नेकपा एसले मन्त्रीलाई बोलायो फिर्ता,नयाँ मन्त्रीहरुको नाम देउवालाई बुझाइयो

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएर नयाँलाई मौका दिएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा अहिले रहेका ४ जनालाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउने निर्णय गरेको हो । अब प्रक्रिया पूरा गरेर नयाँ मन्त्रीहरुले जिम्मेवारी सम्हाल्नेछन् । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले आइतबार सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको हो ।
सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई फिर्ता गराउने निर्णय गरसँगै केही मन्त्रीहरुको यात्रा टुङ्गिएको छ । पार्टीले कानुनमन्त्री रहेका गोविन्द शर्मा बन्दीबाहेक अन्यलाई फिर्ता बोलाउने निर्णय गरेको हो । एकीकृत समाजवादीले संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रीबाट प्रेमबहादुर आले, स्वास्थ्य तथा जनसंख्या मन्त्रीबाट विरोध खतिवडा, सहरी विकासमन्त्रीबाट रामकुमारी झाँक्री र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीबाट कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको हो ।
उनीहरुको स्थानमा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगारमन्त्री बनाइएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङलाई भने मन्त्रीमा बढुवा गरिएको छ । स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई पठाउने निर्णय भएको छ । पार्टीका तर्फबाट ६ महिनाका लागि मन्त्री बनाइएकाहरुको समयावधी नाघेको भन्दै बैठकमा समीक्षा हुँदा वहालवाला मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय भएको थियो ।
अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषद् हेरफेर नियमित प्रक्रिया भएको बताएका छन् । निर्णयबारे पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले मन्त्री बनाउने बेलामै ६ महिनाका लागि भन्ने तय गरिएको बताए । मन्त्रीको जिम्मेवारी पाएकाहरुले प्रक्रिया पूरा गरेर सपथ ग्रहण तथा पदभार ग्रहण गर्नेछन् । प्रतिनिधिसभाको चुनाव आगामी मंसिरभित्र गर्ने तयारी भइरहेका बेला नयाँ मन्त्रीहरु बढिमा ६ महिना मात्रै काम गर्ने अवसर पाउनेछन् । छोटो अवधि भएपनि पार्टीले दिएको जिम्मेवारी प्रभावकारी रुपमा पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।
अघिल्लो वर्ष शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गरेको यो दलले भागबण्डाका आधारमा ५ जना मन्त्री र एक जना राज्यमन्त्री पाएको थियो । पार्टीभित्र मन्त्रीका आकांक्षी धेरै भएपछि पहिलो चरणमा मन्त्री बनाएकालाई ६ महिना मात्रै अवसर दिने सहमति भएको थियो । २०७८ असारमा प्रधानमन्त्री बनेका देउवाले असोजमा मन्त्रीमण्डललाई पूर्णता दिएका थिए । अहिले सरकारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादी सहभागि छन् ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नयाँलाई मन्त्री, #नेकपा एकीकृत समाजवादी, #माधवकुमार नेपाल, #शेरबहादुर देउवा
तपाईको कमेन्ट लेख्नुहोस्