न्याय माग्न काठमाडौं आएका मिटरब्याज पीडितमाथि प्रहरीको लाठी !

काठमाडौं । चैत २० गतेदेखि न्याय माग्दै शान्तिबाटीकामा आन्दोलनरत मिटरब्याज पिडितहरुलाई सरकारले लाठी बर्साएको छ । दुई सातादेखि शान्तिबाटीकामा आन्दोलन गर्दा समेत सरकारले माग सुनुवाई नगरेको भन्दै भद्रकालीमा धर्ना दिन जान लागेका मिटरब्याज पीडितलाई प्रहरीले दमन गरेको हो । प्रहरीले लाठी र पानीको फोहोरा बर्साउदा २० भन्दा बढी मिटरब्याज पिडित घाइते भएका छन् । काठमाडौंको शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ ।
तराईका विभिन्न स्थानबाट भेला भएर शान्तिवाटिकामा बस्दै आएका उनीहरू न्यायका लागि सिंहदरबार अगाडिको भद्रकालीमा गएर धर्नामा बस्न जाने योजनामा थिए । त्यहाँबाट जान नपाइने भन्दै प्रहरीले बल प्रयोग गरेको थियो । मिटरब्याजीबाट आफूहरु पीडित भएको भन्दै न्याय पाउने आसमा रहेका उानीहरुलाई प्रहरीले लाठी र पानीको फोहोरा बर्साएको थियो । झडपमा परी केही प्रहरी र २० भन्दा बढी पीडितहरू घाइते भएका छन् ।
प्रहरीले उपचारका लागि अस्पताल लैजाने भन्दै नियन्त्रणमा लिएर आफूहरूलाई प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लब परिसरमा राखेर यातना दिएको पीडितहरुले बताएका छन् । सरकारले पहिले गरेका सम्झौता पालना नगरेको र नयाँ सहमति पनि फितलो भएको भन्दै मधेसका विभिन्न २० जिल्लाका सयौं मिटरब्याज पीडितहरू चैत २० गते काठमाडौं आइपुगेका थिए । ११ दिनको पैदलयात्रापछि गत साता बर्दिबासबाट हिँडेर काठमाडौं आएका पीडितहरूसँग सरकारले चैत १८ गते गरेको सहमति फितलो भएको भन्दै दबाब दिन पीडितहरू काठमाडौं आएका हुन् ।
शान्तिपूर्ण रुपमा आफूहरुले प्रदर्शन गर्न लागेपनि प्रमुख जिल्ला अधिकारीले प्रदर्शनकारीको झण्डामा लौरो रहेको भन्दै प्रदर्शन गर्नबाट रोक लगाएको थियो । साथीहरुलाई प्रहरीले नियन्त्रणमा लिएकोप्रति आपत्ति जनाउँदै पीडितहरुले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
सिंहदरबार वरपर आन्दोलन गर्न नदिने भन्दै जिल्ला प्रशासनले प्रहरी प्रशासन तैनाथ गर्न लगाएपछि शान्ति बाटिकामा नै प्रहरी र मिटरब्याजी पीडितबीच झडप भएको बताइएको छ । सरकारले मिटरब्याजपीडितको एक समूहसँग चैत १८ गते ५ बुँदे सहमति गरेको थियो । तर, उक्त सहमतिले मिटरब्याज पीडितको तत्कालको समस्या समाधान नहुने भन्दै मिटरब्याज पीडितको अर्को समूहले आन्दोलन गर्दै आएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #न्याय माग्न काठमाडौं, #प्रहरीको लाठी, #मिटरब्याज पीडित
तपाईको कमेन्ट लेख्नुहोस्