फोहोर ब्यवस्थापनमा बालेनलाई सकस, स्थानीयको ढुंगा मुढापछि फोहोरसहित ट्रक फिर्ता

काठमाडौं । मंगलबार बल प्रयोग गरी बञ्चरेडाँडामा फोहोर ब्यवस्थापन सुरु गरेपनि बुधबार फेरि स्थानीयले फोहोर ब्यवस्थापनमा अवरोध पुर्याएका छन् । काठमाडौंको फोहोर लिएर बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सवारी साधन स्थानीयको अवरोधपछि फोहोर नखसाली काठमाडौैं नै फिर्ता गरिएको छ । प्रहरीको उच्च सुरक्षाबीच लगिएको फोहोर बोकेको गाडी स्थानीय वासिन्दाको अवरोधपछि फिर्ता भएको हो ।
केही गाडीले ल्याण्डफिल साइटमा फोहोर खसाले पनि स्थानीय वासिन्दाले गाडीमा ढुंगामुढा गर्न थालेपछि धेरैजसो गाडी फोहोरसहित फिर्ता गरिएको हो । प्रहरीलाई लक्षित गरी एउटा पेट्रोल बम पनि प्रहार भएको भेटिएको छ । घटनामा चारजना प्रहरी र केही स्थानीयवासी पनि घाइते भएका छन् । प्रहरीले पनि सुरक्षा दिन नसकेपछि फोहोर बोकेका सवारीलाई काठमाडौं नै फर्काइएको हो । प्रहरीले तनाव भएपछि स्थिति नियन्त्रणमा लिन ३ राउण्ड अश्रुग्याँस हानेको स्थानीयबासीले बताएका छन् ।
सोमबार धादिङको धुनीवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधिसँग स्थानीयका माग सम्बोधन हुने गरी सम्झौता भएको दाबी शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले गरेको थियो । तर, स्थानीयले भने आफूहरुका माग पूरा नभएको र गोप्य रुपमा भएको सहमति मान्य नहुने भन्दै आन्दोलन गरिरहेका छन् । आन्दोलनलाई दवाउन भने प्रहरीले बल प्रयोग गरेपछि स्थानीय झनै आक्रोशित बनेका छन् ।
मंगलबार सरकारले बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर बिर्सजन गर्न बल प्रयोगका नाममा घर–घरमा पुगेर पक्राउ गर्नेदेखि कुटपिट समेत गरेको थियो । जग्गा अधिग्रहण, गुठीको जग्गा, उद्योग स्थापना र स्थानीय युवालाई रोजगारको व्यवस्था लगायतका कुरामा स्पष्ट व्यवस्था नभएको भन्दै स्थानीय बिरोधमा उत्रिदा शहरी विकास मन्त्रालय र काठमाडौं महानगर भने बल प्रयोग गरेरै भएपनि फोहोर ब्यवस्थापन गर्ने रणनिति लिएको छ ।
स्थानीयले जनप्रतिनिधिले गरेको सहमतिप्रति आपत्ति जनाउँदै फोहोर फाल्न नदिने अडान लिएका छन् । केही जनप्रतिनिधिहरुलाई लोभ र त्रास देखाएर हस्ताक्षर गराएको र संघर्ष समितिलाई बेवास्ता गरेको भन्दै स्थानीयले आपत्ति जनाइरहेका छन् । फोहोर बिर्सजनमा अवरोध गरेका नुवाकोटका ४ जना र धादिङका १० जनालाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो । फोहोर व्यवस्थापन गर्ने नाममा जबरजस्ती बल प्रयोग गरेर काम गर्ने कुरा गलत भएको भन्दै शहरी विकास मन्त्री रामकुमारी झाक्री र काठमाडौं महानगरका प्रमुख बालेन साहको चौतर्फी आलोचना भइरहेको छ ।
स्थानीयलाई सम्झौताबारे जानकारी नदिदा र बुझाउन नसक्दा फेरि फोहोर विर्सजनमा अवरोध भएको हो । प्रहरीले बल प्रयोग गर्दा झनै स्थानीय असन्तुष्ट भएका छन् । करिव एक महिनादेखि काठमाडौं र ललितपुर महानगरपालिकासहित उपत्यकाका शहरबाट फोहोर उठाइएको छैन । सर्वसाधारणको घरसँगै सार्वजनिक स्थलमा पनि फोहोर थुप्रिएकाले दुर्गन्ध बढ्दा महामारीको जोखिम पनि बढेको छ । यसअघि नै संकलन गरेर १ सय ५७ वटा गाडीमा लोड भइराखेको फोहोर मंगलबार दिउँसो बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा खसालिएको हो ।
बल प्रयोग गरी बञ्चरेडाँडामा फोहोर फाल्न सुरु गरेपछि नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट १७ वर्षपछि बन्द भएको छ । २०६२ जेठ २२ गतेदेखि सिसडोलमा २ वर्षका लागि भन्दै उपत्यकाको फोहोर विसर्जन गर्न थालिएको थियो । पहिलो पटक गत जेठ १० गते प्रहरीको सुरक्षामा बञ्चरेडाँडाको सेल १ मा फोहोर विसर्जन गरिएको थियो । दुई पटक नै प्रहरीले बल प्रयोग गरी बञ्चरेडाँडामा फोहोर ब्यवस्थापन गरिएको छ । तर, बुधबार फेरि अवरोध भएसँगै काठमाडौं उपत्यकाको फोहोर ब्यवस्थापनमा अझै सकस पर्ने देखिन्छ ।
गत फागुन १९ गते सहरी विकासमन्त्री रामकुमारी झाँक्री बञ्चरेडाँडा भ्रमणका क्रममा महानगरले फोहोर विसर्जन गर्न सक्ने अभिव्यक्ति दिएपछि माग पूरा नभएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका थिए । १० दिनसम्म प्रदर्शन गरेपछि सरकारले फागुन २६ गते स्थानीयको माग सम्बोधन गर्ने निर्णय गरेको थियो । तर, स्थानीयले बञ्चरेडाँडाले पनि सिसडोलको जस्तै नियति भोग्नुपर्ने शंका व्यक्त गर्दै निरन्तर आन्दोलन गरिरहेका छन् । ल्याण्डफिड साइटका स्थानीयको माग सम्बोधनका लागि काठमाडौं महानगरमा निर्वाचित भएपछि मेयर बालेन साह पटक–पटक पुगे ।
समाधान नभएसम्म माला र खादा नलगाउने घोषणा गरेका साह र मन्त्री झाक्रीले प्रहरीको दमनले फोहोर विर्सजन गर्ने नीति लिएको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि लागू हुने गरी वर्गीकरण गरेको फोहोर मात्र उठाउने भएको छ । कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न महानगरवासीलाई अपिल महानगरले गर्दै गर्दा दश घण्टा पनि नटिकेको सहमतिले फोहोर ब्यवस्थापनमा झनै कठिन हुने देखिन्छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #गाडीमा ढुंगामुढा, #फोहोर नखसाली काठमाडौैं, #बञ्चरेडाँडामा फोहोर
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्