Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

मेयर बालेन्द्र साहले ल्याए नयाँ नयाँ योजना,फोहोर ब्यवस्थापनदेखि जनतासँग मेयर कार्यक्रम


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । आइतबार महानगरको आर्थिक वर्ष २०७९/ ०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर साहले कुहिने फोहोरलाई घरमै मल बनाउने महानगरवासीका लागि सोही प्रयोजनमा लाग्ने शुल्कमा विशेष सहुलियत दिने प्रबन्ध मिलाइने भन्दै स्रोतमै वर्गीकरण गर्ने लगायतका नीति तथा कार्यक्रम मार्फत समेट्दै थुप्रै योजना अघि सारेका छन् ।

यस्तै महानगरले प्रविधिमा आधारित फोहोरमैला व्यवस्थापन प्रणाली उपयोग गरी महानगरको फोहरमैला दीगो व्यवस्थापन गरिने घोषणा पनि गरेको छ । जसका लागि आवश्यक अध्ययन, अनुसन्धान, प्रविधि पहिचान तथा सोको प्राप्ति, स्थापना, विकास र सञ्चालनको कार्य गर्न एक छुट्टै परियोजना गठन गरी ‘जेरो वेस्ट’ कार्यान्वयन अवधारणा नीति लिइने घोषणामा उल्लेख छ ।

त्यस्तै, उपत्यकामा मेट्रो स्थापानाको सम्भाव्यता अध्ययन गर्न सरकारी तथा अन्य निकयहरुसँग सहकार्य गर्ने पनि महानगरले घोषणा गरेको छ ।अहिले काठमाडौंमा मेट्रोल रेलमा लागि रेल विभाग र लगानी बोर्डले सम्भाव्यता अध्ययन गरिरहेका छन् । रेल विभाग काठमाडौंको सातदोबाटो–रत्नपार्क–नारायण गोपाल चोक (महाराजगञ्ज) खण्डको ‘एलिभेटेड इलेक्ट्रिफाइड मेट्रोरेल’ चलाउन सम्भव नहुने देखिएपछि अब भूमिगत मेट्रोबारे अध्ययन गर्नुपर्ने निष्कर्षमा पुगिसकेको छ ।

लगानी बोर्डले धुलिखेल–नागढुंगा मेट्रो रेलमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बारे कुनै विषय सार्वजनिक गरेको छैन । २०७४ सालमा बोर्डले गरेको प्रारम्भिक अध्ययनले निर्माण थालेको काठमाडौंमा रेल सेवा सम्भव रहेको देखाएको थियो । नागढुंगादेखि कोटेश्वर हुँदै धुलिखेल र बूढानीलकण्ठबाट सातदोबाटो हुँदै काठमाडौं–तराई द्रुतमार्गको प्रस्थान बिन्दु खोकना जोड्ने रेल तत्कालै बनाउन सकिने अध्ययनको ठहर थियो ।

त्यस्तै, तीनकुनेको विवाद समाधान गरेर पूर्वाधार बनाउने योजना पनि महानगरले ल्याएको छ । वडा नम्बर ३२ स्थित तीनकुनेको जग्गा विवाद सामधान गरी आवश्यक पूर्वाधार निर्माणका लागि संघीय सरकारसँग समन्वय गरी कार्य गर्ने घोषणा गरिएको हो । पछिल्ला दुई आर्थिक वर्षका बजेटमा महानगरले पार्क बनाउने काम अघि बढाउने गरी योजना नल्याएका पनि होइन । तर, ४७ वर्षदेखि खाली बनेको तीनकुनेको मैदान अलपत्र र अस्तव्यस्त छ ।

महानगरपालिकाले नेवाः समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्ने घोषणा गरेको छ । नेवार समुदायले उत्पादन गर्ने घरेलु ‘ऐला’ लाई संकेत गर्दै महानगरले यस्तो घोषणा गरेको हो । काठमाडौंमा सञ्चालन हुने विभिन्न जात्रा, पर्वहरुलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराई पर्यटन प्रवर्द्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगरपालिकाले प्रत्येक हप्ताको आइतबार जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर साहले प्रत्येक हप्ताको आइतबार सञ्चालन गरिने जनतासँग मेयर कार्यक्रममा जनतासँग प्रत्यक्ष कुराकानी गर्ने बताएका हुन् ।महानगरपालिकाले करदाताको स्वास्थ्य बीमा गर्ने नीति ल्याएको छ । कररदाताको स्वास्थ्य बीमाका लागि बढीमा ५० प्रतिशत अनुदान दिने घोषणा गरे ।


क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #फोहोरमैला व्यवस्थापन, #महानगरवासी, #मेयर बालेन्द्र साह

तपाईको कमेन्ट लेख्नुहोस्