Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

देउवा सरकारमा नेकपा समाजवादीका नयाँ अनुहारका मन्त्री थपिए,कस्तो गर्लान काम ?


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारमा नेकपा एकिकृत समाजवादीका तर्फबाट नयाँ मन्त्रीले पदभार ग्रहण गरेका छन् । अवको करिव ५ महिनाका लागि सरकारमा गएका मन्त्रीहरुले आफनो मन्त्रालयबाट जनताको मन जित्ने गरी काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् । नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीले सहरी ऐनलाई अघि बढाउने प्रस्तावमा हस्ताक्षर गरे ।

उनले क्षमताअनुसार काम गरेर देखाउने प्रतिबद्धता समेत जनाए । आफूले सबैसँग मिलेर काम गर्ने भन्दै पाँच महिनाको अवधिमा नजिता देखिने गरी काम गर्ने चौधरीले दाबी गरे । उनले यसअघि भएका कामको निरन्तरता र नयाँ काममा आफ्नो ध्यान रहने बताएका थिए ।

त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले पहिलो निर्णयका रूपमा आगामी वर्षको नीति तथा कार्यक्रमका लक्ष्य पुरा गर्ने सम्बन्धी फाइल सदर गरे । मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्ष २०७९/०८० सुरु हुन डेढ महिना बाँकी रहँदा मन्त्रालयले तयार पारेको फाइल सम्बन्धी निर्णयमा हस्ताक्षर गरे ।

कुँवरले मन्त्रालयको टिमसँग सहकार्य गरेर सामान्य नागरिकले भोगेका समस्या र अप्ठ्यारालाई सहजीकरण गर्ने गरी काम गर्ने बताए । मन्त्रालयको कार्यक्षेत्र भित्र पर्ने चाहे आन्तरिक रोजगारी, वैदेशिक रोजगारीलाई कसरी व्यवस्थापन गर्न सकिन्छ र कसरी सम्बोधन गर्न सकिन्छ, सामान्य नागरिकले भोगेका समस्या र अप्ठ्यारालाई सहजीकरण गर्ने काम गर्ने दाबी गरे ।

त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले आगामी दिनमा जनताको सर्वसुलभ सेवालाई प्रभावकारी बनाउन ध्यान केन्द्रित गर्ने बताए । उनले कोरोनाकालमा निकै समस्या भएको र महामारीबाट सहजता ल्याउन सफल भएको धारणा राखे । स्वास्थ्य क्षेत्रमा जनतालाई दिइने सुविधामा पनि पछिल्लो समय नेपालमा सुधार भएको उनको भनाई छ । मन्त्री खापुङले आगामी दिनमा विकट स्थानमा सानातिना रोगको उपचार नपाउने अवस्थाको अन्त्य गरिने बताए ।

अर्का नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोरोनाले पर्यटन क्षेत्रमा परेको प्रभावका विषयमा भएका अध्ययन प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने बताए । उनले कोरोनाले पर्यटन क्षेत्रमा परेको प्रभावबारे विभिन्न अध्ययन गरी तयार पारिएका प्रतिवेदनहरूलाई कार्य योजनाकै ढंगले लैजाने भन्दै सो सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका थिए ।

त्यस्तै उनले हनुमानढोकादेखि स्वयम्भूसम्मको पदमार्ग निर्माणका लागि अघि बढाउने निर्णयमा पनि हस्ताक्षर गरे । कोरोनाले पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको र त्यसको असर अर्थतन्त्रलाई पनि प्रभावित बनाएकाले मन्त्रालयले आवश्यक कार्यक्रम तर्जुमा गर्ने बताए । पहिलो मन्त्री बनेका ४ जनाले कस्तो काम गर्लान ? विगतमा समाजवादीबाट मन्त्री भएकाहरुले जस्तो चर्चा कमाउलान या गुमनाम बन्लान त्यो भने हेर्न बाँकी छ ।


क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नयाँ मन्त्री, #नेकपा एकिकृत समाजवादी, #प्रधानमन्त्री शेरबहादुर देउवा

तपाईको कमेन्ट लेख्नुहोस्