साढे २ घण्टाको आन्दोलनले अस्पतालमा भद्रगोल, ६ बुँदे सहमतिपछि आन्दोलन फिर्ता

काठमाडौं । माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदलाई सम्बोधन गरेर शितल निवास फर्किंदै गर्दा प्रहरीले खाली गराएको सडकमा हिँडेको भन्दै ट्रमा सेन्टरका डाक्टर जनिथलाल सिंहमाथि प्रहरीले कुटपिट गरे । त्यसको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेपछि सेवा नै प्रभावित बन्यो ।
साढे २ घण्टापछि सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमतिपछि आन्दोलन फिर्ता भएको छ । आइतबार सरकारसँग ६ बुँदे सहमति भएपछि चिकित्सकहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । शुक्रबार ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंहलाई प्रहरीले घाइते बनाएको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गर्ने निर्णय गरेको थियो । सोही आन्दोलनका क्रममा आइतबार झण्डै साढे दुई घण्टा स्वास्थ्य सेवा नै प्रभावित भएको थियो ।
आकस्मिक बाहेकका अन्य सेवा बन्द गरेर चिकित्सक नै आन्दोलनमा उत्रिएपछि टाढा–टाढाबाट उपचारका लागि अस्पताल पुगेका बिरामी समस्यामा परेका थिए । चिकित्सक नै आन्दोलनमा गएपछि निरास भएका विरामीका आफन्त समेत बीर अस्पताल बाहिर सेवा सुचारु गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका थिए । देशभरका अस्पताल नै चिकित्सकले ठप्प पार्नु र विरामीका आफन्त नै आन्दोलनमा उत्रिएपछि सरकारलाई दवाव परेको थियो । त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरकारी प्रतिनिधि र चिकित्सकहरुबीच वार्ता भएको थियो ।
वार्तामा चिकित्सक कुटिएको घटनाको समग्र पक्षमा एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले गर्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने र चिकित्सकक संघले आन्दोलन स्थगित गर्ने सहमति भएपछि चिकित्सकहरु काममा फर्किएका छन् । सहमति पत्रमा सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेय र चिकित्सकको तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरेका छन् ।
साढे दुई घण्टा स्वास्थ्य सेवा प्रभावित हुँदा सरकारी अस्पतालमा उपचार तथा डायलाइसिस गर्न पुगेका विरामीहरुले सास्ती पाएको गुनासो गरेका छन् । ६ बुँदे सहमति गरेका चिकित्सक कार्यान्वयन हुनेमा भने आशंका ब्यक्त गर्छन् । सरकारले सहमति कार्यान्वयन नगरे थप आन्दोलन गर्ने जनाएको छ । त्यस्तै, सरकार विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधिमा परिमार्जन गर्न पनि तयार भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा खाली गराइएको सडकमा निस्किएको भन्दै ट्रमा सेन्टरका चिकित्सकलाई प्रहरीले कुटपिट गरेपछि आन्दोलनरत चिकित्सकसँगको वार्तामा सरकारी टोली कार्यविधि परिमार्जनका लागि तयार भएको हो । सहमति पत्रको चार नम्बर बुँदामा बिरामी, आम नागरिक, विशेष गरी स्वास्थ्य संस्था, विद्यालय लगायतका संवेदनशील संस्था तथा क्षेत्रहरुमा असहज नहुने गरी कार्यविधि परिमार्जन गर्न सरकारलाई एकहप्ताभित्र सुझाव पेश गर्ने उल्लेख छ । उक्त सुझावलाई सरकारले यथाशीघ्र कार्यान्वयनमा लैजाने पनि उल्लेख गरिएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #ट्रमा सेन्टर, #विद्यादेवी भण्डारी, #संघीय संसद
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्