Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

मत बदर हुन नदिन मतदान गर्दा यी कुरामा ध्यान दिऔँ


काठमाडौं । देशभर स्थानीय तहको चुनावको रौनक बढेपनि मतदातामा भने कसरी मतदान गर्ने भन्ने अन्योल छ । मतदाता शिक्षा प्रभावकारी नहुँदा मत बदर हुने जोखिम कायमै छ । यसपटक एक करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता छन् । ६० प्रतिशत मत खसे पनि पाँच प्रतिशत बदर हुनसक्ने आकलन निर्वाचन आयोगले गरेको छ ।सरदरमा पाँच प्रतिशत मत बदर हुने आयोगको अनुभव रहेपनि मतदाता शिक्षा गाउँमा पुगेको छैन् ।

मतपत्रमा धेरै चिह्न भएकाले मतदाता अलमल हुने जोखिम उत्तिकै छ । पहिलो पटक मतदानमा भाग लिनेहरुलाई अझ धेरै अलमल छ । मत माग्न दलहरू घरघरमा पुगेका छन् । तर, निर्वाचन आयोगले यस पटक घरदैलोमा पुगेर मतदाता शिक्षा सञ्चालन गरेको छैन ।

यो चुनावमा गठबन्धन गरेका दलहरुका साझा उम्मेदवार छन् । त्यसमा झुक्किन सक्ने अवस्था छ । चुनाव चिह्नको कोठाबाहिर स्वस्तिक छाप लगाए मत बदर हुन्छ । दुईवटा चिह्नकोबीचमा छाप लगाए, औँठाछाप, नबुझिने गरी लतपल मत सङ्केत, मतदान अधिकृतको सही नभएको मतपत्र प्रयोग गरे पनि बदर हुनेछ ।
कसरी गर्ने त सही तरिकाले मतदान ?
निर्वाचन आयोगका अनुसार पालिका चुनावमा एक जना मतदाताले मतपत्रको सातवटा चुनाव चिह्नमा मतदान गर्नुपर्छ । त्यसमा पहिलो ठाडो लहरमा प्रमुख वा अध्यक्ष पदको उम्मेदवारको चुनाव चिह्नमध्ये एउटामा, दोस्रो ठाडो लहरमा उपप्रमुख वा उपाध्यक्ष पदको उम्मेदवारको चिह्नहरूमध्ये एउटामा, तेस्रो ठाडो लहरमा वडाअध्यक्ष पदको उम्मेदवारको चिह्नमध्ये एउटा चिह्नमा, चौथो ठाडो लहरमा महिला सदस्य पदको उम्मेदवारको एउटा चिह्नमा, पाँचौँ ठाडो लहरमा दलित महिला सदस्य पदको उम्मेदवारको चिह्नमध्ये एउटा चिह्नमा मत दिनुपर्छ।

त्यस्तै छैटौँ र सातौँ ठाडो लहरमा रहेका दुई सदस्य पदका उम्मेदवारको चुनाव चिह्नहरू मध्ये कुनै दुई चिह्नमा छुट्टा–छुट्टै छाप लगाइ मतदान गर्नुपर्छ । यसरी हरेक पदका लागि आफूले रोजेको सात जना उम्मेदवारको चिह्न रहेको कोठाभित्र पर्ने गरी स्वस्तिक छाप लगाइ मत सङ्केत गर्न सकिने आयोगले जनाएको छ । मतपत्रमा मत सङ्केत गरेपछि मतपत्रलाई राम्ररी पट्याएर मत पेटिकामा खसाले बदर नहुने आयोगले जनाएको छ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #कसरी मतदान गर्ने, #मतदाता शिक्षा, #साझा उम्मेदवार

तपाईको कमेन्ट लेख्नुहोस्