Techie IT
  • ३० चैत्र २०८१, शनिबार
KhojPatrika

केन्द्रदेखि प्रदेशसम्म कांग्रेस प्रतिपक्ष, यसरी बन्नेछन् एमाले गठबन्धनको प्रदेशमा सरकार


काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धन गर्दा सबभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस सबैतिर प्रतिपक्षमा बस्नुपर्ने निश्चित भएको छ । दोस्रो ठूलो दल नेकपा एमाले र तेस्रो दल माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टी र अरु साना दलहरू समेटेर नयाँ सरकार बनाउने सहमति गरेसँगै कांग्रेस प्रतिपक्षमा बस्ने निश्चित भएको हो । प्रतिनिधि सभामा पहिलो दल बनेको नेपाली कांग्रेसले गठबन्धनभित्र सहमति जुटाउन नसक्दा चुनावपछि पाउने सबै पद गुमाएको छ ।

प्रतिनिधि र प्रदेश सभाको निर्वाचनपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाका सभामुख र उपसभामुखलगायतका पदमा नयाँ व्यक्ति निर्वाचित हुन्छन् । प्रतिनिधिसभा र प्रदेशसभामा बहुमत पु¥याउने गठबन्धनकै दलहरुले ती पद आपसमा भागवण्डा गर्नेछन् । तर, गठबन्धन जोगाउन नसक्दा कांग्रेसले कुनै पनि पद नपाउने निश्चित भएको छ ।

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बनेको गठबन्धनका कारण सबै प्रदेशमा यहि गठबन्धनको सरकार बन्ने पक्का भएको छ । प्रदेश–१ को सबैभन्दा ठूलो दल एमालेलाई सरकार बनाउन ७ सिट अभाव थियो । तर, माओवादी केन्द्रसँग १३ सिट भएकाले सजिलै सरकार बन्नेछ । ९३ सदस्यीय प्रदेशसभामा एमालेसँग ४० सिट छ । राप्रपासँग ६ र जसपासँग एक सिट छ । प्रदेशसम्मको समिकरणकै कारण २९ सिटको कांग्रेस प्रदेश–१ मा प्रतिपक्षमा बस्नुपर्नेछ ।

मधेश प्रदेशमा एमाले, माओवादी, जसपा र जनमत पार्टी मिले सरकार बन्नेछ । एमालेसँग २३, जसपासँग १६, जनमत पार्टीसँग १३ र माओवादीसँग ८ सिट छ । १०७ सदस्यीय प्रदेशसभामा यी चारको सिट संख्या ६० पुग्नेछ । सरकार बनाउन ५४ सिट सहजै प्राप्त हुनेछ ।

बागमती प्रदेशमा राप्रपाको साथ पाएर एमाले नेतृत्वकै गठबन्धनले सरकार बनाउनेछ । ११० सदस्यीय प्रदेशसभामा एमालेसँग २७ र माओवादीसँग २१ सिट छ । १३ सिटको राप्रपाले साथ दिने भएपछि सरकार सहज रुपमा बन्नेछ । गण्डकीमा पनि राप्रपाको साथले कांग्रेस इतरको सरकार बन्नेछ ।

गण्डकीमा एमालेसँग २२ र माओवादीसँग ८ सिट छ । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ सिट आवश्यक पर्छ । राप्रपासँग २ सिट भएकाले बहुमत पुग्छ ।

लुम्बिनीमा पनि राप्रपाको साथ पाउँदा सरकार बन्नेछ । लुम्बिनीमा एमालेसँग २९, माओवादीसँग ९ र जसपासँग ३ सिट छ । राप्रपासँग ४ सिट भएकाले प्रदेशसभामा बहुमत पुग्छ । ८७ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ४४ सिट आवश्यक पर्छ ।

कर्णालीमा एमाले र माओवादी मिल्दा मात्रै सरकार बन्छ । ४० सदस्यीय प्रदेशसभामा माओवादीसँग १३ र एमालेसँग १० सिट छ । सुदूरपश्चिममा भने नागरिक उन्मुक्ति निर्णायक छ । ७ सिटको नागरिक उन्मुक्ति पार्टीले साथ दिएकोले यही गठबन्धनको सरकार बन्नेछ ।

५३ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रसँग ११ र एमालेसँग १० सिट छ । प्रदेशमा उम्मेद्वार नबनाएको राष्ट्रिय स्वतन्त्र पार्टी बाहेक अन्य ६ दलले प्रचण्डलाई साथ दिएपछि सातै प्रदेशमा पनि भागबण्डाकै आधारमा सरकार बन्ने पक्का पक्की छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #उपराष्ट्रपति, #नेपाली कांग्रेस, #प्रतिनिधिसभा, #प्रदेशसभा, #प्रधानमन्त्री, #राष्ट्रपति, #सभामुख

तपाईको कमेन्ट लेख्नुहोस्