Techie IT
  • २५ चैत्र २०८१, सोमबार
KhojPatrika

कांग्रेस नेताहरुले भने केही दिनमै सरकारमा जान्छौं


काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले केही दिनमै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार जाने बताएका छन् । मंगलबार गिरिजाप्रसाद कोइरालाको स्मृतिमा नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा उनीहरुले केही दिनमै सरकारमा गएर काम गर्ने बताएका हुन । नेपाली कांग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालाले प्रचण्ड नेतृत्वको सरकारलाई राम्ररी चलाउने जिम्मेवारी कांग्रेसकै भएको बताए । ‘प्रचण्डजीको सरकार छ, १० वटा दल छ भनिन्छ । त्यो १० वटा दललाई सम्हालेर अगाडि बढ्ने जिम्मेवारी पनि नेपाली कांग्रेसकै हो’, उनले भने, ‘नेपाली कांग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको छ ।

यो सरकारलाई राम्ररी चलाएर, देखाएर अगाडि बढ्न सक्छौं भन्ने विश्वास पनि हामीले लिएका छौं ।’ आर्थिक रुपमा मुलुक कठिन अवस्थामा रहेको भन्दै कांग्रेसलाई गल्ती गर्ने छुट नभएको पनि बताए । ‘नेपाली कांग्रेस १–२ दिनभित्रै हामीहरु सरकारमा जाँदैछौं, अब नेपाली कांग्रेसलाई गल्ती गर्ने छुट छैन भने पनि हुन्छ । कुनै किसिमको कमी कमजोरी कांग्रेसबाट हुनु हुँदैन’, कोइरालाले भने, ‘यी सबै कुरालाई नेपाली कांग्रेसले अत्यन्तै गम्भीर किसिमले लिएका छौं । र त्यसलाई अगाडि बढाउने जिम्मा अबको कांग्रेसबाट जो नेतृत्व लिएर जानुहुन्छ उहाँहरुको जिम्मामा छ ।’

महामन्त्री गगन थापाले दलहरुले तत्कालको नाफा घाटा नहेरी शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको विषय टुंग्याउनुपर्ने बताए । उनले अब समयको सुविधा नभएकाले शान्ति प्रक्रियालाई यो वा त्यो नाममा लम्ब्याउने छुट नभएको स्ष्ट पारे । दलीय संकीर्णता र तत्कालको नाफा घाटा भन्दा बाहिर निस्केर यो विषयलाई सम्बोधनको प्रयास गर्नुपर्छ, हामीसँग समयको सुविधा छैन’ उनले भने, ‘यो या त्यो नाममा लम्ब्यायौं भने अझै यो जटिल बन्दै जान्छ र भविष्यमा अझै अप्ठेरो सिर्जना गर्छ र अन्यायपूर्ण पनि हुन्छ ।’ संक्रणकालीन न्यायको विषय टुंग्याउन ढिलो भइसकेको भन्दै थापाले नेकपा एमालेलाई पनि सहकार्यमा आउन आग्रह गरे । ‘हामी सबै मिलेर एक ठाउँमा बसेर काम गर्नुपर्नेछ । यो पक्ष त्यो पक्ष नभनी, कांग्रेस, एमाले, माओवादी सबै हामी एक ठाउँमा आएर टुंग्याउनुपर्नेछ’ उनले भने ।

२०६२/६३ को जनआन्दोलन मार्फत संसद पुनः स्थापना गराउन, बृहत शान्ति सम्झौता मार्फत् माओवादी सशस्त्र युद्धको अन्त्य गराउन र संविधानसभाको निर्वाचनमार्फत् संघीय लोकतान्त्रिक गणतन्त्र सुनिश्चित गर्न कोइरालाले गरेको अगुवाइको स्मरण गरिएको छ । नेपालको शान्ति प्रक्रियालाई सहज अवतरण गर्न सफल पूर्वप्रधानमन्त्री स्वर्गिय गिरिजाप्रसाद कोइरालाको नेपाली राजनीतिक इतिहासमा ठूलो योगदान छ । नेपाली राजनीतिक रंगमञ्चमा सबैभन्दा अग्रणी भूमिका निर्वाह गरिरहेका बेला उनको २०६६ साल चैत ७ निधन भएको थियो ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कांग्रेस, #गिरिजाप्रसाद कोइराला, #सरकारमा जान्छौं

तपाईको कमेन्ट लेख्नुहोस्