संसद विघटनको विषयलाई लिएर दलका नेताहरुबीच जुहारी, ओलीलाई देउवा र नेपालको कटाक्ष

काठमाडौं । राजनीतिक दलका नेताहरुले देशको विकास र समृद्धिका लागि सबै दल एक ठाउँमा उभिनुको विकल्प नभएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनुअघि नेताहरुले सहकार्यमा प्रतिबद्धता जनाएका हुन । तर, विगतको राजनीतिक घटनाक्रमलाई लिएर नेपाली कांग्रेस र नेकपा एमालेका नेताबीच सवाल–जवाफ चलेको छ । विश्वासको मत लिनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई साझा प्रधानमन्त्रीका रुपमा राष्ट्र निर्माणको अवसर दिन सांसदहरुलाई आग्रह गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले हिजो क्रान्ति सुरु गर्दा जुन आवेग र अठोट थियो, बीचमा केही अलमल भएपनि अहिले त्यही आवेग र अठोटका साथ रोष्टममा उभिएको बताए । प्रचण्डले सिंहदरबारमा फोटो झुण्ड्याउन मात्र प्रधानमन्त्री नभएको भन्दै हरेक पटक संसदमा आउदा उपलब्धिको डेटा र रिपोर्ट कार्डका साथ उपस्थित हुने दाबी गरे । राजनीतिकर्मी चुकेकै कारण ५० लाख युवा विदेशमा काम गर्न बाध्य भएका, विकास आयोजना लथालिंग भएका र विश्वविद्यालयहरु आफ्नो क्यालेन्डर पनि बनाउन नसक्ने गरी भद्रगोल भएका प्रधानमन्त्री प्रचण्डले बताए ।
उनले आफूले निषेध, अपमान र प्रतिशोधको राजनीति नगरी सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाउन चाहेको पनि बताए । प्रधानमन्त्री प्रचण्डले राष्ट्रियता, राष्ट्रिय सुरक्षा, परराष्ट्र सम्बन्धमा राष्ट्रिय सहमतिको विकल्प नभएको भन्दै शान्ति प्रक्रियाका बाँकी कामलाई तार्किक निष्कर्षमा पु¥याउन पनि सहमति आवश्यक रहेको बताएका थिए ।
त्यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनका प्रमुख नेता केपी शर्मा ओलीले संसद् विघटन फेरि पनि हुन सक्ने अभिव्यक्ति दिएको भन्दै यसबाट प्रधानमन्त्री प्रचण्डको परीक्षणको घडी शुरु भएको टिप्पणी गरे । सभापति देउवाले हिजो ओलीको विघटनविरुद्ध अहिलेका प्रधानमन्त्रीसहित आफूहरू संविधानको रक्षाका लागि एक ठाउँमा उभिएको स्मरण गराए । सभापति देउवाले विश्वासको मत दिने तर प्रतिपक्षमा रहँदा कांग्रेसले विरोधका लागि विरोध नगर्ने भन्दै गुण र दोषका आधारमा सरकारको मूल्याङ्कन गर्ने बताए ।
सभापति देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीको अघिल्लो दिनको अभिव्यक्तिको विरोध गरे लगत्तै बोल्न रोष्टममा ओली पुगेका थिए । अध्यक्ष ओलीले पटक–पटक देउवाले संसद विघटन गरेको आरोप लगाए । अध्यक्ष ओलीले कांग्रेस र राप्रपा अहिले समान हैसियतमा सरकारका सहयोगी बनेको भन्दै कांग्रेसको समर्थन सदाशयताबाहेक अरू उद्देश्यले भएको हो भने त्यो सफल नहुने दाबी गरे । कांग्रेसले विश्वासको मत दिएपछि अब संसदमा प्रतिपक्ष नै नरहेको ओलीले जिकिर गरे । अध्यक्ष ओलीले कांग्रेसले जाल थाप्न खोजेको हो भने जालमा माछा नपर्ने चेतावनी समेत दिए ।
नेकपा माओवादीकी सांसद रेखा शर्माले कांग्रेस सभापति देउवाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर निधेषको राजनीति अन्त्य गरेको बताइन । देशलाई अफ्ठ्यारो परेको बेलामा सबै एकजुट हुने राष्ट्रिय सहमतिको सुरुवात हुन लागेकोप्रति उनले खुशी लागेको बताइन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले वर्तमान सरकारको कार्यकालभर न्याय सम्पादन रहिरहने बताए । उनले लोकतन्त्र व्यवहारमै उतार्नुपर्ने भन्दै निर्मला पन्त र नवराज विकहरुले न्याय नपाएसम्म लोकतन्त्र बलियो हुन नसक्ने बताएका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेनले कुनै पनि राजनीतिक दलको बहुमत नभएकाले सबै राजनीतिक दलहरु मिलेर जानुको विकल्प नभएको बताए । पृथ्वीनारायण साह थिए र नेपाल राष्ट्र छ भन्दै उनले राष्ट्रनिर्माताको सम्मान गरेर सरकारले पृथ्वीजयन्तीमा बिदा दिने निर्णय गरेकोप्रति धन्यवाद दिए । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईले प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय एकता अगाडि बढाउन सक्ने विश्वास व्यक्त गर्दै सरकारले प्रतिबद्धताअनुसार काम गर्ने विश्वास बताए ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष ओलीले गरेको संसद विघटन प्रतिगमन नै भएको भन्दै फेरि संसद विघटन सही हो भन्दै दिएको अभिब्यक्तीप्रति आपत्ति जनाए । अध्यक्ष नेपालले भ्रष्टाचारको जड राजनीतिक इच्छाशक्तिको कमी भएको बताएका थिए । गफ ठूलो गर्ने, तर आफैं भ्रष्टाचारको संरक्षक, उत्प्रेरक हुने गरेको आरोप लगाएका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #अपमान र प्रतिशोध, #दाहाल प्रचण्डलाई विश्वासको मत, #प्रचण्डलाई विश्वासको मत, #प्रधानमन्त्री प्रचण्ड
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्