Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

१६ मन्त्रालय मन्त्री विहिन, सरकार विस्तार भने उपराष्ट्रपति निर्वाचनपछि मात्रै !


काठमाडौं । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा सरकारबाट बाहिरिएपछि यतिबेला १६ मन्त्रालय मन्त्री बिहिन छन् । दुई सातादेखि मन्त्री खाली भएका मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै छन् । प्रधानमन्त्री प्रचण्ड मन्त्रालयमा गएकै छैनन् । बरु, सचिवहरु फाइल बोकेर बालुवाटार र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा धाइरहेका छन् ।

राष्ट्रपतिको चुनावका लागि गठबन्धन नै फेरवदल गरेका प्रधानमन्त्री प्रचण्डकै कारण पुस १० मा सरकार गठन गर्दा बनेको गठबन्धन भत्किएको थियो । अव सरकारमा कांग्रेस लगायतका दलहरु सहभागि हुँदैछन् । कांग्रेससहितका दलहरु उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकारमा सहभागि हुने भएका छन् ।

विहिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपराष्ट्रपतिको चुनावलगत्तै सरकार विस्तार हुने बताएका छन्। बिहीवार राष्ट्रपतिको चुनावपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले अबको ध्यान सरकारलाई पूर्णता दिनेतर्फ हुने बताएका हुन । पालिका, प्रदेश र सङ्घसँगै राष्ट्रपतिको चुनाव पनि सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै समग्रमा निर्वाचन प्रक्रिया शान्तिपूर्ण ढङ्गले सकिएको प्रधानमन्त्री दाहालको जिकिर थियो ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘पालिका चुनावदेखि प्रदेश र सङ्घको चुनावसँगै राष्ट्रपतिको चुनाव सम्पन्न भइसकेपछि उपराष्ट्रपतिको चुनाव एउटा बाँकी छ । अब हाम्रो ध्यान सरकारलाई पूर्णता दिने हुन्छ । उपराष्ट्रपतिको चुनावपछि सरकार विस्तार हुन्छ ।’ जनता समाजवादी पार्टी नेपालले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

फेरिएको नयाँ सत्ता गठबन्धन गटक दलबीचको सहमति अनुसार उपराष्ट्रपति पाएको जसपाले बिहीवार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट केन्द्रीय कार्यकारिणी समिति सदस्य यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । मङ्सिर ४ गते भएको प्रतिनिधि सभा चुनावमा यादव बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । उपराष्ट्रपतिको चुनाव चैत ३ गते हुँदैछ । राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नेकपा एमाले, #पुष्पकमल दाहाल प्रचण्ड, #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा

तपाईको कमेन्ट लेख्नुहोस्