पार्टीमा अन्तरसंघर्ष चर्किरहेका बेला विप्लवसँग श्रेष्ठको अंकमालले माओवादीका धेरै नेतालाई झस्काएको छ । यसअघि श्रेष्ठको असन्तुष्टिमा खासै ‘सिरियस’ नदेखिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वर्षमान पुनलगायतका नेताहरू हात्तीवनमा श्रेष्ठलाई भेट्न पुगेका छन्। विप्लवले बुधबार नै श्रेष्ठपछि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे र प्रेम सुवालसँग भेट गरेका थिए ।


त्यस्तै एमसीसी पास भएपछि तीब्र असन्तुष्टि भएका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग पनि बिप्लवले भेटघाट गरेका छन् । एमसीसी खारेज गर्न एकताबद्ध भएर आन्दोलन गर्नुपर्ने प्रस्ताव विप्लवले खनालसँग राखेका छन् ।

एमसीसी पारित हुनुअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेका थिए । त्यतिबेला एमसीसी पास गर्न नहुने अडानमा प्रचण्ड थिए । प्रचण्डले बिप्लवलाई पार्टी एकताको प्रस्ताव समेत राखेका थिए । तर, बिप्लवले सम्भव नभएको प्रतिक्रिया दिएका थिए ।

लामो समय भुमिगत राजनीति गरिरहेका विप्लवले धेरै नेता कार्यकर्तालाई सरकारले पक्राउ गरेपछि २०७७ फागुनमा तत्कालीन केपी शर्मा ओली सरकारसँग तीन बुँदे सहमति गरेर सार्वजनिक भएका थिए । त्यसपछि उनको पार्टीमाथि लगाएको प्रतिबन्ध सरकारले हटाइदिएको थियो । सम्झौतापछि पनि मुलधारको राजनीतिमा आफूलाई उभ्याउन सकेका थिएनन् । तर, एमसीसीलाई नै लिएर बिप्लव एमसीसी बिरोधी नेताहरुको साथ लिएर आन्दोलन गर्न मोर्चा बनाउने कोशिसमा लागेको बताइएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #नारायणकाजी श्रेष्ठ, #नेत्रविक्रम चन्द बिप्लव, #भीम रावल

तपाईको कमेन्ट लेख्नुहोस्