Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डका एजेण्डाबारे कसले के दिए सुझाव


काठमाडौं । जेठ १७ गतेदेखि शुरु हुने भारत भ्रमणको एजेण्डाबारे प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वप्रधानमन्त्रीसहित पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफल गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्रीको सरकारी कार्यालयमा प्रधानमन्त्री दाहालले पूर्वप्रधानमन्त्रीहरुसँगै पूर्वपरराष्ट्रमन्त्रीहरुसँग समेत छलफल गरेका हुन् ।

छलफलका क्रममा नेकपा एमालेले महाकाली सम्झौता कार्यान्वयनदेखि नेपाल भारत सिमा समस्याका बारेमा छलफल गर्न सुझाव दिएको छ । कांग्रेसले समेत प्रधानमन्त्रीको भारत भ्रमणलाई फलदायी बनाउन यसअघि भएको सम्झौता कार्यान्वयनमा जोड दिन सुझाव दिएको छ । कांग्रेसका तर्फबाट छलफलमा सहभागी भएका पूर्वपरराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले नेपालको हितका बारेमा भारतसँग छलफल गर्न सुझाव दिएका हुन् ।

नेपाल भारत र बंगलादेशका बिचमा विद्युत प्रशारण लाइन निर्माणका बारेमा समेत छलफल गर्न उनले सुझाव दिएका छन् । छलफलमा सहभागी पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले भने नेपाल र भारतका बिचमा भएको सुगौली सन्धिका बारेमा छलफल गर्न सुझाव दिएका छन् । सुगौली सन्धी पुनरावलोकनका लागि नेपाल र भारतका प्रवुद्ध व्यक्तीहरुको समुहले दिएको प्रतिवेदनबारे छलफल गर्नुपर्ने उनको सुझाव छ ।

त्यस्तै पूर्वपरराष्ट्रमन्त्री डाक्टर प्रकाशचन्द्र लोहनीले समेत नेपाल भारतका बिचमा रहेका सिमाका बारेमा समेत स्पष्ट धारणा राख्न सुझाव दिएका छन् । लिपुलेक र लिम्पियाधुराका बारेमा स्पष्ट रुपले भारतीय नेतृत्वसँग छलफल गर्न उनले सुझाव दिएका छन् । यता प्रधानमन्त्री पुष्पकमल दाहालले भने भारत भ्रमण उपलब्धीमुलक हुने दाबी गरेका छन् । उनले नेपालले माग गरिरहेको हवाई रुटका विषयमा सहमति हुनसक्ने संकेत गरेका छन् ।

पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुसँगको छलफल सकारात्मक भएको रहेको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री नियुक्त भएको झण्डै ५ महिनापछि दाहालले पहिलो औपचारिक विदेश भ्रमण भारतबाट शुरु गर्न लागेका हुन् । जेठ १७ गते भारत जाने प्रधानमन्त्री दाहाल जेठ २० गते स्वदेश फर्कने जनाइएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #एजेण्डाबारे प्रधानमन्त्री, #पूर्वप्रधानमन्त्री

तपाईको कमेन्ट लेख्नुहोस्