प्लटिङ किङ पुष्प, जसले गोदावरी नगरपालिकादेखि मालपोत नापीसम्म हल्लाउछन !
सम्याउने अनुमति लिएर प्लटिङ गर्न पुष्प कसरी गर्छन सेटिङ ?

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका ११ स्थित बज्रबाराहीमा यतिबेला खेतीयोग्य जमिन प्लटिङ भइरहेको छ । गोदावरी नगरपालिकाबाट केही मिटरको दुरीमा रहेको यो जग्गामा यतिबेला धमाधम बस्ती विकासको काम चलिरहेको हो । यहाँ ४२ रोपनीमा घडेरी विकासको काम भइरहेपनि जम्मा ८ रोपनी ५ आना जग्गा मात्रै सम्याउने प्रयोजनका लागि गोदावरी नगरपालिकाबाट अनुमति लिइएको छ । अनुमति भन्दा बढी क्षेत्रफलमा काम नगर्न भन्दै दिएको कित्ता नम्बर सहितको अनुमति यस्तो छ ।
सरकारले खेतीयोग्य जमिनको खण्डिकरण रोक्न भन्दै कित्ताकाट रोकेको छ । तर, यो जग्गा उर्बर भएपनि प्लटिङ किङको उपमा पाएका ललितपुरका पुष्पराज काफ्लेको आर्थिक प्रलोभनमा परेका जनप्रतिनिधि र प्रशासकहरुले देखे नदेखे झै गरिरहेका छन् । आखिर अनुमति भन्दा बढी जग्गामा घडेरी विकास भइरहेको केही सय मिटरको दूरीमा रहेको नगरपलिकाले देखेर पनि नदेखेझै गर्नु आफैमा आश्चार्य छ ।
माघ १ गतेदेखि गोदावरी नगरपालिकाले नयाँ घडेरी विकास वा सम्याउने अनुमति दिन बन्द गरेको छ । नयाँ प्रमुख प्रशासकीय प्रमुखका रुपमा प्रवीण कोइराला आएपछि जथाभावी रुपमा भइरहेको प्लटिङलाई व्यवस्थित गर्न रोक लगाएको बताएपनि नगरपालिका आडैमा अनुमति भने उनै प्रशासकिय अधिकृतले मंसिर ८ गते दिएका छन् । पुस्पराज काफ्लेका नाममा निवेदन दिइएको छ भने उनकै नाममा सम्याउने प्रयोजनका लागि मात्रै भन्ने सर्तनामा गराएर पत्र दिइएको छ । तर, धमाधम भइरहेको प्लटिङ स्थलको फोटो र कित्ताकाट गरिएको नक्सा राख्दै ४२ रोपनीमा फैलिएको आकर्ष घडेरीका टुक्राहरु धमाधम विक्रीमा भन्दै विज्ञापन सामाजिक सञ्जालमा राखिएको छ ।
जग्गा सम्याउने अनुमति लिएर धमाधम प्लटिङ गर्न कहाँबाट अनुमति पाए त्यहि प्रश्न सबैले सोधिरहेका छन् । प्लटिङ किङ पुष्पले ललितपुर महानगरपालिका वडा नम्बर २८ का जनप्रतिनिधिदेखि मालपोत नापी सबैको सेटिङमा खेतीयोग्य जमिनमा घडेरी विकास गरिरहेका छन् । उनले प्लटिङ गर्न एक जनप्रतिनिधिलाई मात्रै पाँच आना भन्दा बढी जग्गा छुट्याएको चर्चा ललितपुरमा चलिरहेको छ ।
अझ कित्ताकाट गर्दा मालपोत र नापीका कर्मचारीले पनि राम्रै कमाइ गरेका छन् । खुलेआम नगरपालिकाको छेउमै घडेरी विक्रीका लागि बिज्ञापन गरिएको छ । कित्ताकाट गर्न कतैबाट पनि अनुमति लिइएको छैन । सम्याउन लिएको पत्रले ४२ रोपनी जग्गा कसरी कित्ताकाट भयो भन्ने जवाफ कुनै जनप्रतिनिधिसँग छैन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #खेतीयोग्य जमिन, #प्लटिङ, #प्लटिङ किङ
तपाईको कमेन्ट लेख्नुहोस्