निजगढमा अन्तराष्ट्रिय विमानस्थल बनाउन उपयुक्त हुने विज्ञ समूहको निष्कर्ष

काठमाडौं । अन्तराष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले अध्ययन प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको छ । आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा विज्ञ समूहका संयोजक बीरेन्द्रबहादुर देउजाले प्रधानमन्त्री देउवालाई अध्ययन प्रतिवेदन हस्तान्तरण गरेका हुन । सर्वोच्च अदालतको परमादेश अनुसार पूर्ण क्षमताको अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि अध्ययन गरी प्रतिवेदन पेश गर्न मन्त्रिपरिषद्को गत साउन २६ गतेको निर्णयानुसार गठित विज्ञ समूहले अध्ययन प्रतिवेदन तयार गरेको हो ।
नेपालको दूरगामी विकास तथा आर्थिक समृद्धिको लागि बढ्दो हवाई ट्राफिक धान्न सक्ने पूर्ण क्षमताको अन्तराष्ट्रिय विमानस्थल आवश्यक रहेको विज्ञ समूहको निष्कर्ष रहेको छ । प्रतिवेदन अनुसार पूर्ण क्षमताको अन्तराष्ट्रिय विमानस्थलका लागि उपयुक्त स्थान काठमाडौं –तराई द्रुतमार्ग (फास्ट ट्र्याक) र पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको पसाहा नदी र बकैया नदी बीचको करिब ९ हजार हेक्टर क्षेत्रफल भित्रको करिब ४ हजार हेक्टर क्षेत्र उपयुक्त रहेको छ । रुख कटानी तथा वातावरणीय क्षती न्यूनीकरण गर्न सर्वोच्च अदालतको आदेशलाई ध्यानमा राखी एयरपोर्ट सिटीको अवधारणालाई पुरै त्याग्नुपर्ने सुझाव विज्ञ समुहले दिएको छ ।
करिब ९ हजार हेक्टरको विमानस्थल संरक्षण क्षेत्र घोषणा गरी विभिन्न चरणमा विमानस्थल निर्माण गर्ने गरी जम्मा करिब ४ हजार हेक्टर क्षेत्रफलमात्र विमानस्थल निर्माणको लागि उपयोग गर्ने र बाँकी क्षेत्रमा भएका रुखको संरक्षण लगायत नदी कटान रोकथाम तथा अन्य आवश्यक संरक्षण कार्य विमानस्थल व्यवस्थापनले गर्नुपर्ने र पहिलो चरणमा करिव पन्ध्र सय हेक्टर क्षेत्रफलमा मात्र रुख कटानी गर्ने र बाँकी क्षेत्रमा दोश्रो चरण सुरु नभएसम्म रुख कटान नगर्न भनिएको छ । वातावरणमा प्रतिकुल असर नपर्ने गरी वातावरणीय व्यवस्थापन योजना तयार गर्ने गरी सोको कानुनी विधि र प्रक्रिया पुरा गरी आवश्यक स्विकृती प्राप्त गरी विमानस्थल निर्माण कार्य गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
वातावरण र विकासलाई सरकारले समुचित सन्तुलन तथा व्यवस्थापन गर्दै जान सक्ने अन्तराष्ट्रिय कानुन एवं सर्वोच्च अदालतवाट प्रतिपादित नजिर सिद्धान्त समेत रहेकोले देश विकास सम्बन्धी कार्यमा वातावरण र विकासबीच समुचित सन्तुलनका लागि आवश्यक कानूनी व्यवस्था गर्न नेपालको संविधानले सरकारलाई संवैधानिक दायित्व दिएको प्रतिवेदनमा स्मरण गरिएको छ । पूर्ण क्षमताको अन्तराष्ट्रिय विमानस्थल निर्माणकालागि आवश्यक जग्गा प्राप्त गरी प्रभावित सरोकारवालाहरुलाई कानून बमोजिमको मुआव्जा, क्षतिपुर्ति तथा पुनर्वासको व्यवस्था गरी निर्माण कार्य गर्नु विज्ञ समुहको प्रतिवेदनमा उल्लेख छ ।
पर्सा राष्ट्रिय निकुन्जको विस्तारित क्षेत्रभित्र हात्तीको प्रमुख जैविक मार्ग रहेको तर केहि हात्तीहरु निर्माणस्थलको नजिकै विचरण गर्न आउने क्षेत्र निर्माणस्थलभन्दा वाहिर रहेकोले सो क्षेत्र समेत सरकारले संरक्षण गर्न सक्ने साथै चराचुरुङ्गीहरुको हकमा लामो दूरीका अन्तराष्ट्रिय बसाई–सराई गर्ने तथा हवाई दुर्घटनाका कारक हुन सक्ने ठुला प्रजातिका चराहरु हाँस, चिल, गिद्धको मार्ग निर्माणस्थल नजिक नदेखिएको साथै नेपालका संकटापन्न गिद्धहरुको उपस्थिति पनि सो क्षेत्रमा न्यून रहेको प्रतिवेदनमा उल्लेख छ ।
क्याटेगोरी : अर्थ, पर्यटन, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अन्तराष्ट्रिय विमानस्थल, #विज्ञ समूह, #शेरबहादुर देउवा
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्