Techie IT
  • २३ माघ २०८१, बुधबार
KhojPatrika

सत्ताका लागि लुछाचुडी, कहिले एमाले त कहिले कांग्रेसको काँधमा प्रचण्ड !


काठमाडौं । पुस १० गते नेकपा एमालेको साथ लिएर प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई महिनामै गठबन्धन भत्काइदिए । चुनावताका बनेको गठबन्धनबाट सरकारको नेतृत्व नपाएपछि एमालेसँग मिल्न गएका दाहाल राष्ट्रपतिको चुनावअघि भने पुनः पूरानै गठबन्धनमा फर्किए । सत्ता टिकाउन राजनीतिमा गरिने अनेक जालझेलले अस्थिरता निम्त्याइरहेको छ । संघदेखि प्रदेशसम्म नै नयाँ भागबण्डाको स्वार्थले बनेको कांग्रेस नेतृत्वको गठबन्धन कति समय टिक्ला त ? भन्ने सबैतिर उठेको छ ।

राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सघाउने निर्णय गर्दै नेकपा माओवादी केन्द्रले सरकार बनाउन साथ दिएको एमालेलाई नै जिल्ल बनाइदियो । पुस १० मा आफ्नो पार्टीलाई राष्ट्रपति दिने सहमति भएको भन्दै एमालेले राष्ट्रपतिको उम्मेदवारमा शुवासचन्द्र नेम्बाङलाई अघि सारेको छ । एमालेले अझै माओवादी लगायत सरकार बनाउदा गठबन्धनका आवद्ध दलको साथ पाउने अपेक्षा गरेको छ । कांग्रेसलाई राष्ट्रपति दिने गरी माओबादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ती तथा जनमोर्चासहितका ८ दलको नयाँ गठबन्धन बनेको छ ।

गठबन्धन बन्दा समेत एमालेले राष्ट्रपति चुनावअघि सरकारबारे कुनै निर्णय नगर्ने बताइसकेको छ । राप्रपा र रास्वपाले छाडेपनि एमाले भने सरकारमै छ । एमाले गठबन्धन भत्काउदै नयाँ गठबन्धनलाई आफ्नै ब्याख्या गरेका प्रधानमन्त्री दाहाल ८ दलसँगको सहकार्य कसरी अघि बढाउलान् भन्ने चासो छ । उनले सत्ता साझेदार दलले नै संविधानमाथि प्रहार गरेका कारण गठबन्धन फेर्नु परेको स्पष्टीकरण दिएका छन् ।

प्रधानमन्त्री दाहालले आठ दलबीच भएको सहमति नै राष्ट्रिय सहमतिकै प्रारूप भएको दाबी गरिरहेका छन् । तर, राजनीतिक विश्लेषक भने उनको भनाईलाई मान्न तयार छैनन् । सत्ता लम्ब्याउन र स्वार्थको राजनीतिले गठबन्धन फेरवदल भइरहेको विश्लेषक डाक्टर सुरेन्द्र केसी बताउछन् । स्वार्थले बनेको ८ दलीय गठबन्धन पनि लामो समय टिक्न नसक्ने उनको भनाई छ ।

तीन नेताले आलोपालो गरेर सरकार चलाउने भित्रि सहमति भएको नेताहरुको दाबी छ । यो भागबण्डाका कारण अहिलेको गठबन्धनका नेताहरु नै सन्तुष्ट छैनन् । ८ दलका बीचमा सत्ता साझेदारमै कुरा मिल्न गाह्रो भएको उनीहरुको भनाई छ । सरकारको नेतृत्व संसदको तेस्रो पार्टी माओवादीले गरिरहेको छ । पटक–पटक फेरिएको सत्ता सहकार्य र गठबन्धन अनि माओवादीका अध्यक्ष दाहालले गरेको अपरिपक्व निर्णयले राजनीतिप्रति थप बितृष्णा देखिएको छ । जनताका मुद्धाभन्दा पनि पद र पावरका लागि गरिने स्वार्थगत गठबन्धन लामो समय टिक्नेमा भने धेरैले आशंका ब्यक्त गरेका छन् ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गठबन्धन, #पुष्पकमल दाहाल, #सरकारको नेतृत्व

तपाईको कमेन्ट लेख्नुहोस्