Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

के प्रधानमन्त्रीलाई विश्वासको मत दिएको पार्टी प्रतिपक्ष हुन सक्छ ?


काठमाडौं । नेपाली कांग्रेससहितका प्राय सबै दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएसँगै कानुनी रूपमा प्रतिनिधिसभा प्रमुख प्रतिपक्षविहीन भएको छ । शक्ति सन्तुलनका लागि कायम गरिएको व्यवस्था विरुद्ध दलहरु अघि बढ्दा संवैधानिक संरचना कमजोर हुने जोखिम बढ्दैगर्दा कांग्रेस प्रतिपक्षी दल की सरकारलाई समर्थन नदिने राष्ट्रिय जनमोर्चा र नेमकिपा भन्ने प्रश्न समेत उब्जिएको छ ।

प्रचण्ड सरकारलाई विश्वासको मत दिएसँगै कांग्रेसले संसदमा कानुनी रूपमा प्रमुख प्रतिपक्षीय हैसियत गुमाएको छ । तर कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरुले मत दिएर समेत गुण र दोषका आधारमा समर्थन र बिरोध गर्दै प्रतिपक्षी भूमिका निर्वाह गर्ने बताइरहेका छन् ।

हुन त लामो संसदीय अभ्यासबाट खरिएको कांग्रेसका प्रमुख नेताहरुले बारम्बार लोकतन्त्रको सबलीकरण र सुदृढीकरणका लागि संसद्मा प्रमुख प्रतिपक्षको भूमिका सशक्त हुनुपर्ने आवाज उठाउँदै आएका छन् । तर, प्रचण्ड सरकारलाई उत्तरदायी र जिम्मेवार बनाउने, सरकारका गलत कामकुरालाई रोक्न कोसिस गर्ने, जनतामाझ गएर सजग बनाउने भूमिका खेल्नुपर्ने दायीत्व विर्सिएर विश्वासको मत दिइएको भन्दै कांग्रेको चर्को आलोचना भैरहेको छ ।

भनिन्छ, संसदीय लोकतन्त्रमा प्रतिपक्ष विनाको संसद्को परिकल्पना नै गरिंदैन । तर, अहिलेको संसद करिब करिब प्रतिपक्षी बिहिन जस्तै बनेको छ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन पार्टी निर्णय विरुद्ध फरक मत राख्दै कांग्रेसका महमन्त्री द्धय गगनकुमार थापा, विश्वप्रकाश शर्मासहितका ५ नेताहरुले नै विश्वासको मत दिएर प्रतिपक्षमा बस्न कांग्रसलाई संविधान नदिने भन्दै सजग गराएका छन् ।

प्रचण्ड नेतृत्वको सरकारलाई सत्ता गठबन्धनबाहेकका नेपाली कांग्रेस, नेकपा एस, लोसपा समेतले विश्वासको मत दिएसँगै अब प्रतिपक्षी दल र नेताको भूमिकामा २ सांसद मात्रै रहनेछन् । नेमकिपाका सांसद प्रेम सुवाल र जनमोर्चाका अध्यक्ष समेत रहेका सांसद चित्रबहादुर केसीले प्रधानमन्त्रीमाथी विश्वासको मत नदिएर कांग्रेसको भुमिकामाथी नै प्रश्न उठाएका छन् ।

संवैधानिक कानुनका जानकारहरु समेत विश्वासको मत नदिने दल नै सदनमा प्रमुख प्रतिपक्षीको भुमिकामा हुने बताउँछन् । संविधानले बलियो प्रतिपक्षि मार्फत सरकारलाई गलत काम गर्नबाट रोक्ने परिकल्पना गरेपनि अहिलेको राजनीति अभ्यासले सरकारमाथीको खबरदारी कमजोर बनाउने भएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, रास्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, नेकपा एस, लोसपा, जनमत, नागरिक उन्मुक्ति, आम जनता पार्टीदेखि २ स्वतन्त्र सांसदले माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि अब नेमकिपा र राष्ट्रिय जनमोर्चाले मात्रै प्रतिपक्षी दलको भूमिका कसरी निर्वाह गर्छन् ? चासोका साथ प्रतिक्षा गरिएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड, #प्रतिपक्ष, #विश्वासको मत

तपाईको कमेन्ट लेख्नुहोस्