Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

फेरि आयो काठमाडौं उपत्यकामा मेलम्चीको पानी,भरपर्दो बनाउन उपभोक्ताको आग्रह


काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी आजदेखि पुनः वितरण सुरु गरिएको छ । मेलम्चीको पानी काठमाडौंमा वितरण कार्य शुभारम्भ गरिएको यो तेस्रो पटक हो । सरकारले भने बाह्रै महिना तर अस्थायी रुपमै भएपनि काठमाडौं उपत्यकावासीलाई पानी खुवाउने प्रतिबद्धता व्यक्त गरेको छ । राजनीतिक स्वार्थका लागि प्रयोग गरिएको मेलम्चि खानेपानी आयोजना निर्माण सम्पन्न भएको घोषणा गरेको २ वर्ष हुन लागिसक्यो ।

२०७७ साल चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा धारा खोलेर मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण कार्यक्रम उद्घाटन गरेकी थिइन् । तर, पनि काठमाण्डौबासीले मेलम्चीको पानी खान पाएनन् । आयोजना सुरु भएको करिब २२ वर्षपछि पानी काठमाण्डौमा त आयो, तर निरन्तरता पाउन सकेन ।

काठमाण्डौमा खानेपानी वितरण सुरु भइसकेपछि २०७८ साल असार १ गतेको बाढीले आयोजनाका संरचनामा क्षति पुर्यायो । जसका कारण पानी वितरणमा पुनः अवरोध पुग्यो । मर्मत गरेर गत वैशाख ११ देखि अस्थायी संरचनाबाट मेलम्ची वितरण सुरू भएको थियो । बर्खा लागेसँगै सम्भावित क्षतिलाई न्यूनिकरण गर्न फेरी जेठ १८ देखि सुरुङमा पानी पठाउने ढोका बन्द गरिएको थियो ।

शुक्रबारदेखि खानेपानी काठमाडौं उपत्यकामा पुनः वितरण गर्न सुरु गरिएको छ । खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले शुक्रबार एक कार्यक्रमबीच पानी वितरण कार्यको पुनः शुभारम्भ गरेका हुन् । मेलम्चीको पानी काठमाडौंमा वितरण कार्य शुभारम्भ गरिएको यो तेस्रो पटक हो । तर, पनि मन्त्री चौधरीले भने अस्थायी रुपमै भएपनि काठमाडौं उपत्यकावासीलाई १२ महिना नै पानी खुवाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आयोजनाले अस्थायी संरचनाबाट सुन्दरीजलमा पानी ल्याएर उपत्यकाका १० वटा ट्यांकीबाट ५ करोड ८३ लाख लिटर पानी वितरण गरेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ । हाल काठमाडौं उपत्यकामा खानेपानीको माग दैनिक ४३ करोड लिटर रहेको केयूकेएलले जनाएको छ । आयोजनाबाट उपलब्ध हुने पानी काठमाडौं महानगर, गोकर्णेश्वर, बूढानीलकण्ठ नगरपालिका, ललितपुर महानगरपालिका, कीर्तिपुर, भक्तपुर, मध्यपुर थिमि, टोखा, तारकेश्वर नगरपालिकाको कार्यक्षेत्रभित्र प्रथम चरणमा २४ सै घण्टा आलोपालो वितरण गरिने छ ।


क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #खानेपानी वितरण सुरु, #मेलम्चि खानेपानी आयोजना, #मेलम्ची खानेपानी

तपाईको कमेन्ट लेख्नुहोस्