Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

सरकारी सेवामा जस्तै राजनीतिमा पनि उमेर हदको बहस, बृद्ध नेताहरु नै हाबी भएको भन्दै आलोचना


काठमाडौं । चुनाव आउँदा बुढा नेता र युवा नेताको चर्चा हुनु स्वाभाविकै हो । एक पटक राजनीतिमा प्रवेश गरेपछि आजिवन त्यसलाई पेशाकै रुपमा लिएर पार्टी र सरकारको पद ओगटीरहने प्रवृत्तिले पनि यस्तो बहसलाई बढावा दिएको छ । पटक पटक परीक्षण मात्रै होइन, जनताका नजरमा असफल ठहरिएका नेताहरु नै प्रभावशाली रहँदा बुढो पुस्तालाई विदा गरी युवा पु्स्तालाई राजनीतिमा स्थापित गर्नुपर्ने आवाज उठ्न थालेको हो । यद्यपी कार्यक्षमताका लागि उमेरमात्रै मादण्ड नहुने विचार राख्नेहरु पनि छन् ।

सुरक्षा निकाय ,न्यायालय ,निजामति सेवा लगायतका क्षेत्रमा उमेर हदको व्यवस्था गरिएको छ । तर देश हाँक्ने नेताहरुमा भने उमेर हद लागू हुँदैन । राजनीति गर्नेहरुमा उमेर हद लागु हुनुपर्छ कि पर्दैैन भन्ने पक्ष र विपक्षमा मत विभाजित छ । विश्वमा उमेर पुगेका नेताहरुले पनि राम्रो काम गरेका उदाहरण भेटिन्छन् । तर त्यस्ता उदाहरण अपवादको रुपमा रहेका छन् । युवा उमेरका नेताहरुले तुलनात्मक रुपमा प्रभावशाली काम गरेको पाइन्छ । त्यसैले अहिले नेपालमा पनि पुरानो पुस्तालाई सक्रिय राजनीतिबाट विदा दिएर युवा पुस्तालाई स्थापित गर्नुपर्ने आवाज जोडदार रुपमा उठ्न थालेको छ ।

राजनीतिमा आउने र मृत्यु पर्यन्त यसलाई पेशाकै रुपमा लिने प्रवृत्तिका विरुद्ध दलभित्रै र दलबाहिर पनि शशक्त आवाज उठ्न थालेको छ ।कतिपय राजनीतिक दलले बिधानमै उमेर सिमा राखेको पाइन्छ । नेकपा एमालेले ७० बर्षपछि कार्यकारी भूमिकामा बस्न नपाइने प्रावधान राखेको छ । तर, यसको विपक्षमा आवाज राख्नेहरु पनि छन् । त्यस्तो विचार राख्नेहरु उमेर होइन काम गर्ने क्षमताको आधारमा नेताहरुको मूल्यांकन हुनुपर्ने धारणा राख्छन् । तर पूर्व प्रशासक उमेश मैनाली भने नेताहरुले एउटा विन्दुमा कार्यकारी भुमिकाबाट अवकास लिनुपर्ने धारणा राख्छन् ।

दिनमा करिव १२ घण्टाभन्दा धेरै खट्नुपर्ने सांसद, मन्त्री, प्रधानमन्त्री पदका लागि स्वास्थ्यले साथ दिएमा मात्रै राम्रो नतिजा दिन सकिने उनको विश्वास छ । मैनाली ६५बर्षपछि नेताहरुले सक्रिए राजनीतिबाट अवकास लिनु उपयुक्त हुने धारणा राख्छन् । राजनीतिमा उमेरहदको बहस नेपालमा मात्रै होइन विश्वभरी नै चल्ने गरेको छ । साथै नैतिक बन्धनको चर्चा पनि उत्तिकै ह्ुने गर्दछ । तर निजामति सेवा वा सुरक्षाकर्मीको जस्तो उमेरहद विश्वमा कहिं पनि लागू भएको छैन । तर विकसित मुलुकहरुमा नैतिक मूल्यका आधारमा पद खाली गर्ने प्रचलन छ ।

उनीहरु आफूले गर्ने भनेको काम गर्न नसकेमा, आफूले चालेका नीति गलत सावित भएमा अथवा कुनै किसिमको नैतिक प्रश्न उठेमा पद खाली गरिदिन्छन् । तर, हाम्रोजस्तो देशमा त्यस्तो नैतिक बन्धनमा पनि नेताहरु बाँधिन नसकेकाले बाहिरिने कुनै न कुनै विन्दु त हुनुपर्यो  नि भनेर उमेर हदको आवाज अझ चर्को सुनिन थालेको हो ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #कडा प्रतिस्पर्धा, #सत्ता गठबन्धन, #सेटिङमै कमजोर

तपाईको कमेन्ट लेख्नुहोस्