Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

एमालेले भन्यो सत्ता गठबन्धनले धाधली गर्यो, १७ ठाउँमा बुथ कब्जा गरेको आरोप


काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा योजनाबद्ध धाँधली भएको आरोप लगाएको छ । एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै जसरी पनि निर्वाचन जित्न सत्ता गठबन्धनले धाँधलीको साहरा लिएको आरोप लगाएका हुन् । एमालेले आचारसहिंता सच्याउन गरेको आग्रहलाई बेवास्ता गरिएको, निर्वाचन अगाडि गृह प्रशासनको दुरुपयोग गरिएको, मतदानको दिन दर्जनौ स्थानमा बुथ कब्जा गरिएको तथा मतगणनामा पनि धाँधली भएको आरोप लगाएको छ ।

मोर्चाबन्दीले नपुगेर धाँधलीमा उत्रेको, योजनाबद्ध धाँधलीलाई सत्ता गठबन्धनले निरन्तरता दिइरहेको एमालेको जिकिर छ । उसले यस्तो कार्य रोक्न सरकारसँग माग गरेको छ । विज्ञप्तिमा निर्वाचन परिणामलाई सत्ता गठबन्धनको पक्षमा पार्नका लागि दोलखाको बैतेश्वर, तामाकोशी, सिन्धुपाल्चोकको मेलम्ची, सिन्धुलीको सुनकोशी, काभे्रको पाँचखाल, बाराको पचरौता, अछामको साफेबगर, पञ्चदेवल बिनायक, मंगलसेन, बझाङको छबिसपाथिभेरा, सर्लाहीको धनकौल, बलरा, रामनगर, बागमती, बरहथवा, रौतहटको करुनिया लगायत दर्जनौं स्थानमा बुथकब्जा गर्ने कार्य भएको आरोप लगाइएको छ ।

त्यस्तै, उदयपुरको त्रियुुगा नगरपालिका वडा नं. १२ मा साँझ ५ बजेपछि मतदान केन्द्रमा प्रवेश नगरेको मतदातालाई घरघरबाट ल्याई कानुनविपरीत मतदान गराउन खोज्दा प्रतिवाद भएपछि मतगणना नै नगरी रोकी राखिएको एमालेको आरोप छ । प्रहरीलाई मतदान स्थल छाडेर भगाउने, कर्मचारीलाई समेत मुचुुल्का नगरी मतदान स्थल छाड्न निर्देशन दिने गरी गृह प्रशासनको चरम दुरुपयोग भइरहेको एमालेको जिकिर छ । त्यस्तै पहिलो घेराको सुरक्षा गर्ने जिम्मा पाएको नेपाल प्रहरी हिँडेपछि सेनाको सुरक्षा घेरामा मुचुल्का सम्पन्न गरेकोमा निर्वाचन रोक्न सत्ता गठबन्धनले बाजुराको बुढीगंगा, बुढीनन्दा र खप्तडा छेडाछारमा नांगो नाच देखाएको एमालेले जनाएको छ ।

एमालेले निर्वाचनको दिन मतदान सुरु हुनेक्रममा बनाएको मुचुल्कामा हस्ताक्षर गराउँदा मतदान सम्पन्नको मुचुल्कामा समेत एकै पटक हस्ताक्षर गराई धाँधली गर्ने कार्य गरिएको भन्दै निर्वाचनमा कर्मचारी खटाउँदा नेपालगञ्ज महानगर लगायतका केही स्थानमा पूर्व तयारीसाथ प्रहरीदेखि अन्य कर्मचारीसमेत गठबन्धनको पक्षधरलाई राख्ने जस्ता कार्य भएको जनाएको छ । एमालेले स्वच्छ निर्वाचन गर्न केही स्थानमा पुनः मतदानको माग समेत गरेको छ । मतगणना गर्दा सत्तापक्षले गरेको पुनः मतगणनाको मागलाई तत्कालै स्वीकार गर्ने र नेकपा (एमाले) ले गरेको मागलाई बेवास्ता गर्ने कार्य भएको पनि एमालेको दाबी छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेकपा एमाले, #शंकर पोखरेल

तपाईको कमेन्ट लेख्नुहोस्