Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

रुकुम पश्चिममा कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा माओवादी कार्यकर्ताले गरे आगजनी


काठमाडौं । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले नेपाली कांग्रेसका कार्यकर्ताको मोटरसाइकलमा आगजनी गरेका छन्। मित्रवत प्रतिस्पर्धा गर्ने लिखित सहमतिमा गरिएको हस्ताक्षर भएको २४ घण्टा बित्न नपाउँदै सोमबार दिउँसो आठविसकोट नगरपालिका वडा नम्बर १० घारीखोलामा माओवादीका कार्यकर्ताले कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनीसँगै अरु सवारी साधनमा तोडफोड गरेका हुन् ।

माओवादी केन्द्रको चुनावी घरदैलो कार्यक्रम भइरहेका बेला कांग्रेस र माओवादी कार्यकर्ताबीच आमनेसामने भएका थिए । घरदैलोका क्रममा आमनेसामने भएपछि कांग्रेसका कार्यकर्ताहरु आफूले प्रयोग गरेका मोटरसाइकल तथा जिप छोडेर भागेका थिए। उनीहरु भागेपछि माओवादी कार्यकर्ताले ती सवारी साधनमा आगजनी गरेका हुन्। घटनामा कांग्रेस कार्यकर्ताले प्रयोग गरेको भे ८ प ३६२० नम्बरको मोटरसाइकलमा आगो लगाइएको छ। आगजनीबाट उक्त मोटरसाइकल पूर्ण रुपमा क्षति भएको छ ।

यस्तै भे ७ प ३०६५ नम्बरको मोटरसाइकल माओवादी कार्यकर्ताले सडकबाट खसालिदिएका छन्। रा ४ प १८७० नम्बरको मोटरसाइकलको लुकिङ ग्लास फुटाइदिएका छन्। सोही स्थानमा कांग्रेस कार्यकर्ताले छोडेर भागेको लु १ ज २६६८ नम्बरको जिपको सबै सिसाहरु फुटालिदिएका छन्। यसअघि नेकपा माओवादी कार्यकर्ताले गरेको आक्रमणका कारण रुकुम पश्चिममा मात्रै दुई दर्जनभन्दा बढी कांग्रेस कार्यकर्ता घाईते भएका छन् ।

झडपले नकारात्मक सन्देश गएको र मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने भन्दै संयुक्त अपिल जारी भएको २४ घण्टा नबित्दै दुई पार्टीबीच पुनः झडप भएको हो । आइतबार मात्रै दुवै दलले झडप नगर्ने, आ–आफ्ना कार्यक्रमहरु सञ्चालन गर्दा उत्तेजक भाषण गर्ने, एक वडाका कार्यकर्ता अर्को वडामा नबोलाउने, नजाने र निर्वाचनलाई शान्तिपूर्ण बनाउने भन्दै अपिल जारी गरेका थिए । कांग्रेस सभापति प्रेमप्रकाश ओली र माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोकाले सयुंक्त रूपमा अपिल जारी गरेको २४ घण्टा बित्न नपाउँदै दुवै पक्षका कार्यकर्ता झडपमा उत्रिएका हुन् ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #आठबीसकोट नगरपालिका, #नेपाली कांग्रेस, #रुकुम पश्चिम

तपाईको कमेन्ट लेख्नुहोस्