Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

नेकपा एसबाट कहिले पाउने नयाँले मन्त्री, प्रधानमन्त्री देउवा चुपचाप, माधव नेपालको शंका


काठमाडौं । एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने निर्णय गरेको आधा महिनाभन्दा बढी समय भैसक्दा पनि अझै मन्त्री हेरफेर भएको छैन । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको विवादलाई देखाएर मन्त्री हेरफेर रोकिएपनि अहिले भने केही मन्त्रीहरु नै प्रधानमन्त्रीलाई तत्काल निर्वाचन घोषणा गर्न सुझाव दिइरहेका छन । एकीकृत समाजवादी पार्टीले आफ्ना मन्त्रीहरुलाई सरकारमा पठाउँदा नै छ महिनाको भाका राखेको थियो ।

अहिलेका मन्त्रीहरुले ६ महिना कार्यकाल पूरा गरेपछि नयाँ मन्त्रीहरु पठाउने भने पनि ८ महिनापछि क्याविनेटमा नयाँ अनुहारलाई अवसर दिने निर्णय पार्टीले गरेको थियो । तर पार्टीले पूराना मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेलगत्तै मन्त्रीहरुले आफ्नो मन्त्री पद जोगाउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवालाई हारगुहार गरेका थिए ।

त्यसपछि बजेट पारित नहुँदासम्मका लागि मन्त्रीहरुलाई यथावत राख्न पार्टी अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री तथा प्रचण्डले सहमत गराएका थिए । तर अहिले भने एकीकृत समाजवादीका मन्त्रीमात्रै होइन, जसपा र माओवादीका मन्त्रीहरु पनि प्रधानमन्त्रीलाई संसदको बजेट अधिवेशनलगत्तै चुनावको मिति घोषणा गर्न दवाव दिइ रहेको बुझिएको छ । निर्वाचनको मिति घोषणा हुनेबित्तिकै संसद भंग हुन्छ र निर्वाचनसम्म पुरानै मन्त्रीहरु काम गर्न पाउँछन् ।

एकीकृत समाजवादीका मन्त्री फेरिनेबित्तिकै ती पार्टीमा पनि मन्त्री हेरफेरको माग हुने भएकाले उनीहरुले त्यस्तो सुझाव दिएका हुन् । मन्त्री फेर्नुपर्ने माग राख्ने र तत्काल निर्वाचन घोषणा गर्नुपर्ने माग राख्ने यी दुवै पक्षसँग निरन्तर छफफलमा रहेका देउवाले कस्तो कदम चाल्छन् ? त्यो भने अझै एकीन भैसकेको छैन । तर मन्त्री हेरफेरको विषयले पार्टीहरुमा भने विवाद बढाएको छ ।

आफ्नो पार्टीको निर्णयबमोजिम मन्त्री हेरफेर नभएकोमा निरन्तर चर्को विरोध गर्दै आएका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल आफ्नै पार्टीका अध्यक्ष माधव नेपालसँग असन्तुष्ट छन् । नेपालले पार्टी निर्णय पालना गराउन नसकेको उनको बुझाई छ । सरकारमा जाने तयारीमा रहेका पार्टी नेताहरुमा भने पार्टीले निर्णय गर्दा जुन उत्साह थियो उनीहरुमा विस्तारै त्यो उत्साह घट्दै गएको देखिन्छ । तर, ढिल भएपनि प्रधानमन्त्रीले पार्टीको निर्णय पालना गर्नेमा आशावादी देखिन्छन् ।

एकीकृत समाजवादीका मन्त्री हेरफेर नहुनुमा नेकपा माओवादी केन्द्रको ठूलो हात रहेको चर्चा भैरहँदा माओवादी केन्द्रका नेता तथा खेलकुद मन्त्री महेश्वर गहतराज भने यसमा माओवादीको कुनै भुमिका नभएको बताउँछन् । तर मन्त्रीहरुले प्रधानमन्त्रीलाई छिटोभन्दा छिटो निर्वाचन घोषणा गर्न सुझाव दिइरहेको भने उनी स्विकार गर्छन् ।

अहिले गठबन्धनका विरुद्ध भैरहेको विभिन्न चलखेललाई निस्तेज पार्न मन्त्रीहरुले त्यस्तो सुझाव दिएको उनको दावी छ । प्रदेश र संघीय प्रतिनीधी सभाको निर्वाचन कार्तिकको अन्तिम साता अथवा मंशीरको पहिलो साता गर्ने सरकारको तयारी छ । जसको मिति घोषणा केही समयमै हुनेछ । यस्तो अवस्थामा एकीकृत समाजवादीका नयाँमन्त्रीहरु घोषणामै सिमित हुन्छन् अथवा उनीहरु वास्तवमै सपथ लिन पाउँछन् ? त्यो भने विकसित हुने घटनाक्रमबाटै स्पष्ट हुनेछ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #८ महिनापछि क्याविनेट, #एकीकृत समाजवादी, #नेकपा माओवादी केन्द्र

तपाईको कमेन्ट लेख्नुहोस्