Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

नीति तथा कार्यक्रममा छलफल भन्दा चुनावी परिणामको कुण्ठा पोख्ने ठाउँ बन्यो संसद


काठमाडौं । प्रतिनिधिसभा बैठकमा शुक्रबार पनि आगामी आर्थिक वर्षका लागि सरकारको तर्फबाट नीति तथा कार्यक्रमको छलफल भयो । छलफलका क्रममा सत्ता गठबन्धनका सांसदहरुले नीति तथा कार्यक्रमको समर्थन गरे भने एमाले, लोसपा र राप्रपाका सांसदहरुले आलोचना गरेका छन् । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नीति तथा कार्यक्रम राम्रो भए पनि कार्यान्वयनमा चुनौती रहेको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको तर्फबाट नीति तथा कार्यक्रमको छलफलका क्रममा उहाँले नीति तथा कार्यक्रम राम्रो भए पनि कार्यान्वयनमा चुनौती रहने गरेकाले त्यसलाई मजबुत बनाएर लागिपर्न आग्रह गरे । मानव सूचकाङ्कका आधारमा नीति तथा कार्यक्रम ल्याएको भन्दै उनले जनसङ्ख्याका आधारमा पनि मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै उनले सरकारले अगाडि सारेको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, जलविद्युत् उद्योगलगायतका विषयलाई प्राथमिकतामा राखिएको बताए । लामो अध्ययनपछि अगाडि बढाइएको निजगढ विमानस्थल अगाडि बढाइएको भए पनि त्यसलाई रोकिएको प्रति नेपालले असन्तुष्ट व्यक्त गरे ।

त्यस्तै एमाले वरिष्ठ उपाध्यक्षत सांसद ईश्वर पोखरेलले सरकारले तटस्थ परराष्ट्र नीति सञ्चालन गर्न नसकेको आरोप लगाए । अघिल्लो सरकारको नीति तथा कार्यक्रमलाई समेत वर्तमान सरकारले समेटेको उनको भनाइ छ । कांग्रेसका सांसद डा मिनेन्द्रप्रसाद रिजालले एमालेले अहिले आएर हार स्वीकार गर्न नसकेर गलत प्रचार गरेको बताए । लोकप्रिय मतका आधारमा पनि कांग्रेस माथि नै रहेको रिजालले बताए । उनले वर्तमान सरकारले राखेका कार्यक्रम निकै उत्कृष्ट रहको उल्लेख गरे ।

नेकपा (माओवादी केन्द्र) का सांसद ओनसरी घर्तीले सरकारको नीति तथा कार्यक्रमले आधारभूत रुपमा सही मार्ग डोहो¥याएको उल्लेख गरिन् । मुलुकको आर्थिक समस्याको समाधान, गरिबी निवारणमा ध्यान दिइनु, कृषि तथा उद्योग क्षेत्रमा प्राथमिकता दिनु सकारात्मक रहेको उनको भनाई छ ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले कर्मकाण्डी नीति तथा कार्यक्रम ल्याउने र घन्टौं छलफल गर्ने परम्पराको विरोध गरे । नेता महतोले पञ्च वर्षीय योजना सुरु गर्दाको नेपालको अवस्था र अहिलेको समय तुलना गर्न आग्रह गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले तीन करोड पनि जनसंख्या नभएको देशका लाखौं युवा विदेशमा जानु विडम्बनापूर्ण भएको टिप्पणी गरे । प्रधानमन्त्रीले आफ्नो गृह जिल्लामा मेडिकल कलेज स्थापना गर्ने विषय नीति तथा कार्यक्रममा पारेको भन्दै व्यंग्य पनि गरेका छन् ।

शुक्रबारको बैठकमा एमाले बाहेकका अधिकांश सांसदहरुले अघिल्लो दिन एमाले अध्यक्ष केपी ओलीले दिएको धारणाको खण्डन गरेका थिए । विहिबार ३ घण्टा सम्बोधन गरेका ओलीले गठबन्धन, सरकार र नीति तथा कार्यक्रमको आलोचना गरेकोप्रति अन्य दलका सांसदहरुले तीब्र असन्तुष्टी व्यक्त गरेका छन् ।


क्याटेगोरी : अर्थ, जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #कुण्ठा पोख्ने ठाउँ, #प्रतिनिधिसभा, #संसद

तपाईको कमेन्ट लेख्नुहोस्