Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

निर्वाचन आचारसंहितामा के के छ ब्यवस्था, के गर्न पाइन्छ के गर्न पाइदैन, यस्ता छन् बुँदा


काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित बनाउन आचारसंहिता शुक्रबारदेखि लागू भएको छ । निर्वाचनका लागि सबै राजनीतिक दल र सरोकारवालाको सुझाव तथा परामर्शमा स्वीकृत गरिएको निर्वाचन आचारसंहिता, २०७८ कार्यान्वयन नगरे कारवाही समेत हुने निर्वाचन आयोगले जनाएको छ ।
के–के छन् त आचारसंहितामा उल्लेखित बुँदा
–सार्वजनिक स्थलमा जुलुस, आमसभा, भेला गर्न ७२ घन्टाअघि नै स्थानीय प्रशासनसँग अनुमति लिनुपर्ने । एकभन्दा बढी दलले एकै स्थानमा एकै समयमा यस्ता कार्यक्रम गर्न नपाउने ।
–सार्वजनिक स्थानमा दलको झन्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न नपाइने ।
–चुनावी प्रचारप्रसार बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाउने ।
–७५ ग्रामसम्मको कागजमा तीन सय वर्गइन्चसम्मको एउटै रङ र मुद्रकको नामसहितको पर्चा मात्र प्रयोग गर्न पाउने ।
–उम्मेदवारको कार्यालयमा कपडामा बनाइएको तीन फिट लम्बाइ र तीन फिट चौडाइ भएको दलको झन्डा र चुनाव चिह्नबाहेक प्रचारका कुनै श्रव्य–दृश्य सामग्री प्रदर्शन गर्न नपाउने ।
–दल वा उम्मेदवारले २५ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्ने ।
–सरकारी कार्यालय, सामुदायिक विश्वविद्यालय वा विद्यालय क्षेत्रमा निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार नहुने
–दल वा उम्मेदवारको चुनाव चिह्नअंकित ज्याकेट, कमिज, भेस्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन, स्टिकर, लोगो, झोला, ब्याच, ट्याटुजस्ता सांकेतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री–वितरण वा प्रदर्शन गर्न नहुने
–स्वीकृति नलिई निजी वा संस्थागत स्वामित्वको घरजग्गामा राजनीतिक गतिविधि वा प्रचारप्रसार गर्न नहुने
– १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई सहभागी गराउन नपाउने
–सार्वजनिक आवागमनमा अवरोध हुने गरी जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी प्रचारप्रसार गर्न नहुने
–सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न नहुने, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, द्वेषपूर्ण भाषणजस्ता भ्रामक टीकाटिप्पणी गर्न नहुने
–चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानि हुने वा यस्तै प्रकृतिका सामग्री उत्पादन गर्न तथा प्रकाशन वा प्रसारण गर्न नहुने
–मनोनयन दर्ता भएको मितिदेखि मतपरिणाम घोषणा नभएसम्म उम्मेदवार वा दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न र सर्वेक्षणको परिणाम घोषणा गर्न नहुने
–निर्वाचनलाई प्रभाव पार्ने गरी कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचारप्रसार गर्न, विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री सेयर गर्न नहुने
–मतदाता र मतदानमा खटिएका कुनै पनि कर्मचारीसँग वादविवाद गर्न तथा उनीहरूलाई हतोत्साहित गर्ने कुनै पनि कार्य गर्न नहुने


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #निर्वाचन आचारसंहिता, #स्थानीय तह निर्वाचन

तपाईको कमेन्ट लेख्नुहोस्