Techie IT
  • २५ चैत्र २०८१, सोमबार
KhojPatrika

तीन दलका शीर्ष नेताबीच सहमति, संसदीय समिति र टीआरसीमा फुक्यो गाँठो


काठमाडौं । सिंहदरवारमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच सहमति जुटेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको तीन दलका शीर्ष नेताको छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्नेदेखि संसदीय विशेष समिति गठन गर्ने सहमति भएको हो ।

एमालेको अडानबमोजिम संसदीय समितिको नेतृत्वमा पनि दलहरुबीच सहमति जुटेको छ । संसदका प्रमुख तीन दलका शीर्ष नेताहरुबीच सिंहदरबारमा भएको छलफलमा एमालेले तीन वटा समितिको सभापति लिने सहमति भएको छ । संयुक्त समितिमध्ये संसदीय सुनुवाइको सभापति नेपाली कांग्रेसले लिनेछ भने राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिको सभापति एमालेले लिनेछ ।

त्यस्तै एमालेले संसदीय सुनुवाइ समितिमा प्रतिनिधि सभाका १२ सदस्यमध्ये कांग्रेस बराबर ४ सदस्य पाउने भएको छ । त्यस्तै, संसदीय विशेष सुनुवाइ समितिको सभापति कांग्रेसले लिने सहमति भएको छ । १० वटा विषयगत समितिमध्ये एमालेले लेखा समिति र थप एक समितिको सभापति पाउने सहमति भएको छ ।

संवैधानिक परिषदसम्बन्धी कानूनमा समस्याका कारण प्रधानन्यायाधीश नियुक्तिको सिफारिस अघि बढ्न सकेको छैन । यो सहमतिसँगै अब संवैधानिक परिषदबाट प्रधानन्यायाधीश नियुक्ति सिफारिस, संसदीय सुनुवाइ समिति गठनलगायतका सबै प्रक्रिया अघि बढ्नेछ ।

छलफलमा एमालेबाट अध्यक्ष केपी ओली, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी सहभागी थिए । कांग्रेसबाट सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक थिए भने माओवादीबाट प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कांग्रेस, #नेकपा एमाले र माओवादी केन्द्र, #संक्रमणकालीन न्याय, #संसदीय समिति

तपाईको कमेन्ट लेख्नुहोस्