प्रदेशमा मुख्यमन्त्री, सभामुख र उपसभामुखमा भागबण्डा, चित्त बुझाउन आलोपालो !

काठमाडौं । सत्ता गठबन्धन दलबीचको सहमति अनुसार सुदूरपश्चिम र वागमतीमा आलोपालो मुख्यमन्त्रीको नेतृत्व एमाले र माओवादीले गर्दैछन् । बामतीमा पहिलो कार्यकाल माओवादीले र दोश्रो कार्यकाल एमालेले, सुदूरपश्चिममा पहिले एमालेले र दोश्रो कार्यकाल माओवादी केन्द्रले गर्ने सहमति अनुसार सरकार गठनको प्रक्रिया अघि बढेको छ । यता, मधेस प्रदेशमा पहिलो चरणमा जसपा र त्यसपछि जनमत पार्टीले नेतृत्व गर्नेगरि सहमति जुटेको छ । प्रदेश १, गण्डकी र लुम्बिनीमा पाँच वर्ष नै एमालेका मुख्यमन्त्री रहने सहमति जुटेको छ । यस्तै, कर्णालीमा माओवादी केन्द्रले पाँच वर्षसम्मै सरकार चलाउनेछ ।
वागमतीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका जम्मकट्टेल
बागमती प्रदेशमा पहिले सकारको नेतृत्व गर्ने सहमति अनुसार माओवादी केन्द्रको संसदीय दलका नेता शालिकराम जम्मकट्टेल ७० संसदको समर्थनमा मुख्यमन्त्री बनेका छन् । जम्मकट्टेललाई माओवादीका २१, एमालेका २७ र राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ गरि ७० प्रदेश सांसदको समर्थन रहेको छ ।
यहाँ दोश्रो चरणमा अर्थात साँढे २ वर्षपछि एमालेले सरकारको नेतृत्व पाउनेछ । एमालेबाट बागमती प्रदेश संसदीय दलको नेता जगन्नाथ थपलिया चयन भएकाले उनी नै दोश्रो कार्यकालमा मुख्यमन्त्री बन्ने सम्भावना बलियो छ ।
गण्डकी प्रदेशमा पाँच वर्ष नै एमालेका अधिकारीको नेतृत्व
गण्डकीमा एमाले संगठन विभाग प्रमुखसमेत रहेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका छन् । अधिकारीलाई सत्तारुढ दलका तर्फबाट एमालेका २२ माओवादी केन्द्रका ८, राप्रपाका २ र एकिकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसद राजिव गुरुङसहित ३३ सांसदले समर्थन गरेका छन् । ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिन्छ ।
प्रदेश एकको मुख्यमन्त्रीमा एमालेका कार्की, आलोपालोको बिवाद
एमाले सांसद हिक्मत कार्की प्रदेश एकको मुख्यमन्त्री बनेका छन् । प्रदेश एकको मुख्यमन्त्री बनेका कार्कीलाई एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका एक सांसदसहित ६० सांसदको समर्थन रहेको छ ।
प्रदेश १ मा आलोपालो सरकार चलाउनुपर्ने भन्दै माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले सरकारमा सहभागि नहुने भन्दै असहमती जनाएका छन् । मुख्यमन्त्री कार्कीसँगै एमालेका तीलकुमार मेन्याङ्बो, राप्रपाका भक्ति सिटौला र जसपाकी निर्मला लिम्बूले मन्त्री पद तथा गोपनियताको शपथ नै लिएका छन् ।
मधेश प्रदेशमा जसपा र जनमतको आलोपालो, पहिला जसपाको नेतृत्व
मधेस प्रदेश सरकारको नेतृत्व जनता समाजवादी पार्टी, नेपाल र जनमत पार्टीले आलोपालो गर्नेछन् । सरकारको नेतृत्व सुरुमा जसपाले गर्ने सहमति अनुसार प्रदेश सभाका पूर्वसभामुख सरोज यादव मुख्मन्त्री बन्नेछन् । साँढे दुई वर्षपछि जनमत पार्टीका महेश प्रसाद यादवले सत्ताको नेतृत्व पाउनेछन् ।
१ सय ७ सदस्य रहने मधेस प्रदेशसभामा बहुमतका लागि ५४ सांसदको समर्थन चाहिन्छ । एमालेका २२, जसपाका १६, जनमतका १३, माओवादी केन्द्र ९ सांसद जोड्दा नै ६० सांसद पुग्ने भएकाले यहाँ सत्ता गठबन्धनको सहमति अनुसार नै सरकार बन्नेछ ।
लुम्बिनीको मुख्यमन्त्रीमा पाँच वर्ष नै एमालेका गिरी
प्रदेशको तेस्रो मुख्यमन्त्री नेकपा एमालेका लीला गिरी बन्ने निश्चित जस्तै छ । सत्ता गठबन्धन दलबीच भएको भागबन्डाअनुसार लुम्बिनीमा एमालेले पूरै समय सरकार चलाउनेछ । ८७ सदस्यीय रहेको प्रदेश सभामा एमालेबाट २९ सांसद छन् ।
माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४÷४ जना र जनमत पार्टीका ३ जना सांसदले समर्थन गरेमा मात्रै पनि ५० सांसद पुग्नेछन् । गठबन्धन दलको ३ जना सांसद रहेको जसपाले अझै निर्णय लिइसकेको छैन । यहाँको बहुमत पुराउन ४४ सांसद आवश्यक पर्छ । अझ, नेकपा माओवादी केन्द्रबाट विद्रोह गरी एमालेको समर्थनमा निर्वाचित २ सांसद समेत गठबन्धनमा रहँने आँकलन गरिएको छ ।
कर्णालीको मुख्यमन्त्रीमा पाँच वर्ष नै माओवादी केन्द्रका शर्मा
कर्णाली प्रदेशको मुख्यमन्त्री नेकपा (माओवादी केन्द्र) का राजकुमार शर्मा बन्ने निश्चित बनेको छ । सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले कर्णालीमा माओवादीको नेतृत्वमा पाँच वर्ष सरकार सञ्चालन गर्ने सहमति गरेसँगै शर्मा भाग्यमानी ठहरिएका हुन ।
१३ सिटसहित दोस्रो स्थानमा रहेको माओवादीले दोस्रो पटक पनि सरकारको नेतृत्व गर्ने अवसर पाएको छ । एमालेका यामलाल कँडेलको मुख्यमन्त्री बन्ने सपनामा ब्रेक लाग्दा शर्माले एमालेका १०, राप्रपाको एक र एक एक स्वतन्त्र सांसदको समर्थनमा सरकार चलाउने देखिएको छ । ४० जना सांसद रहने कर्णाली प्रदेश सभामा बहुमतका लागि २८ सांसद चाहिन्छ ।
सुदूरपश्चिममा एमालेका गिरी मुख्यमन्त्री बन्दै, आलोपालोको सहमति
सुदूरपश्चिम प्रदेशमा एमाले र माओवादी केन्द्रबीच आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति जुटेको छ । सहमति अनुसार पहिलो कार्यकालका लागि एमाले संसदीय दलका नेता राजेन्द्र रावल मुख्यमन्त्री बन्नेछन् । साँढे २ वर्षपछि माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्टले सरकारको नेतृत्व गर्नेछन् ।
सरकार गठनमा ७ सांसद रहेको नागरिक उन्मुक्ति पार्टी निर्णायक देखिएको छ । ५५ सदस्यीय यो प्रदेशमा एमालेका १०, माओवादीका ११, राप्रपाका एक सांसद रहेका छन् । एक स्वतन्त्र सांसद छन् । कांग्रेससँग १९ सांसद रहेका छन् । सात दलीय सत्ता गठबन्धनको सहमति अनुसार मधेश र कर्णालीमा एमालेले सभामुख, प्रदेश १ र गण्डकीमा उपसभामुख पाउनेछ ।
प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा सभामुख पाउने माओवादी केन्द्रले बागमती र कर्णालीमा उपसभामुख पाउने भएको छ । बाग्मतीमा सभामुख पाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले लुम्बिनीमा उपसभामुख लिने भएको छ । मधेश प्रदेशमा जनमत पार्टीले उपसभामुख लिने भएको छ ।
सुदूरपश्चिममा नागरिक उन्मुक्तिलाई उपसभामुख दिने प्रस्ताव गरिएपनि निर्णयमा सहमति जनाइसकेको अवस्था छैन ।यसरी भागबण्डा मिलाउँदा समानुपातिक समावेशीको नारा दिने दलहरुले कुनै पनि प्रदेशमा महिलालाई मुख्यमन्त्री बनाउन आबश्यक ठानेनन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #माओवादी केन्द्र, #सत्ता गठबन्धन, #सुदूरपश्चिम र वागमती
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्