Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

शीर्ष नेतालाई काठमाडौं उपत्यकामा निर्वाचन लड्न त्रास, मत परिणम उल्टो आउने डर

अधिकांश क्षेत्रमा टुरिष्ट नेताबीच प्रतिष्पर्धा


काठमाडौं । प्रदेश र प्रतिनिधि सभा निर्वाचन नजिकिदैगर्दा दलका शिर्ष नेता उम्मेदवारहरू आफ्नो पक्षमा मत तान्न ब्यस्त छन् । चुनावको समयमा सबैभन्दा बढी ‘टुरिस्ट नेता’को चर्चा चुलिएको काठमाडौं उपत्यकाका मतदाताहरु आफ्नो क्षेत्रमा विगतमा कस्ता उम्मेदवार थिए र अहिले को–को उम्मेदवार छन ?  भनेर चासोका साथ लेखाजोखा गरिरहेका छन् । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा चर्चामा रहने निर्वाचन क्षेत्र हो क्षेत्र नम्बर १ । यहाँ कुनै समय कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई र तत्कालिन एमाले नेतृ विद्यादेवी भण्डारीबीच प्रतिस्पर्धा हुँदा किसुनजी पराजित भएका थिए ।

नेकपा एमालेका तत्कालीन महसचिव मदन भण्डारी र एमालेकै मनमोहन अधिकारीसमेत यही क्षेत्रबाट विजयी भए । कुनै सयम एमालेको गढ मानिने यो क्षेत्रमा प्रभावशाली उम्मेदवार उठाउन नसकेकै कारण २०५६ पछिका निर्वाचनमा कांग्रेस नेता प्रकाशमान सिंहले बाजी मार्दैआएका छन् । पहिलो संविधान सभा निर्वाचनमा एमालेका प्रदीप नेपाललाई र दोस्रो संविधान सभामा माओवादीकी रेणु दाहाललाई हराएका सिंहले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा साझा पार्टीका रवीन्द्र मिश्रलाई पराजित गरे । राप्रपाबाट अहिले मिश्र नै सिंहका प्रतिस्पर्धीका रुपमा मैदानमा छन् ।

शिर्ष नेताहरु पछि हटेकै कारण यो क्षेत्रमा युवासंघको राजनीतिबाट दरिदैगरेका किरण पौडेल एमालेबाट चुनावी मैदान छन् । नेपाल सुशासन पार्टीका संयोजक रमेश खरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम र हाम्रो नेपाली पार्टीका डम्बर साहुँको समेत उम्मेदवारी रहेको यहाँ मुख्य प्रतिस्पर्धा सिंह र मिश्रबीच हुने आँकलन गरिएको छ । काठमाडौं क्षेत्र नम्बर २ पनि चर्चामै रहने निर्वाचन क्षेत्र मध्येको एक हो । यहाँ यसअघिसम्म माधवकुमार नेपाल चुनाव लड्थे । पूर्वसभामुख एवं नेपाली कांग्रेसका नेता दमननाथ ढुंगाना समेत एक पटक निर्वाचित भएको यो क्षेत्रमा एमालेबाट बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीले समेत चुनाव जितिन ।

अहिले भने यहाँ एमालेबाट मणिराम फुँयाल, सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की ओनसरी घर्ती, राप्रपाबाट कुन्तीदेवी पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम मुख्य प्रतिस्पर्धीका रुपमा मैदानमा छन् । सधै चर्चा र शिर्ष नेताहरुको भिडन्त हुने यो निर्वाचन क्षेत्रको चुनावी नतिजा अस्थिर भएकै कारण शिर्ष नेताहरु मैदान उत्रिनबाट डराएका छन् । काठमाडौं क्षेत्र नम्बर ३ खासै चर्चामा नआउने क्षेत्र हो । एमालेको गढ मानिने यही क्षेत्रमा पहिलो संविधानसभा निर्वाचनमा कांग्रेसका चक्रबहादुर ठकुरी विजयी भएका थिए ।

दोस्रो संविधान सभा निर्वाचनमा एमालेका रामेश्वर फुँयाल, २०७४ को निर्वाचनमा एमालेका कृष्ण राई विजयी भएका थिए । शिर्ष नेताले खासै चासो नदेखाउने यो निर्वाचन क्षेत्रमा नेकपा एमालेका राई र नेपाली कांग्रेसका सन्तोष चालिसेमुख्य प्रतिस्पर्धीका रुपमा मैदानमा छन् । काठमाडौं क्षेत्र नम्बर ४ चर्चित मध्येको एक निर्वाचन क्षेत्र हो । यो क्षेत्रमा पछिल्लो समय कांग्रेस महामन्त्री गगन थापा चुनावी मैदानमा छन् । दोस्रो संविधानसभा र २०७४ को प्रतिनिधि सभामा थापा नै यहाँबाट निर्वाचित भएका थिए । ०४८ मा एमाले नेतृ सहाना प्रधान र ०५१ एमालेबाट पद्मरत्न तुलाधरले यहाँबाट संसदको यात्रा तय गरेका थिए ।

पहिलो संविधान सभामा कांग्रेसबाट सुप्रभा घिमिरेले र त्यसअघि निर्वाचनमा यहाँका मतदाताले कांग्रेस उम्मेदवार रोजेका छन् । अहिले यहाँ कांग्रेस महामन्त्री थापा र एमालेका राजन भट्टराईबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । काठमाडौं ५ पनि विगतमा चर्चामै रहने निर्वाचन क्षेत्र हो । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका नरहरि आचार्य निर्वाचित भएको यो क्षेत्रमा उनी बिरामी परेपछि कांग्रेसले बलियो उम्मेदवार मैदान उतार्न सकेको छैन । एमालेका इश्वर पोखरेललाई पराजित गर्ने आर्चायको बिकल्प कांग्रेसले अघि सार्न नसक्दा २०७४ को निर्वाचनमा प्रकाशशरण महत पराजित हुन पुगे । काठमाडौं ५ बाट एमालेका तत्कालीन महासचिव मदन भण्डारीसमेत विजयी भएको विरासतलाई भत्काउनसक्ने उम्मेदवार उठाउनुपर्ने कांग्रेसले तनहुका युवा नेता प्रदिप पौडेललाई पोखरेलविरुद्ध मैदान उतारेको छ ।

काठमाडौं ६ धेरै चर्चामा नआएपनि गुमनाम भने छैन । विगतमा एमालेका साहना प्रधान र अष्टलक्ष्मी शाक्य विजयी भएको यो क्षेत्रबाट पहिलो संविधानसभा निर्वाचनमा माओवादीका हितमान शाक्य विजयी भए । दोस्रो संविधानसभा निर्वाचन र ०७४ को प्रतिनिधि सभा निर्वाचनमा भने यहाँबाट कांग्रेसका भिमसेनदास प्रधान विजयी हुँदैआएका छन् । यहाँ एमालेले शिर्ष नेतालाई मैदान उतारेर प्रधानको ह्याट्रिक रोक्नुको साटो प्रहरी महानिरिक्षकबाट सेवानिबृत्त सवेन्द्र खनाललाई टिकट थमाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले समेत टक्कर दिने आँकलन गरिएको यहाँ प्रधान नै अरु भन्दा बलियो अवस्थामा छन् । काठमाडौंको ७ नम्बर क्षेत्र खासै चर्चामा छैन ।

२०६४ को पहिलो संविधान सभा निर्वाचनमा डा. बाबुराम भट्टराई पत्नी हिसिला यमीले चुनाव जित्दा चर्चामा आएको यो क्षेत्रमा २०५६ मा तिर्थराम डंगोलले कांग्रेसबाट चुनाव जितेको बाहेक एमाले उम्मेदवार नै मतदाताको रोजाईमा परेका छन् । यहाँबाट दुई पटक एमालेका रामबीर मानन्धर र एकपटक कृष्णगोपाल श्रेष्ठले चुनाव जितेका छन् । शिर्ष नेताले चासो नदिएको यो क्षेत्रमा एमालेका श्याम कुमार घिमिरे, सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की अस्मिता सिंह (मानुषी) यमि भट्टराईसँगै स्वतन्त्र बनेका रामबीर मानन्धरबीच प्रतिस्पर्धा हुँने आँकलन भैरहेको छ ।

काठमाडौं ८ मा पहिलो र दोश्रो संविधान सभा निर्वाचनमा कांग्रेस नेता नविन्द्रराज जोशीले जितेपनि २०७४ मा एमालेका जीवनराम श्रेष्ठसँग पराजित हुनुपरेको थियो । काठमाडौं क्षेत्र नम्बर ८ मा एमालेले खासै चर्चामा नरहेका शिव सुन्दर राजवैद्यलाई मैदान उतारेको छ । यहाँ बैद्य, एकिकृत समाजवादीका श्रेष्ठसँगै हाम्रो नेपाली पार्टीका सुमन सायमीबीच कडा टक्कर पर्ने आँकलन भैरहेको छ । काठमाडौं क्षेत्र नम्बर ९ मा पहिलो र दोश्रो संविधासभा निर्वाचनमा कांग्रेसका ध्यान गोबिन्द रञ्जित बिजयी भएका थिए भने ०७४ मा एमाले नेता कृष्ण गोपाल श्रेष्ठसँग पराजित भएका थिए । अहिले यहाँ एमालेले कृष्ण गोपाल श्रेष्ठलाई नै मैदान उतार्दा कांग्रेसले माओवादी नेतृ कल्पना धमलालाई साझा उम्मेदवारका रुपमा मैदान उतारेको छ । यहाँबाट विवेकशिलका मिलन पाण्डेले समेत चुनौँती दिदैछन् ।

पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल उम्मेदवार बनेर चर्चामा आएको काठमाडौं क्षेत्र नम्बर १० अहिलेपनि चर्चामै छ । पहिलो संविधान सभामा दाहाल विजयी भएपनि दोस्रोमा पराजित भएको यो निर्वाचन क्षेत्रमा कांग्रेसका उनै राजन केसी मैदानमा छन् । ०७४ मा माओवादीका हितमान शाक्यलाई पराजित गरेका केसीले अहिले एमालेका हिमेश केशी र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदिप विष्टको चुनौँती सामना गर्नुपर्ने भएको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #काठमाडौं उपत्यका, #निर्वाचन लड्न त्रास, #शिर्ष नेताहरु

तपाईको कमेन्ट लेख्नुहोस्