Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

उप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भनेजस्तो सजिलो छैन निर्मला पन्तलाई न्याय दिन !


काठमाडौं । नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तलाई न्याय दिन पहल गर्ने पहिलो निर्णय गरे । सपथ ग्रहणपछि सिंहदरबारमा पुगेर कार्यभार सम्हालेपछि उनले आफ्नो पहिलो निर्णयको रुपमा निर्मला पन्तलाई न्याय दिनको लागि पहल गर्ने निर्णय त परे तर, उनीलाई न्याय दिन भने त्यति सजिलो देखिदैन ।

सञ्चारक्षेत्रमा काम गर्दा निर्मला पन्तको हत्यारा पक्राउ गर्न नसकेको भन्दै सरकार र प्रहरी प्रशासनको निक्कै कडा आलोचना गरेका लामिछाने आफै गृहमन्त्रालयको नेतृत्वमा पुगेका छन् । उनले चलाउने कार्यक्रममा निर्मला पन्तबारे छुट्टा छुट्टै धेरै रिपोर्ट प्रशारण गरे ।

प्रहरी प्रशासनसँग जवाफ पनि मागे । तर, उनीहरुले दिने जवाफमा सधैं प्रतिप्रश्न गरिरहे । अव उनी जवाफ दिने ठाउँमा पुगेका छन् । निर्मलालाई न्याय दिने भन्नुको तात्पर्य हत्यारा नै पत्ता लगाउनु हो । तर, धेरै अनुसन्धान भएको यो घटनाका दोषी पत्ता लगाउन धेरै चुनौति छ ।
के हो निर्मला पन्त हत्या प्रकरण !


कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको चार बर्षबढी भएको छ । हत्याकाण्डबारे राष्ट्रिय अन्तर्राष्टिय चर्चा भएपछि अझैसम्म सुल्झिन सकेको छैन । अनुसन्धान जारी नै रहेको बताउने बाहेक प्रहरीले कुनै उपलब्धि हात पार्न सकेको छैन । १० साउन २०७५ मा साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी रोशनीको नजिकैको उखुबारीमा दोस्रो दिन शव भेटिएको थियो ।

निर्मलाको बलात्कारपछि हत्या भएको मेडिकल रिपोर्टमा देखिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले घटनाको करिब एक महिनापछि स्थानीय दिलीपसिंह विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेपनि भेजिनल स्वाबमा भेटिएको डीएनएसँग ‘म्याच’ नभएपछि उनी छुटे ।

नक्कली व्यक्तिलाई उभ्याएर वास्तविक अपराधीलाई उम्काउन खोजेको आरोप प्रहरीले खेप्नुपर्यो । अपराध अनुसन्धानमा गम्भीर लापरबाही गरेको र प्रमाण नष्ट गरेको भन्दै तत्कालीन कन्चनपुर प्रहरी प्रमुख डिल्लीराम विष्ट र इलाका प्रहरी प्रमुख बर्खास्त भए । सीआईबीले २÷२ महिनाको अन्तरमा विभिन्न टोलीहरु पठाएपनि अभियुक्त पत्ता लगाउन सकेन ।

अनुसन्धानमा प्रहरीले गल्ती नगरेको भन्दै अधिकृत र जवानलाई फेरि पुर्नबहाली गरियो । धेरै अनुसन्धान र अन्तराष्ट्रिय चर्चा पाएको यो घटनाका दोषी पत्ता लगाउन हरेक बन्ने सरकार र मन्त्रीलाई चुनौति बन्ने गरेको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #उप्रधान एवं गृहमन्त्री रवि लामिछाने, #गृहमन्त्री रवि लामिछाने, #निर्मला पन्त

तपाईको कमेन्ट लेख्नुहोस्