Techie IT
  • २६ चैत्र २०८१, मंगलबार
KhojPatrika

शितल निवासमा रामचन्द्र पौडेल, पहिलो निर्णय–गैरआवासीय राजदूत नियुक्त


काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार शीतल निवासमा आयोजित शपथ समारोहमा कामु प्रधानन्ययााधीश हरिकृष्ण कार्कीले पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । सो अवसरमा राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । शपथपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कुर्सी राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेकी थिइन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान राष्ट्रपति भण्डारीलाई सरकारका तर्फबाट उपहार प्रदान गरेका थिए । शपथग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वराष्ट्रपति लगायतको उपस्थिति रहेको थियो । पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । नेपाली सेनाको एक टुकडीले निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाईका क्रममा सलामी अर्पण गरेको थियो ।

निवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाईका क्रममा सरकारका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।  शपथ ग्रहणमा निवर्तमान राष्ट्रपति विद्यादेवि भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना लगायतका शीर्ष दलका नेताहरु सहभागी थिए ।

आजबाट नै राष्ट्रपति पौडेलले राष्ट्राध्यक्षको रुपमा काम सुरु गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मोरोक्को अधिराज्यका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका छन् । पौडेलले संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरोक्कोका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।

‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरोक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ’, राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । शीतलनिवास प्रवेशपछि पौडेलको यो पहिलो सार्वजनिक निर्णय हो ।


क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #एक टुकडीले सलामी, #कामु प्रधानन्ययााधीश हरिकृष्ण कार्की, #राष्ट्रपति रामचन्द्र पौडेल

तपाईको कमेन्ट लेख्नुहोस्