Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

जवरामाथि लगाइएको महाभिआयोग प्रस्ताव अघि बढ्यो,एमालेले देला त साथ


काठमाडौं । संसदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव अघि बढाएको छ । प्रतिनिधिसभाको आइतबार बसेको बैठकले ११ सदस्यीय महाअभियोग सिफारिस समिति बनाएर प्रक्रिया अघि बढाएको हो । नेकपा एमालेका चार जना, नेपाली कांग्रेस र माओवादी केन्द्रका दुई–दुई जना तथा नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एक–एक जना सांसद समितिमा रहेका छन् ।

एमालेका विष्णु पौडेल, शिवमाया ताम्बाहाङफे, कृष्णभक्त पोखरेल र लालबाबु पण्डित, कांग्रेसका मीनबहादुर विश्वकर्मा र रामबहादुर विष्ट, माओवादी केन्द्रकी यशोदा सुवेदी गुरुङ र रेखा शर्मा, एकीकृत समाजवादीकी कल्याणी खड्का, जसपाका प्रमोद साह र लोसपाका एकवाल मिया छन् । प्रतिनिधिसभा नियमावली २०७५ अनुसार यो सिफारिस समितिले आफूमध्येबाट सभापति चयन गर्नुपर्छ र यथाशीघ्र कारबाही प्रक्रिया अघि बढाउनुपर्छ ।

सत्तारुढ गठबन्धनका ९८ सांसदले १ फागुनमा जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । महाअभियोग प्रस्तावमा जबरामाथि न्यायलिकाको जगेर्ना गर्न अक्षम रहेको, अदालतमा भ्रष्टाचार र विचौलियाले प्रवेश पाएको, संवैधानिक जिम्मेवारीको दुरुपयोग गरेको लगायतका २१ वटा आरोप लगाइएको छ ।

महाअभियोग सिफारिस समितिले कारबाही थालेपछि सात दिनभित्र जबरालाई आफूमाथि लागेको आरोपमा सफाइ पेश गर्ने मौका दिन पाउने नियमावलीमा ब्यवस्था गरेको छ । उनले पेश गरेको सफाइ सन्तोषजनक नभए वा तोकिएको समयमा आफैं उपस्थित भई सफाइ नदिएमा समितिले आफ्नो सिफारिससहित प्रतिवेदन संसदमा पेश गर्नेछ ।

समितिले काम थालेको बढीमा ३ महिनाभित्र सिफारिससहितको प्रतिवेदन पेश गरिसक्नुपर्ने छ । सिफारिस समितिले महाअभियोग प्रमाणित हुन्छ भन्ने ठहरका साथ प्रतिवेदन पेश गरेमा र संसदले दुई तिहाइ मतबाट पारित गरेमा जबरा पदमुक्त हुनेछन् । नभए उनी सर्बोच्चमा फर्किने छन् ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #प्रतिनिधिसभा, #महाअभियोग प्रस्ताव

तपाईको कमेन्ट लेख्नुहोस्