Techie IT
  • २५ चैत्र २०८१, सोमबार
KhojPatrika

स्याङ्जा २ मा धनराज गुरुङ र पद्मा अर्यालको प्रतिष्पर्धा, इतिहास बनाउने र विरासत जोगाउने दाउ


काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ हेभिवेट नेताको चुनावी प्रतिष्पर्धाका कारण चर्चामा छ । यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उपभापति धनराज गुरुङ र नेकपा एमालेकी सचिव पद्मा अर्याल चुनावी मैदानमा छन् । गुरुङ पहिलो पटक प्रत्यक्षमा चुनाव जितेर इतिहास रच्ने पक्षमा रहँदा अर्याल गत चुनावको विरासत जोगाउन दौडधुपमा छिन् ।

स्याङ्जा क्षेत्र नम्बर २ मा पनि चुनावी माहोल तातिएको छ । हेभिवेट नेताले आफ्नो पक्षमा मत पार्न घरदैलो अभियान सुरु गरेसँगै चुनावी माहोल तातिएको हो । क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेकी सचिव पद्मा अर्याल चुनावी मैदानमा छन् । राप्रपा लगायत केही साना दल र स्वतन्त्र उम्मेदवार पनि चुनावी प्रतिष्पर्धामा छन् । तर, विगतको अंकगणितले गुरुङ र अर्यालबीच नै कडा प्रतिष्पर्धा हुने मतदाता बताउछन् ।

२०६४ र २०७० सालको संविधान सभामा समानुपातिकबाट सांसद बनेका गुरुङ पहिलो पटक प्रत्यक्षमा चुनाव लड्दैछन् । राष्ट्रियताको पक्षमा चट्टानी अडान र भ्रष्टाचारविरुद्धमा खरो उत्रिएर राजनीतिक उचाई बनाएका गुरुङका लागि कांग्रेसको विरासत फिर्ता ल्याउने चुनौति छ । गठबन्धनको साथ पाएका गुरुङले भ्रष्ट प्रबृत्ति अन्त्य गर्नका लागि सुरुमा नेताहरुको सम्पत्ति छानविन गर्नुपर्ने एजेण्डा अघि सारेका छन् ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठलाई पराजित गरेर पद्मा अर्याल चर्चामा आइन । केपी ओली सरकारमा लामो समय मन्त्री भइन । उनै अर्याललाई एमालेफुटेपछि पनि ७४ को विरासत कायम राख्न चुनौति छ । उनी चुच्चे नक्सा सार्वजनिक र जिल्लाको विकास गरेको एजेण्डा लिएर चुनावी मैदानमा छिन् ।

गत स्थानीय तह निर्वाचनको वडा तहको मत हेर्दा कांग्रेस ३६ हजार ८ सय ६, एमाले ३४ हजार ८ सय ९, माओवादी केन्द्र १ हजार २ सय ४३ र नेकपा एसको २ सय ३३ मत छ । आ–आफनो चुनावी एजेण्डा लिएर चुनावी मैदानमा उत्रिएका गुरुङ र अर्यालबीच स्थानीय तहकै मतलाई हेर्ने हो भने पनि निक्कै कडा प्रतिष्पर्धा हुने देखिन्छ ।


क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #धनराज गुरुङ, #पद्मा अर्याल, #स्याङ्जा क्षेत्र नम्बर २, #हेभिवेट नेता

तपाईको कमेन्ट लेख्नुहोस्