Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

सरकार विस्तारमा दलहरुलाई सकस, कांग्रेसको प्रवेशले गठबन्धनमै समस्या


काठमाडौं । प्रचण्डले प्रधानमन्त्रीको सपथ लिएको १८ दिन बितिसक्दा पनि सत्ता गठबन्धनले सरकारलाई पूर्णता दिन सकेको छैन । उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सभामुख र उपसभामुखका लागि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको छ । सरकार गठन भएको तीन हप्ता हुँदैछ तर अझैसम्म सरकारले पूर्णता पाएको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार ओली निवास बालकोटमा र बिहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा लामो भेटघाट हुँदा पनि भागवण्डाको गाँठो फुकाउन सकेनन् । त्यसैले बिहिबार डाकिएको सत्ता गठबन्धनको बैठक समेत स्थगित भयो ।

सत्ता गठबन्धनमा भागबण्डा नमिल्दा प्रचण्डसंगै शपथ लिएका चार जना मन्त्रीले अझै जिम्मेवारी पाएका छैनन् । सरकारमा जान खुट्टा उचालिसकेका राप्रपा सहितका दलहरु पनि सरकारमा सहभागि हुन पाएका छैनन् । उता कांग्रेसले भने सभामुख र उपसभामुखमा दावी गर्ने प्रष्ट पारेको छ । अहिले अंकगणितीय रुपमा कमजोर अवस्थामा रहेको कांग्रेसले यो विषयमा अन्य दलसँग समेत छलफल गर्ने निर्णय गरेको छ ।

प्रतिपक्षमा रहेको कांग्रेसले सरकारलाई विश्वासको मत दिएसँगै राजनीतिमा आशंका र अनुमानको श्रृङ्खला सुरु भएको छ । सरकारलाई पूर्णता दिने विषयमा सत्ता गठबन्धन अहिले सम्म पनि अनिर्णित रहनु र कांग्रेसले सभामुख र उपसभामुखमा दावी गर्नुले त्यस्ता आशंकालाई थप बल मिलेको छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #प्रचण्डले प्रधानमन्त्री, #सत्ता गठबन्धन, #सरकारलाई पूर्णता

तपाईको कमेन्ट लेख्नुहोस्